दुई युवाको ‘सिंहासन,’ विराटनगरमा नाइट क्लवको विकल्पमा अत्याधुनिक रेस्टुरेन्ट



अनन्तराज न्यौपाने
२०८० भदौ ३० गते १०:१५ | Sep 16, 2023
दुई युवाको ‘सिंहासन,’ विराटनगरमा नाइट क्लवको विकल्पमा अत्याधुनिक रेस्टुरेन्ट

विराटनगर। अलग अलग स्कुलबाट एसईई गरेका पीयूष रायमाझी र विशाल सिग्देल विराटनगरको अरनिको कलेजको विज्ञान संकायमा सहपाठी हुन पुगे। दुवै एउटै बेन्चमा बसेर क्लास लिन्थे। धेरैजसो समय सँगै हुन्थे। प्लस टु सकेर विदेश जानेको लर्को बर्सेनि बढिरहेको समाचारबाट उनीहरू पनि टाढा थिएनन्।

Tata
GBIME
Zonsen

कक्षाभित्र डेस्कमा बसिरहेका बेला उनीहरूले पढाइ सकेर भविष्यमा के गर्ने भन्नेसम्मका योजना बनाउन भ्याए। दुवैको निष्कर्ष थियो– पढ्न विदेश जानु परे जाने तर काम नेपालमै गर्ने। जस्तो काम गर्नु परोस्, आफ्नै देशमा गर्ने।

उनीहरूले अर्को निष्कर्ष पनि निकाले– विराटनगरमा अन्तर्राष्ट्रिय स्तरको एउटा नाइट क्लब चलाउने।

रायमाझी र सिग्देलले अरनिको कलेजको डेस्कमा बसेर देखेको सपनाले विराटनगरको एअरपोर्ट रोडमा दुई हप्तापछि मूर्त रूप ग्रहण गर्दैछ।

तर उनीहरूले स्थानीय प्रशासनबाट नाइट क्लबको स्वीकृति पाएनन्। त्यसैले रेस्टुरेन्ट एन्ड बारमै चित्त बुझाउनु परेको छ।
विराटनगरमा रेस्टुरेन्ट र बारको हब बनिसकेको एअरपोर्ट रोडमा पाँच करोडको लगानीमा उनीहरू सिंहासन रेस्टुरेन्टको सञ्चालन गर्न लाग्दैछन्। सोह्र श्राद्ध सुरु हुनुअगावै उनीहरूले सिंहासनको सञ्चालन सुरु गर्ने योजना बनाएका छन्।

विदेशभन्दा देश आकर्षण
पीयूषका पिता कर्ण रायमाझी विराटनगरलाई कर्मथलो बनाएर रियलस्टेटको कारोबार गरिरहेका एक सफल व्यवसायी हुन्। कर्ण १० वर्षसम्म अमेरिकाको सरकारी सेवामा रहे। अमेरिका रहँदा पनि उनलाई नेपाल नै फर्केर व्यवसाय गरौं भन्ने भावना आइरहन्थ्यो। यही भावनाले धेरै पिरोल्न थालेपछि उनी २०१० मा नेपाल फर्किए। र, पूर्वलाई कर्मक्षेत्र बनाएर रियल स्टेटको कारोबारमा संलग्न भए।
‘बुबाको देशमै केही गरौं, विदेश नजाऔं भन्ने भावना संस्कारका रूपमा मभित्र विकसित भएको हुनुपर्छ,’ पीयूषले बिजमाण्डूसँग भने, ‘मलाई पनि कलेजजीवनदेखि नै विदेशमा काम गर्ने रहर पलाएन।’
उनले थपे, ‘बेलायतमा पढ्दा मलाई विभिन्न कम्पनीबाट अफरहरू नआएका होइनन्। राम्रा र आकर्षक अफरहरू पनि थिए। तर मलाई त्यहाँको यान्त्रिक र संवेदनाशून्य जीवनशैलीले कहिल्यै तानेन। आफ्नै गाउँठाउँको वातावरणले छोइरह्यो।’
पीयूषले विराटनगरको सगरमाथा स्कुलबाट एसईई गरेका हुन्। अरनिकोबाट प्लस टु सकेपछि उनी उच्च शिक्षाका लागि बेलायतको ब्रुनेल युनिभर्सिटी गए। त्यहाँ उनले आइटीमा ब्याचलर गरे। पढाइ सकेर उनी गत वर्षको असोजमा नेपाल फर्किएका हुन्।

