बीआरआई अन्तर्गत इन्डोनेसियामा बुलेट ट्रेन आजदेखि संचालन हुने, दक्षिणपूर्वी एसियाकै पहिलो

बिजमाण्डू
२०८० असोज १४ गते ११:५६ | Oct 1, 2023
बीआरआई अन्तर्गत इन्डोनेसियामा बुलेट ट्रेन आजदेखि संचालन हुने, दक्षिणपूर्वी एसियाकै पहिलो
Photo : CRRC


इन्डोनेसियामा आजदेखि हाइ स्पिड बुलेट ट्रेन संचालन हुँदैछ। आज ‘लन्च’ भएसँगै यो दक्षिणपूर्वी एसियाकै पहिलो बुलेट ट्रेन हुनेछ।

Tata
GBIME
NLIC

बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गत चीनको लगानीमा बनेको रेल आइतबारबाट सर्वसाधरणका लागि खुला हुने भएको हो। यो बुलेट ट्रेन निर्माणका लागि ७.३ बिलियन अमेरिकी डलर (९ खर्ब ७२ अर्ब रुपैयाँभन्दा बढी) लगानी गरिएको छ।

‘उस्स’ नाम दिइएको तिब्र गतिको रेल प्रतिघण्टा १३८ किलोमिटरको रफ्तारमा चल्नेछ। यो रेल संचालनसँगै जकार्ता र बाङडुङको यात्रा समय ३ घण्टाबाट छोटिएर १ घण्टाको हुनेछ।

यो रेललाई इन्डोनेसियाको मौसम अनुसार ‘मोडिफाइड’ गरिएको छ। यस्तै भूकम्प, बाढी र अन्य आपतकालिन अवस्थाका लागि ‘सेफ्टी सिस्टम’ रेलमै निर्माण गरिएको छ।

हाल बाङडुङसम्म संचालनमा आउने रेललाई भविष्यमा सुरभयासम्म विस्तार गर्नेबारे छलफल चलिरहेको छ। सुरबया इन्डोनेसियाको मुख्य बन्दरगाह हो। यस्तै, अन्य शहरहरुमा पनि ‘ट्रेन स्टप’ बनाउनेबारे कुरा भइरहेको छ।

रेलमा ८ वटा डिब्बा हुनेछन् जसमा वाइफाइ र युएसबी चार्जिङ पोइन्टको सुविधा हुनेछ। फस्ट, सेकेन्ड र भीआइपी कोच रहेको रेल ६०१ यात्रु क्षमता रहेको छ।

इन्डोनेसिया दक्षिणपूर्वी एसियाकै ठूलो अर्थतन्त्र भएको राष्ट्र हो। इन्डोनेसियाले पछिल्लो समय चीनबाट राम्रो लगानी भित्र्याइरहेको छ।

बीआरआई अन्तर्गत निर्माण भएको रेल परियोजनामा २०१५ मा हस्ताक्षर भएको थियो। रेल ट्रयाक निर्माणको काम भने सन् २०१६ देखि भएको थियो। सन् २०१९ देखि नै संचालनमा आउने बताइए पनि कोरोना महामारीका कारण रेल निर्माणको कार्य प्रभावित बनेको थियो।

यो रेल ‘लन्च’ भएसँगै चीन र इन्डोनेसियाबीचको सम्बन्ध थप प्रगाढ बन्ने स्थानीय विश्लेषकले बताएका छन्।