नेपाल भित्रियो ‘केन्नी रोजर्स रोस्टर्स’, ३ करोड लागतको रेस्टुरेन्टमा चाख्न पाइन्छ अमेरिकी स्वाद

बसन्तराज उप्रेती
२०८० असोज १३ गते ०७:१८ | Sep 30, 2023
नेपाल भित्रियो ‘केन्नी रोजर्स रोस्टर्स’, ३ करोड लागतको रेस्टुरेन्टमा चाख्न पाइन्छ अमेरिकी स्वाद


काठमाडौं। नेपालमा पहिलोपटक अमेरिकी चेन रेस्टुरेन्ट ‘केन्‍नी रोजर्स रोस्टर्स’ भित्रिएको छ। दरबारमार्गस्थित दरबार मलमा ३ करोड रुपैयाँ लागतमा यो रेस्टुरेन्ट तयार भएको हो।

Tata
GBIME
NLIC

रेस्टुरेन्ट क्षेत्रमै नयाँ स्वाद पस्किने उद्देश्यले अमेरिकी चेन भित्र्याएको सञ्‍चालक लोकेन्द्र महताराले बताए।

‘विदेशमा ठूला जहाजमा म्यानेजरको काम गर्दा केन्‍नी रोजर्स रेस्टुरेन्टमा खाना खाइन्थ्यो, यो रेस्टुरेन्टले फरक स्वादमा स्वस्थ्य परिकारहरु पस्कने थाहा पाइयो,’ सञ्‍चालक महताराले भने, ‘नेपालमा स्वादिला परिकार खोज्दै रेस्टुरेन्ट धाउनेहरु बढ्दै छन्, त्यसैले हामीले नयाँ स्वाद पस्किन अमेरिकी ब्रान्डलाई नेपाल भित्र्याएका हौं।’

यो चेन रेस्टुरेन्टको प्राथमिकतमा चिकेन रेसिपी पर्छ। रेस्टुरेन्टमा परिकार बनाउन मात्रै फ्रान्स र जर्मनीबाट ल्याइएको आधुनिक मेसिन प्रयोग गरिने महताराले जानकारी दिए।

तेलको प्रयोगबिनै मेसिनमार्फत तयार पारिएका रोस्टेड होल चिकन, फ्राइड र अनफ्राइड (ओएमजी) चिकन, पिज्जा स्वादको स्यान्डविच, फिस वर्गर लगायतका परिकारको स्वाद लिन सकिने उनले बताए।

‘केन्‍नी रोजर्स रोस्टर्समा आउने भनेकै चिकेनका परिकार खानलाई हो, रोस्टेड होल चिकेनमा अन्य साइड डिसहरु थपेर फेमिली सेट पनि समावेश गरेका छौँ,’ उनले भने।

परिवारसँगै आउने बच्चाहरुका लागि चिकेन ललिपप, चिकेन विङ्स, मफिन्स, मिनी वर्गर लगायत परिकार राखिएको अर्का सञ्‍चालक चन्द्रबहादुर थापाले बताए। रेस्टुरेन्टमा पाहुनाले पारिवारिक वातावरणमा स्वादिला परिकारसँग रमाउन पाउने सञ्‍चालक थापाको भनाइ छ।

हालसम्म मदिरारहित सेवाद दिँदै आएको केन्‍नी रोजर्सले नेपालको आउटलेटमा भने मदिरासहितको सेवाको लागि अनुमति दिएको उनले जानकारी दिए।

दुई दशक विदेशमा लिएको सेफको अनुभव स्वदेशमा

दुई दशकभन्दा बढी समय विभिन्‍न मुलुकमा सञ्‍चालित क्रुजमा हेड सेफको अनुभव बटुलेका महताराले आफ्नै मुलुकमा केही गर्ने उद्देश्यले रेस्टुरेन्ट सञ्‍चालनमा ल्याएको बताए।

मलेसिया, इन्डोनेसिया, सिंगापुर, म्यानमार, भियतनाम, थाइल्यान्ड लगायत मुलुकमा अनुभव संगालेका उनले भने, ‘करिब २० वर्ष विदेशमा हासिल गरेको सिप र अनुभवलाई प्रयोग गरी देशमै केही गरौं भन्‍ने मनसायले स्वदेश फर्किएको हुँ। केन्‍नी रोजर्स रोस्टर्सले पस्किने स्वाद नेपालीले रुचाउने ठानेर नेपालमा ल्याइएको हो। दरबारमार्गमा पाक्ने र अमेरिका वा थाइल्यान्डको आउटलेटमा पाक्ने परिकारको गुणस्तर र स्वाद एउटै हुने छ।’

रेस्टुरेन्टले आफ्नो गुणस्तरमा कहिल्यै सम्झौता नगर्ने र स्वस्थ तथा स्वादिला परिकार पस्कने उनको दाबी छ।

गुल्मीका व्यवसायी चन्द्रबहादुर थापा र लोकेन्द्र महताराको संयुक्त लगानीमा २ हजार वर्गफिट क्षेत्रफलमा तयार गरिएको रेस्टुरेन्टमा एकैपटक ७० जनाले सेवा लिन सक्ने जनाइएको छ।

‘वुडन आर्किटेक’ डिजाइनमा तयार पारिएको रेस्टुरेन्टमा पुग्‍ने ग्राहकहरुले परम्परागत मौलिक र आधुनिक शैलीको फ्युजन महसुस गर्न सक्नेछन्। वुडन थिमले रेस्टुरेन्टलाई थप आकर्षक समेत बनाएको छ।

३३ वर्षअघि अमेरिकामा सुरु भएको केन्‍नी रोजर्स

चर्चित अमेरिकी गायक केन्‍नी रोजर्स र केन्टकी फ्राइड चिकेन (केएफसी)का पूर्व सीईओ तथा अमेरिकाको केन्टकी राज्यका पूर्व गभर्नर जोन वाइ व्राउन (जुनियर) ले सन् १९९१ मा केन्‍नी रोजर्स रोस्टर्स रेस्टुरेन्ट सञ्‍चालनमा ल्याएका थिए। अहिले केन्‍नी रोजर्स रोस्टर्सले एसिया प्यासिफिक क्षेत्रमा आक्रामक रुपमा आउटलेट विस्तार गरिरहेको छ।