
काठमाडौं । काठमाडौंको न्युरोडमा रहेको सिगल बचत तथा ऋण सहकारी संस्थाले बचतकर्ताको रकम हिनामिना गरेको खुलेको छ।
ठगीबारे सहकारी विभाग हुँदै प्रहरीमा उजुरी परेपछि सो सहकारीकाअध्यक्षसहित लेखा समितिका संयोजक समेतलाई पक्राउ गरि अनुसन्धान गरेको छ। सहकारीले बचतकर्ताको ३ करोड ९० लाख ११ हजार ३६० रुपैयाँ ठगी गरेको प्रहरीको अनुसन्धानमा देखिएको हो।
प्रहरीले सहकारीका अध्यक्ष पुस्करराज श्रेष्ठ, उपाध्यक्ष सुधनमान श्रेष्ठ, सचिव उमा श्रेष्ठ, सन्तोष श्रेष्ठ लगायतलाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो। प्रहरीले सहकारी ठगी गरेको अभियोगमा सहकारीका ९ जना पदाधिकारीलाई प्रतिवादी बनाएर मुद्दा चलाउन सिफारिस गरेको थियो।
सहकारीले बचेतकर्तालाई बैंकको भन्दाबढी रकम दिने भन्दै मुद्दतीमा बचत गर्न लगाएको थियो। त्यसपछि सहकारीले बिना धितो कर्जा लगानी गरेको देखिएको छ। सहकारीमा सुरुमा दैनिक ७० हजार रुपैयाँ जम्मा हुने गरको देखिन्छ। त्यसपछि क्रमश: घटेर ३० हजारमा रकम जम्मा हुन पुगेको थियो।
कोरोना महामारीपछि जम्मा हुने रकम भन्दा झिक्ने रकम बढ्न गयो। तर सहकारीले लगानी गरेको ऋण भने उठ्न छोडेपछि बचतकर्ताको रकम फिर्ता दिन सहकारीले सकेको थिएन।