
काठमाडौँ। नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणको धमाधम बढेको छ। ९ टोलीले सहभागिता जनाउने यो लिगका लागि विदेशी खेलाडी, प्रशिक्षक र मार्की खेलाडीको घोषणा क्लबहरुले गर्न सुरु गरेका छन्।
कुन क्लबमा को पुगे?
साविक विजेता काठमाडौँ रेजर्सले यसपाला मार्की खेलाडीमा हिसुब थपलियालाई भित्र्याएको छ। जाउलाखेल युथ क्लबबाट शहीद स्मारक ‘ए’ डिभिजन लिग खेलेका उनलाई मार्की खेलाडीका रुपमा अनुबन्धन गरेको टिम व्यवस्थापक मधुसुधन उपाध्यायले जनाएका छन्।
त्यस्तै ललितपुर सिटी एफसीले अनन्त तामाङलाई मार्की खेलाडी बनाएको छ। सुरुमा विमल घर्तीमगरलाई मार्की खेलाडीका रुपमा अनुबन्धन गर्ने समाचार बाहिर आए पनि विमल अष्ट्रेलिया गएपछि अनन्तलाई मार्की खेलाडीका रुपमा अनुबन्धित गरेको हो। अनन्तको कप्तानीमा चर्च ब्वाइज युनाइटेड शहीद स्मारक ‘ए’ डिभिजन लिगको च्याम्पियन बनेको थियो।
ललितपुरले एएफसी प्रो लाइसेन्स प्राप्त अष्ट्रेलियन प्रशिक्षक इयान एन्ड्र्यु गिलानलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ। उनीसँग इन्डोनेसिया, मलेसिया, फिलिपिन्स र अष्ट्रेलियामा विभिन्न क्लबहरुसँगको अनुभव छ। त्यस्तै सहायक प्रशिक्षक रबिन्द्र शिलाकार नियुक्त भएका छन्।
त्यस्तै एनएसएलको नयाँ क्लब स्पोर्टिङ इलाम डी मेचीले विकेश कुथुलाई मार्की खेलाडीको जिम्मा दिएको छ।
अघिल्लो संस्करणको उपविजेता धनगढी एफसीको प्रशिक्षण युगल किशोर राईले सम्हाल्नेछन्। शहीद स्मारक ए डिभिजन लिगमा चर्च ब्वाइजलाई च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका खेलेका आशीष चौधरी धनगढीको मार्की खेलाडी छन्।
अघिल्लो संस्करणमा फितलो प्रदर्शन गरेको एफसी चितवनले यसपाला मार्की खेलाडीका रुपमा विशाल श्रेष्ठलाई अनुबन्धित गरेको छ। श्रेष्ठले पछिल्लो पटक एएफसी कपमा मछिन्द्र क्लबका लागि उनले सानदार प्रदर्शन गरेका थिए। त्यस्तै ए डिभिजन लिगमा फ्रेन्ड्स क्लबलाई रेलिगेशनबाट बचाउन महत्वपूर्ण भूमिका खेलेका घानाका खेलाडी टोरिक जेब्रिन र रफिक अमिनुलाई अनुबन्धन गरेको छ। त्यस्तै प्रशिक्षकमा खालिद जमिललाई अनुबन्धन गरेको छ।
नवप्रवेशी क्लब झापा एफसीले स्टार विंगर अन्जन विष्टलाई मार्की खेलाडीका रुपमा अनुबन्धित गरेको छ।
बुटवल लुम्बिनी क्लबले भने क्रिकेट लेजेन्ड शक्ति गौचनलाई ब्रान्ड एम्बेस्टरका नियुक्त गरेको छ। त्यस्तै मार्की खेलाडीमा एरिक विष्टसँग अनुबन्धन गरेको छ। त्यस्तै वीरगंज युनाइटेडले उपेन्द्रमान सिंहलाई टेक्निकल डाइरेक्टर र सनोज श्रेष्ठलाई प्रशिक्षकको जिम्मेवारी दिएको छ।
साख जोगाउने चुनौती
कोभिड-१९ को भयले भरिएको २०७८ सालको वैशाख। खाली रंगशाला। अनि केही दिनमै लकडाउन। यो नेपाल सुपर लिग (एनएसएल) को पहिलो संस्करण आयोजना हुँदाको पृष्ठभूमि हो।
