
काठमाडौं । कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल आजबाट संचालनमा आएको छ। नयाँ बानेश्वरस्थित एनबी सेन्टरमा रहेको हलको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल र वरिष्ठ कलाकार हरिवंश आचार्यले उद्घाटन गरेका हुन्।
उद्घाटन कार्यक्रममा ढकालले आर्थिक मन्दीको बेला हल खोल्ने हिम्मत गरेको बताउँदै टिमलाई बधाई दिँदै खुसी व्यक्त गरेका थिए।

दीपकदीपाकै फिल्म ‘छक्का पञ्जा ४’ स्क्रिनिङसँगै हल औपचारिक रुपमा संचालनमा आएको हो। हलमा आजबाट नियमित शो अन्तर्गत ‘एक भगवात र एक गीता’, ‘नाङ्गो गाउँ’, ‘जवान’ र ‘द नन २’ प्रदर्शन भएका छन्।
एनबी (बानेश्वर) सेन्टरको पाँचौ/छैटौं तलामा रहेको हल निर्माण गर्न १० करोड लगानी लागेको दीपकराज गिरीले बताए।
उनले भने, ‘यो हाम्रो पहिलो व्यवसाय हो। भनिन्छ व्यवसाय मस्तिष्कले खोल्नुपर्छ। तर, मैले कहिले पनि मस्तिष्कले निर्णय गरिन्। खाली मनले मात्रै गरे। यो पनि मैले मनले निर्णय गरेको व्यवसाय हो।’

दीपकले आफूले राम्रा नेपाली सिनेमालाई सधैँ प्राथमिकतामा राख्ने बताउँदै आफ्नो हलमा प्रदर्शन हुने नेपाली फिल्मबाट निर्माताले ५० प्रतिशत रकम पाउने समेत घोषणासमेत गरे।
स्क्रिनप्ले फिल्मिसको लगानी र आईएनआई सिनेमाको फ्रेन्चाइज अन्तर्गत सञ्चालित हलमा दुईवटा अडिटोरियम छन्। दुबै हलको ३८७ जना अट्ने सिट क्षमता रहेको छ।
उद्घाटन कार्यक्रममा उपस्थित हरिवंश आचार्यले आफूहरुले नगरेको काम दीपकदीपाले गरेको भन्दै खुसी व्यक्त गरे।
‘हामीले गर्न नसकेको काम उहाँहरुले गर्नुभएको छ। फिल्मबाट पैसा कमाएर यसरी हल खोल्ने उहाँहरु पहिलो कलाकार हुनुहुन्छ। यो कुरामा निकै खुसी लागेको छ,’ उनले भने।









