
काठमाडौं। पूर्वमन्त्री रामकुमार श्रेष्ठ भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्। विशेष अदालतका सदस्य यमुना भट्टराई र खुशीप्रसाद थारुको संयुक्त इजलासले श्रेष्ठलाई भ्रष्टाचारी ठहर गरेको हो।
अदालतले उनलाई ६ महिना कैद सजाय सुनाउनुका साथै बिगो बमोजिमको सम्पत्ति जफत र ९८ लाख २९ हजार रुपैयाँ जरिवानाको आदेश दिएको छ।
उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७८ फागुनमा ४ करोड ४५ लाख २७ हजार रुपैयाँ बिगो दाबी गरी विशेष अदालतमा मुद्दा दायर गराएको थियो। उनको सम्पत्ति अस्वाभाविक देखिएपछि अख्तियारले मुद्दा दायर गराएको हो।
श्रेष्ठ ११ वर्षअघि खिलराज रेग्मी नेतृत्वको सरकारमा मन्त्री थिए। उनी अवकाशप्राप्त सचिवसमेत हुन्। रेग्मी नेतृत्वको मन्त्रिपरिषद्मा श्रेष्ठ संस्कृति,पर्यटन तथा नागरिक उड्डयन, शान्ति तथा पुनर्निर्माण र युवा तथा खेलकुदमन्त्री थिए।
२०२६ चैत १८ गते शिक्षक पदबाट सरकारी सेवामा प्रवेश गरेका श्रेष्ठ २०३६ कात्तिक २६ गते शाखा अधिकृत नियुक्त भएका थिए। उनले २०६४ माघ ८ गते सचिव पदबाट अवकाश पाएका थिए।
उनको ११ करोड ३५ लाख ४४ हजार रुपैयाँ बराबरको सम्पत्तिमा ४ करोड ४५ लाख २७ हजार रुपैयाँको स्रोत नखुलेको भन्दै अख्तियार अदालत गएको थियो। यो मुद्दामा अदालतले श्रेष्ठकी पत्नी र छोरालाई पनि दोषी ठहर गरेको छ।