नेपाल स्पोर्ट्स एण्ड इभन्ट म्यानेजमेन्टले मंसिर ८ गतेबाट दोस्रो संस्करणको एनएसएल सुरु गर्ने तयारी गरेको छ। पहिलो संस्करण खेलेका टोलीमध्ये विराटनगर सिटी एफसी बाहिरिँदा नयाँ तीन टोली गरी ९ टोलीले प्रतियोगितामा सहभागिता जनाउने छन्।
अघिल्लो संस्करण प्रतिकूल समयका बाबजुद लकडाउनमा चलेको लिगले राम्रो चर्चा बटुल्न सफल भएको थियो। त्यसबेला स्तरीय विदेशी खेलाडी नेपाल आए।
नेपालभित्रै पनि प्रतिभावान खेलाडी ‘लाइमलाइट’मा आए। सबैभन्दा महत्वपूर्ण विषय भनेको कर्पोरेट क्षेत्र यो लिगमा खुलेरै जुटे।
रंगशालामा दर्शकको उपस्थिति निषेध गरिएको भए पनि अनलाइन ‘भ्युअरसिप’ भने नेपाली घरेलु फुटबलमा लोभलाग्दो थियो। रोमाञ्चक बनेको त्यो सिजनको प्रतियोगिताको फाइनलमा धनगढीलाई हराउँदै काठमाडौं रेजर्स च्याम्पियन बन्यो।
यसपटक कम गेम दिउँसो, धेरै खेल साँझ र एक्सपेरिमेन्टका रुपमा केही खेल ‘लेट नाइट’ गराउने योजना रहेको नेपाल स्पोर्टस् एण्ड इभेन्ट म्यानेजमेन्टका डाइरेक्टर श्रेयान्स कार्कीले बताए।
अघिल्लो संस्करणमा २५ देखि ३० करोड कूल खर्च भएको बताउँदै यो सिजनमा टिमको संख्या पनि बढेकाले खर्च पनि बढेर जाने कार्कीको प्रोजेक्सन छ। एनएसएलमा इन्भल्भ भएका फ्रेन्चाइजहरुलाई पनि त्यही हिसाबले ब्रिफिङ गरिएको छ।
शनिबार अक्सन!
एनएसएलको दोस्रो संस्करणका लागि शनिबार अक्सन हुँदैछ। शनिबार सोल्टीमोडस्थित हायात प्लेस होटलमा एनएसएलको अक्सन हुने छ।
उसो त दोस्रो संस्करणका लागि यो पहिलो अक्सन भने होइन।
कोभिडको बेला पहिलो सिजनको सफलतापछि नेपाल स्पोर्ट्स एण्ड म्यानेजमेन्टले दोस्रो संस्करणको तयारी सुरु गरेको थियो।
२०७८ फागुन महिनासम्म पुग्दा शहीद स्मारक ‘ए’ डिभिजन लिग क्लब र एनएसएलबीच विवाद चुलियो, खासगरी खेलाडी अनुबन्धनलाई लिएर। पछि यो एन्फा र एनएसएलबीचको सम्झौताको केही बुँदामा पनि चर्कियो।
त्यसबेला पनि ‘ए’ डिभिजन सकिएलगत्तै सुपर लिगका क्लब मार्की खेलाडी र प्रशिक्षक अनुबन्धनमा आक्रामक देखिएका थिए। त्यस्तै सुपर लिगले खेलाडीको ग्रेडिङ छुट्याउँदै अक्सनको समेत घोषणा गरिदियो।
यता, ‘ए’ डिभिजन लिगका क्लबहरुले विज्ञप्ति निकालेर अनुमतिबिना आफूले अनुबन्धन गरेका खेलाडीलाई सुपर लिगका क्लबले धमाधम मार्की खेलाडी घोषणा गर्दा विरोध गरे। तर मार्की खेलाडी घोषणा गर्ने क्रम रोकिएन।
‘ए’ डिभिजन लिगका ८ क्लबले एन्फा अध्यक्षलाई पत्र लेख्दै अक्सन रोक्न माग गरे। विवाद लम्बियो। अक्सन पनि भयो। तर प्रतियोगिता हुन सकेन।
यसपाला भने विवादमा आएका बुँदाहरुबारे स्पष्टता आइसकेकाले विवाद नहुने कार्कीको विश्वास छ।
‘यो पटक इस्यू आउँदैन भन्ने छ। पहिला आएको कुरा एड्रेस गरिसकेकाले लिगल रुपमा कुनै इस्यू छैन। फुटबलको मायाले राम्ररी रन हुन दिए ‘ए’ डिभिजन र राष्ट्रिय टोलीको पनि सँगसँगै विकास हुन्छ भन्ने हो,’ एनएसएलका डाइरेक्टर कार्कीले भने।