
काठमाडौं। भृकुटी मण्डपमा मंगलबारदेखि सुरु भएको नाडा अटो शोमा अवलोकनकर्ताहरुको उपस्थिति निकै धेरै देखिएको छ। तीन वर्ष पछि भइरहेको अटो शोको दोस्रो दिनसम्म करिब ६०० वटा सवारीसाधान बुकिङ भएका छन्।
नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालका अध्यक्ष ध्रुव थापाका अनुसार पहिलो दिन ३०० भन्दा बढी गाडी बुकिङ भएको बताए। यसमा पनि सबैभन्दा धेरै इभी नै बुकिङ भएको उनको भनाइ छ। यस्तै दोस्रो दिन पनि त्यही अनुपातमा गाडीहरु बुकिङ भएको थापा बताउँछन्।
अटो व्यवसायीका अनुसार पहिलो दिन लगभग ३२० युनिट र दोस्रो दिन २७० सवारी साधान बुकिङ भएका छन्।
दुई पाङ्ग्रे सवारी तर्फ यो पटक केही ब्रान्डमा राम्रो भिड भएको र ती ब्रान्डहरुले राम्रो बुकिङ लिएको थापाले बताए। नाडा अटो शोमा सबैभन्दा धेरै टाटा, बिवाइडी, सेरेस,नेटा भी, एमजी र ओरालगायतका ब्रान्डमा मानिसको भिड देखिन्छ। यी कम्पनीहरुको नयाँ मोडल र इभी गाडी ‘बुक’ भएका छन्।

यस्तै रोयल इन्फिल्ड र टीभीएसमा पनि धेरै बाइकहरु बुकिङ भएको व्यवसायीहरु बताउँछन्। अटो शोमा विभिन्न ब्रान्डहरुले यो पटक सबै सेग्मेन्टका गाडीहरु ग्राहकहरुलाई पस्किएका छन्। कुनै समय गाडीको मूल्य देखेर तर्सिने ग्राहकहरुका लागि यस पटकको नाडामा मूल्यले पनि आकार्षित गरेको एक व्यवसायी बताउँछन्।
‘मानिसहरुको भिड त्यस्तो ठाउँमा छ जहाँ सस्तो गाडीहरु छन् र धेरै विकल्पहरु छनोट गर्न सक्छन,’ ती व्यवसायीले भने, ‘नयाँ ब्रान्ड प्रति पनि मानिसहरुको क्रेज राम्रो रहेको यो अटो शोले देखाएको छ। जस्तै सेरेसलाई मानिसहरुले धेरै मन पराएका छन्। एक त ब्रान्ड नयाँ अर्को भनेको १४ लाखमा ल्याएको गाडी हेर्नेको भिड पनि उस्तै छ।’
ती व्यवसायीका अनुसार जसरी चार पाङ्ग्रे इभी क्रेज देखिएको छ, रोयल इनफिल्ड र टिभीएस जस्ता बाइकप्रति पनि धेरै मानिस झुम्मिएका छन्। जसको एक मात्र कारण रोयल इन्फिल्डले एग्रेसिभ रुपमा राखेको हन्टरको मूल्य भएको ती व्यवसायी बताउँछन्।

दुई दिनमा २० हजार बढीले गरे भिजिट
नाडा अटो शोका संयोजक अनुप कुमार बरालका अनुसार दुई दिनमा २० हजार २०० जनाले अटो शोको अवलोकन गरेका छन्। पहिलो दिन नै साढे ८ हजार जनाले एकै दिन स्टलहरु भिजिट गरेका थिए। बुधबार ११ हजार ७०० जनाले अटो शोको स्टलहरु अवलोकन गरेका बरालले बताए।
यो पटक अवलोकन गर्न आउनेमा ७० प्रतिशत मानिस गाडी खरिद गर्ने योजनामा आएका अध्यक्ष थापाको भनाइ छ। आज सार्वजनिक बिदा भएका कारण नाडा अटो शोमा अवलोकन गर्नेको संख्या थप बढ्ने अनुमान छ।

नाडामा मानिसको फ्लो राम्रो देखिँदा प्राय इभीका सबै स्टलमा अवलोकनकर्ताको आकर्षण देखिएको छ। कोभिड १९ महामारीका कारण ३ वर्षपछि नाडा अटो शो भएकाले पनि दर्शकको आकर्षण बढेको अनुमान गरिएको छ।
मंगलबार सुरु भएको नाडा अटो शो भदौ ३१ गते आइतबारसम्म संचालन हुनेछ। अटो शोमा प्रदर्शनीमा चार पाङ्ग्रेका १६ वटा र दुई पाङ्ग्रेका २२ वटा ब्रान्डको स्टल छ। ७ वटा ब्रान्डका लाइट कमर्सियल गाडी, ९ वित्तीय संस्था तथा ३० लुब्रिकेन्ट, टायर, ब्याट्री, पार्टपुर्जा एवं ग्यारेज उपकरण कम्पनीको पनि प्रदर्शनीमा सहभागिता रहेको छ।
