
काठमाडौं। संसदीय समितिले चिकित्सकमाथि दुर्व्यवहारमा संलग्नलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ। प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले शुक्रबार स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई बोलाएर छलफल गरी दोषीलाई कारबाही गर्न निर्देशन दिएको हो।
समितिका सभापति भानुभक्त जोशीले स्वास्थ्य क्षेत्रलाई मर्यादित, सुरक्षित, हिंसा र भयमुक्त एवं मैत्रीपूर्ण बनाई निर्वाध सेवा प्रवाहको वातावरण तयार गर्न सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय सुनाए।
समितिले चिकित्सक एवं स्वास्थ्य क्षेत्रसँग सम्बन्धित समस्याको वार्ताबाट समाधान खोज्न पनि भनेको छ। यसका लागि कार्यदल गठन गर्न समितिको निर्देशन छ।
पछिल्लो २ सातामा विभिन्न तीन अस्पतालमा चिकित्सकमाथि आक्रमण भएको छ। भदौ २६ गते हेटौंडास्थित सन्चो अस्पतालका डा. विकास थापा र डा. प्रशान्त बिडारी, असोज ७ गते राति लमजुङ अस्पतालका डा. सन्दीप अधिकारी र ८ गते पोखरास्थित मणिपाल शिक्षण अस्पतालका डा. अनिल शाहमाथि कुटपिट भएको थियो।
त्यसको विरोधमा चिकित्सकहरुले असोज ९ गतेदेखि प्रदर्शन गर्दै आएका छन्। आक्रमणमा संलग्नमाथि कानुनी कारबाही गरिनुपर्ने चिकित्सकहरुको माग छ।
समितिले चिकित्सकहरु पेसागत क्षेत्रमा नियमित हुने वातावरण सिर्जना गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देशन दिएको छ।
बैठकमा गृह सचिव दिनेश भट्टराईले चिकित्सकमाथि कुटपिटमा संलग्नलाई कारबाहीको प्रक्रिया अगाडि बढाएको तथा अस्पतालमा सुरक्षा व्यवस्था मिलाइएको बताएका थिए।