
काठमाडौं। कलाकारहरु विभिन्न व्यवसाय पनि गरिरहेका छन्। फिल्म क्षेत्रमा सधैं टिक्न सकिन्छ/सकिँदैन भन्ने टुंगो हुँदैन। त्यसैले होटल-रेस्टुरेन्ट लगायतका बिजनेसमा उनीहरुको उपस्थिति बढ्दै छ। दीपकराज गिरी र उनको फिल्मकर्मी समूह भने आफ्नै रुचिको क्षेत्रमा केही नयाँ गर्ने साेचमा छ।
सानो पर्दाबाट दर्शक हसाउँदै आएका दीपकले फिल्म ‘छ एकान छ’ प्रोड्युसरको रुपमा सिनेजगतमा डेब्यु गरे। ‘छ एकान छ’ लाई दर्शकले रुचाएसँगै सुरु भयो उनको उकालो यात्रा। त्यसपछि दीपककै निर्माणसहित लेखन र अभिनय रहेका फिल्म ‘छक्कापञ्जा’ का सिरिज हिट भए।
लगातार हिट फिल्म दिएका दीपक अहिले फिल्म हल सञ्चालक बन्न लागेका छन्। नयाँ बानेश्वरमा खुल्न लागेको हलमा ‘छक्कापञ्जा’ टिमकै दीपाश्री निरौला र निर्मल शर्माको लगानी छ। हल निर्माण गर्न १० करोड खर्च भइसकेको दीपकले बताए।

एनबी (नयाँ बानेश्वर) सेन्टरको पाँचौ/छैटौं तलामा निर्माणाधीन हलमा दुइटा अडिटोरियम छ। आईएनआई सिनेमाको फ्रेन्चाइज अन्तर्गत सञ्चालन हुने हल ४ सय सिट क्षमताको हो।
हल खोल्नुअघि दीपकलाई धेरैले विभिन्न व्यवसाय सुरु गर्न सुझाएका थिए। तर, आफूले कलाकारिता क्षेत्रबाहेक केही नसोचेकाले हलमा लगानी गरेको उनी बताउँछन्।
‘मैले जानेको पेसा नै यही हो। मलाई यही पेसाले दिएको छ। र, मेरो लगानी नै यसमा हुनुपर्छ भनेर हलमा खोलेको हुँ। म सिनेमा बेच्ने मान्छे हो। सिनेमामा नै लगानी गर्न चाहन्छु,’ उनले भने।

सिनेमाहलसँग जोडिएको बाल्यकाल
दीपकको सिनेमाहल प्रतिको मोह उनको बाल्यकालदेखिकै हो। सानैदेखि उनी फिल्म हेर्ने भनेपछि हुरुक्कै हुन्थे। नयाँ फिल्म रिलिज हुँदा स्कुल बंक गरेर हल पुग्थे। त्यतिखेर अमिताभ बच्चन, राजेश खन्ना, विश्व बस्नेत, शिव श्रेष्ठ, भुवन केसी लगायतका फिल्महरु निकै हेरेको उनलाई स्मरण छ।
‘फिल्म हेर्न भनेपछि मलाई केही नचाहिने। मेरो अधिकांश समय नै सिनेमा हलमा बितेको छ,’ दीपकले भने, ‘बच्चा छँदा पैसा नहुने। टिकटबिनै हलभित्र पस्दा कुटाइ समेत खाएको छु। त्यसरी हलबाट निकाल्दा बाहिर आवाज सुनेर समेत बसेको छु।’
दीपकका बुवा पेसाले बैंकर। थानकोटको दहचोक घर भए पनि दीपकका बुवाको उपत्यकाभरि सरुवा भइरहन्थ्यो। तर, बुवा सर्दा त्यो ठाउँमा हल छ/छैन भनेर निकै चिन्ता लाग्ने गरेको उनी सम्झन्छन्।
२०३५/३५ ताका। काठमाडौं उपत्यकामा जम्मा पाँचवटा हलमात्रै थिए। काठमाडौंमा रञ्जना, विश्वज्योति र जय नेपाल। पाटनमा अशोक सिनेमा। अनि भक्तपुरमा नवदुर्गा चलचित्र मन्दिर। धेरैजसो आफू रञ्जना हल पुगेको उनी सुनाउँछन्।
‘त्यतिखेर सिनेमाहललाई मन्दिर भनिन्थ्यो। साँच्चै सिनेमाहल मेरो लागि मन्दिर नै हो। एक जमाना थियो म स्कुलबाट भागेर फिल्महरु हेर्थे। तर, आज आफ्नै चलचित्र भवन बन्दा छुट्टै अनुभूति भइरहेको छ। चप्पलबाट सुरु गरेको फिल्म क्षेत्रमा सिनेमाहलको मालिक हुन पाएको छु। यो नै ठूलो गौरव कुरा हो,’ दीपकले खुसी हुँदै भने।
आफूले मनबाट सिनेमाहल खोलेको समेत बताउँछन् उनी। ‘मैले दिमाग भन्दा पनि मनबाट हल खोलेको हुँ। सिनेमाहल मेरो भावनासँग जोडिएको छ। यसबाट कति फाइदा हुन्छ मलाई थाहा छैन। म चलचित्रको लागि समर्पित मान्छे हुँ। मेरो काम नै सिनेमा बनाउने हो भने देखाउने पनि बनाउनुपर्यो नि!’

