
काठमाडौं। विवेक ओझाको ‘ऐंठन’ उपन्यासले २०७९ सालको मदन पुरस्कार पाउने भएको छ। मदन पुरस्कार गुठीको आबइतबार बिहान बसेको बैठकले ‘ऐंठन’ लाई पुरस्कार दिने निर्णय गरेको हो।
२०७९ सालको मदन पुरस्कारका लागि ३१३ पुस्तक प्रतिस्पर्धामा रहेकामा गुठीले तीमध्ये ‘ऐंठन’, सुविन भट्टराईको ‘इजोरिया’, द्वारिकानाथ ढुंगेलको ‘चक्रब्यूहमा नेपालको जलस्रोत’, प्रगति राईको ‘थाङ्ग्रा’ र सञ्जय विष्टको ‘माटोको घर’ संक्षिप्त सूचीमा छानेको थियो।
मदन पुरस्कार दिने निर्णय भएको ‘ऐंठन’ ओझाको तेस्रो पुस्तक हो। यसअघि उनले ‘ऐलानी’ र ‘एक पाइला आकाशमा’ पुस्तक लेखेका थिए।
यस्तै २०७९ को जगदम्बाश्री सम्मान टेकवीर मुखियालाई दिइने भएको छ। मुखिया लामो समयदेखि ललितकला र पुस्तकका आवरण सिर्जनामा सक्रिय छन्। मदन पुरस्कार र जगदम्बा-श्री सम्मान दुवैको रकम ४/४ लाख रुपैयाँ छ। पुरस्कार र सम्मान केही दिनपछि एक समारोह गरेर प्रदान गरिने गुठीले जनाएको छ।
मदन पुरस्कार २०१३ देखि र जगदम्बा-श्री सम्मान २०४५ देखि प्रदान गरिंदै आएको छ।