र, विशाल …
विशालका बाबु ध्रुव सिग्देल लामो समयदेखि पेट्रोलियम पदार्थको व्यवसाय र पेट्रोलियमकै ढुवानीमा संलग्न छन्। उनी प्रदेशस्तरीय पेट्रोलियम ढुवानी संघका अध्यक्ष पनि हुन्। मोरङ-सुनसरीमा उनका सञ्चालनमा विभिन्न ठाउँमा पेट्रोल पम्प छन्।

विशालका प्लस टुका अधिकांश सहपाठी अहिले विदेशमै छन्। उनीहरू अहिले पनि कोही अमेरिका आइज, कोही क्यानाडा त कोही जापान आइज भनेर बोलाइरहन्छन्। तर विशाललाई कुनै अफरले छोइरहेको छैन।

‘कलेजको डेस्कमै हामीले सपना देखिसकेका थियौं,’ उनले सुनाए, अब जेजस्ता अफर र आकर्षण पाए पनि हामी विदेश जादैनौं।’

उनले विराटनगरको सेन्ट जोसेफ स्कुलबाट एसईई गरे। उच्च शिक्षाका लागि काठमाडौं रोजे। त्यहाँ उनी ब्रिटिस कलेजमा भर्ना भए।

उनको पीयूषसित सल्लाह थियो- दुवैले आइटी पढ्ने। त्यसैले सिग्देल पनि ब्रिटिस कलेजको आइटीकै संकायमा भर्ना भए। ब्याचलर सकेर गत वर्ष घर फर्किए विराटनगर।

एक भाइ बेलायत र एक भाइ काठमाडौं हुँदा पनि दुवैको दोस्ती कायम थियो। घर आइपुग्नेबित्तिकै उनीहरू आफ्नो सपनालाई साकार रूप दिन तम्सिइहाले।

यस्तो बन्दैछ सिंहासन
सिंहासन रेस्टुरेन्टमा भुईं र पहिलो गरी दुई तलामा ग्राहक बस्न सक्छन्। दुवै तलामा गरी ३ सय ग्राहक अटाउनसक्ने क्षमता छ।
रेस्टुरेन्टबाहिर क्याफे छ। क्याफेमा ६० जना सजिलै बस्न सक्छन्। यहीँ २५ जनाको बैठक हुनसक्ने गरी मिनी हल पनि छ। मिनी हलमा परिवार आएर वैवाहिक वार्षिकोत्सव, जन्मोत्सव आदि मनाउन सक्नेछन्।

रेस्टुरेन्टको माथिल्लो तलामा हुनेछन् तीन वटा विशेष प्रकारका आसनहरू। यिनै आसनलाई सिंहासन नाम दिइएको छ र रेस्टुरेन्टको नामकरण पनि यसैबाट गरिएको छ।

एक सिंहासनमा १० जना अटाउन सक्छन्। तर सिंहासनको चार्ज भने अलि फरक छ। सिंहासनमा बस्नेले पाउने सर्भिस पनि विशेष प्रकारको छ। रेस्टुरेन्टले उनीहरूलाई सम्मानस्वरूप गार्ड पनि उपलब्ध गराउनेछ। सिंहासनमा बस्न चाहनेले पहिले नै बुक गराउनुपर्छ।

‘हाम्रो मुख्य विशेषता भनेको चाहिँ यहाँको प्रकाश–व्यवस्था अर्थात् लाइटनिङ नै हो,’ विशालले सुनाए, ‘हामीले नाइट क्लबकै अनुसारले प्रकाशको व्यवस्थापन गरेका छौं। नाइट क्लबको अनुमति नपाएपछि रेस्टुरेन्टमा सीमित हुनुपर्‍यो।’