अनि सुरु भयो ड्रिम प्रोजेक्ट
पहिल्यैदेखि हल निर्माण गर्नु दीपकको ठूलो सपना थियो। त्यसमाथि फिल्म रिलिजताका हलबाट पाएको दु:खले आफ्नै खोल्न हौसिएका हुन्।
भन्छन्, ‘मैले छक्कापञ्जाको रिलिजको समयमा धेरै दु:ख पाएको छु। पर्याप्त शोहरु नपाउने र शो पाउँदा पनि प्राइम टाइम नहुने। त्यो बेलामा एउटा हलको अभाव निकै खड्किएको थियो। यो पनि हल खोल्नुको सानो कारण हो।’
त्यसपछि छक्कापञ्जाकै टिमसँग मिलेर हल निर्माण गर्ने योजना बनाए दीपकले। २०७६ को माघतिर हल निर्माणको सम्झौता भयो। तर, कोरोना महामारीले हल निर्माण हुन सकेन। कोरोनापछि निकै प्रभावित हुँदा हल संचालनमा ढिलाई भएको उनले सुनाए।
भने, ‘कोरोनापछि सबै प्रभावित भयो। पहिले फोन गरेर ऋण लिनु भन्ने बैंकहरुबाट पनि लोन पाउन गाह्रो भयो। अहिले विभिन्न पार्टनरहरु पनि जोडिनु भएको छ।’
मलसँग हलका लागि १८ वर्षको लागि सम्झौता गरिएको छ। नयाँ बानेश्वर महँगो ठाउँ भएकाले हलको भाडा एक महिनामा १० लाख तिर्नुपर्ने गरी सम्झौता भएको दीपकले सुनाए।
के के छन् सुविधा?
नयाँ बानेश्वरमा क्षेत्रमा मानिसहरुको चहलपहल राम्रै हुन्छ। ‘मिक्स डेमोग्राफिक एरिया’ भएकाले हलका लागि नयाँ बानेश्वर नै रोजेको दीपकको भनाइ छ।
‘प्राइम लोकेसन’का साथै ठूलो पर्दा, आरामदायी सिट। अनि ध्वनि र दृश्यको बेजोड समायोजन। जुन मल्टिप्लेक्स हलका आवश्यक कुराहरु हुन्। दीपकका अनुसार हलमा अत्याधुनिक एटमस साउण्ड जडान गरिएको छ। ‘टु के प्रोडेक्सन’का साथै दुवै हलमा थ्रीडी फिल्म हेर्न सकिने व्यवस्था छ।
अन्य हलहरुमा झैं फुड हलको व्यवस्था यहाँ पनि हुनेछ। टिकटको मूल्य भने आईएनआईको चेनअनुसार हुने उनले बताए।

पहिलो प्राथमिकतामा नेपाली फिल्म
भारतीय फिल्मको चेपुवा परेर नेपाली फिल्मले शो नपाउँदा दीपक आवाज उठाउँछन्। नेपाली फिल्मलाई हलमा भेदभाव भए पनि आफ्नो हलमा त्यस्तो नहुने उनको दाबी छ।
‘हल खोलिसकेपछि हल संचालकको पनि दायित्वहरु हुन्छन्। राम्रा चलिरहेका नेपाली फिल्मलाई प्राथमिकतामा राख्नुपर्छ। नेपाली फिल्म राम्रो चल्दा पनि शो घटाएर हिन्दीलाई दिने गरिन्छ। जुन हाम्रो हलमा हुँदैन यसले नेपाली निर्मातालाई पनि राहत हुनेछ,’ उनले भने।
कुनै नेपाली फिल्मसँग आफ्नो फिल्म जुध्दा हस्तक्षेप नरहने उनको तर्क छ।
‘यो हल आईएनआई चेनमा छ। यसको व्यवस्थापन उहाँहरुले नै गर्नुपर्छ। म त कलाकार हुँ, हल चलाएर बस्ने कुरा हुँदैन। उहाँहरु व्यवसायिक हुनुहुन्छ। मेरो सिनेमाले दर्शक तानुञ्जेल मलाई शो दिनुहुन्छ। मेरोभन्दा बलियो आउँदा अरुलाई दिनुहुन्छ। हामी राम्रोको आधारमा शो दिन्छौँ। त्यसमा मेरो हस्तक्षेप हुँदैन।’
आफ्नो लगानी रहेको हल सबैको लागि हुने भन्दै दीपकले दर्शकहरुले मनोरञ्जन पाउनेमा आफू ढुक्क रहेको सुनाए। दर्शकले नै साथ दिँदा कमाएको पैसाले हल संचालनमा ल्याउन सकेकोमा उनी खुसी छन्। सिनेमा हललाई ‘अघोषित पाठशाला’ का रूपमा लिने दीपकको हल यही भदौ १८ गतेबाट संचालनमा आउँदैछ।
‘मैले जीवनभर दर्शकलाई हँसाए, मनोरञ्जन दिए। दीपकको फिल्म राम्रो छ थाहा छैन। हेरेपछि रमाइलो हुन्छ, बोर हुँदैन भन्ने जुन इमेज छ। यहाँ पनि त्यही काम गर्छु। पहिले एउटा फिल्मबाट मनोरञ्जन दिन्थे। तर, अब सबैको फिल्मबाट दर्शकलाई मनोरञ्जन दिनेछु,’ उनले भने।

