
काठमाडौं। फुटपाथ व्यवसायीहरुले सडक व्यवसायको व्यस्थापनमा सहमति गरेकोमा काठमाडौं महानगरपालिकालाई धन्यवाद दिएका छन्। उनीहरुले सहमति र हार्दिकताको लागि महानगरलाई धन्यवाद दिँदै रत्नपार्कदेखि महानगरपालिकाको कार्यालयसम्म र्यालीसमेत निकालेका छन्।
व्यापारीहरुले सडक व्यवसाय व्यवस्थापनमा सहकार्य गर्न आफूहरु तयार रहेको समेत बताएका छन्। सडक व्यवसाय व्यवस्थापनमा सहयोग गर्ने सबैलाई उनीहरुले धन्यवाद दिएका छन्।

गत बुधबार साँझ काठमाडौं महानगर र अभियन्ता ईः बीच यसबारे सहमति भएको थियो। फूटपाथ व्यवसायीको पक्षमा गत असोज २ गतेबाट उभिएर महानगरको विरोधमा उत्रिएका ईःसँग महानगरका प्रतिनिधिले सहमति गरेका थिए।
महानगरले साविकमा फूटपाथ/सार्वजनिक स्थलमा व्यापार गरेका व्यवसायीका लागि महानगरपालिकाभित्र कानुनले निषेध गरेका स्थानबाहेक अन्यत्रका उपयुक्त स्थलहरु पहिचान गर्न महानगरपालिकाले एक हप्ताभित्र पहल गर्ने सहमतिमा उल्लेख छ।

त्यसैगरी अनौपचारिक क्षेत्रमार्फत हुने व्यापार व्यवसायलाई व्यवस्थित गर्न व्यापार गर्ने स्थल, समय, व्यापार गर्न आवश्यक मानिने व्यक्ति यकिन गर्न र स्थान उपलब्ध गराउने विधि, प्रक्रिया तथा कानूनी व्यवस्था समेतको प्रबन्ध गर्नुपर्ने विषयमा ठोस सुझाव सहित अध्ययन गरि २ महिनाभित्र महानगरपालिकामा प्रतिवेदन पेश गर्न ८ सदस्यीय समितिसमेत गठन गरिएको छ।









