माथिल्लो पिलुवा खोला-३ को बिजुली प्रणालीमा जोड्न १४ किमि प्रसारणलाइन निर्माण हुने

बिजमाण्डू
२०८० असोज १३ गते १०:४३ | Sep 30, 2023
माथिल्लो पिलुवा खोला-३ को बिजुली प्रणालीमा जोड्न १४ किमि प्रसारणलाइन निर्माण हुने


काठमाडौं। संखुवासभाको मादी नगरपालिका-७ को माथिल्लो पिलुवा खोला-३ जलविद्युत आयोजनाद्वारा उत्पादित बिजुली विद्युत प्राधिकरणको प्रणालीमा जोड्न प्रसारणलाइन निर्माण हुने भएको छ।

Tata
GBIME
NLIC

आयोजनाको स्विचयार्डदेखि चैनपुर-८ मा रहेको प्राधिकरणको ३३ केभी बानेश्वर सबस्टेसनसम्म १४ किलोमिटर लम्बाइको प्रसारणलाइन निर्माण गरिने भएको हो।

यसका लागि आयोजना प्रवर्द्धक कम्पनी माविलुङ इनर्जी लिमिटेडले ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयअन्तर्गतको विद्युत विकास विभाग दरखास्त दिएको थियो। विभागले आवश्यक जाँचबुझसँगै प्रस्तावित प्रसारणलाइन निर्माण तथा सञ्चालन गर्दा कुनै प्रतिकूल असर पर्ने भएमा लिखित राय सुझाव पठाउन सरोकारवालालाई आग्रह गर्दै शनिबार सूचना प्रकाशित गरेको छ।

विभागका अनुसार माविलुङ इनर्जी लिमिटेडले बनाउन लागेको प्रसारणलाइनको भोल्टेज ३३,००० भोल्ट, सिल सर्किट रहने र ४.९५ मेगावाटसम्मको विद्युत प्रसारण गर्न सकिने जनाइएको छ।

प्रसारणलाइन संखुवासभाको मादी-७ मा अवस्थित माथिल्लो पिलुवा खोला-३ जलविद्युत आयोजनाको स्विचयार्डदेखि चैनपुर-२, ३, ७ र ८ हुँदै विद्युत प्राधिकरणको ३३ केभी बानेश्वर सबस्टेसनसम्म निर्माण गरिने छ।

१४ किमि लम्बाइको प्रसारणलाइनमा करिब २५५ वटा स्टील पोल र एसीएसआर कन्डक्टर जडान गरिने छ। १३ मिटर उचाइका पोलहरु बीचको औसत दुरी ७० मिटर हुनेछ।

प्रसारण लाइन निर्माण गर्न करिब ९.२६५७ हेक्टर जग्गा स्थायी तथा अस्थायी रऊपमा आवश्यक पर्ने देखिन्छ। प्रसारणलाइन निर्माण काम थालेको ६ महिनाभित्र पुरा गर्ने लक्ष्य छ।