अर्का सञ्चालक पीयूषका अनुसार रेस्टुरेन्टमा हरेक साँझ लाइभ कन्सर्ट हुनेछ। महिनाको २ पटक नेपाल र भारतका चर्चित सेलिब्रेटी ल्याएर विशेष प्रकारको कन्सर्ट गरिनेछ। कन्सर्ट गरिने स्टेजमा १०८ वर्ग फिटको एलइडी राखिनेछ। अत्याधुनिक प्रकाश–व्यवस्थापनले रेस्टुरेन्ट झकिझकाउ हुनेछ।

उनले रेस्टुरेन्टमा अमेरिकन ब्रान्डको म्युजिक सिस्टम भएको बताए। ‘यसप्रकारको म्युजिक सिस्टम टार्गेट गरिएका ठाउँमा मात्र सुनिन्छ,’ उनले सुनाए।

उनले भने, ‘कन्सर्टमा बस्न नचाहने ग्राहकका लागि हामीले माथिल्लो तलामा छुट्टै खुल्ला र शान्त रेस्टुरेन्ट पनि तयार गरेका छौँ। यसमा ३० जनाको क्षमता छ।’

विशालले विराटनगरको मागअनुसार भेज र ननभेज किचन छुट्टाछुट्टै बनाइएको जानकारी दिए।

उनको भनाइ थियो, ‘विराटनगरमा भेजिटेरियन ग्राहकको पनि बाक्लो सहभागिता रहन्छ। उहाँहरूको एउटै माग हुनेगर्छ– भेज किचन अलग्गै होस्। हामीले यसलाई स्वीकार गरेका छौँ।’

उनले रेस्टुरेन्टमा मात्र पूर्वमा यति ठूलो लगानी नभएको र यति धेरै ग्राहक अटाउने रेस्टुरेन्ट पनि नभएको दाबी गरे।
दुवैले आफूले पढेको विधा अर्थात् आइटीलाई सिंहासनमा पनि कार्यान्वयनमा ल्याएका छन्। उनीहरूले नै कम्पनीलाई यस्तो प्रकारको सफ्टवेयर बनाइदिनू भनेर आइडिया दिएका छन् र सोहीअनुसारको सफ्टवेयर बन्दैछ।

यो सफ्टवेयरको प्रयोगले कुन बोतलमा कति एमएल मदिरा छ, स्टोरमा कति सामान छन्, किचनमा केकति सामग्री छन् लगायतका कुरा बुझ्न सकिन्छ।

त्यस्तै यो सफ्टवेयरले रेस्टुरेन्टको स्टोर, किचन वा सोकेसमा रहेका कुनै पनि सामग्रीको उपभोग्य मिति सकिने बेलामा सूचना दिन्छ।

यही सफ्टवेयरको उपयोगबाट आइप्याड प्रयोग गरेर खानेकुराको अर्डर गर्न सकिनेछ।

रेस्टुरेन्टमा ४५ जनाले रोजगारी पाउनेछन्। रेस्टुरेन्टमा नेपाली, इन्डियन, कन्टिनेन्टल, चाइनिज, इटालियन र मेक्सिकन खाना सर्भ गर्ने योजना छ।

‘हामी फ्रेस र हाइजेनिक खानेकुरा दिनेछौँ,’ पीयूषले सुनाए, ‘खानेकुराको स्तर र मिठासलाई निरन्तरता दिनेछौँ।’

पीयूष र विशालसँगै सिंहासनमा अर्का साझेदार पनि छन्- ज्ञानेन्द्र बस्नेत। उनी हाल अमेरिका निवासी हुन्।

उनीहरूले सिंहासन रेस्टुरेन्ट सञ्चालनमा ल्याएपछि सुनसरीको पर्यटकीय स्थल चतरामा रिसोर्ट खोल्ने योजना बनाएका छन्।

अर्का सञ्चालक विशाल भन्छन्, ‘विराटनगरको एअरपोर्ट रोड काठमाडौँको ठमेल वा पोखराको लेकसाइडजस्तै रमाइलो भइसकेको छ। हाम्रो उपस्थितिले त्यसलाई अझ रौनक दिने विश्वास गरेका छौँ।’