नाडा अटो शोलाई विद्युतीय गाडीको भर, टियागो, सिल, कोमेट, सेरेस आकर्षणमा

बिजमाण्डू
२०८० भदौ २४ गते ११:५८ | Sep 10, 2023
नाडा अटो शोलाई विद्युतीय गाडीको भर, टियागो, सिल,  कोमेट, सेरेस आकर्षणमा


काठमाडौं। तीन वर्षपछि हुन लागेको नाडा अटो शोमा विद्युतीय गाडीको प्रभुत्व हुने भएको छ। अटो शोमा दर्जनौं नयाँ मोडलका इभी सहभागी हुँदैछन्। पूराना कम्पनीले नयाँ मोडल ल्याउँदैछन् केही नयाँ कम्पनीका गाडी पनि थपिँदैछन्।

Tata
GBIME

तर इन्धन सवारी साधनको नयाँ मोडल कमै मात्रै देखिनेछन्। अटो शो मंगलबारदेखि सुरु हुँदैछ।

टाटाको टियागो इभी प्रमुख आकर्षण

टाटा गाडीको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले कम्पनीको अहिलेसम्मकै सस्तो टियागो इभी ल्याउँदै छ। जसको सुरुवाती मुल्य लगभग २४ लाख हुने अनुमान गरिएको छ। कम्पनीले केही दिनअघि बुकिङ खुलाइसकेको छ।

सिटी कार टियागो इभीका दुई भेरियन्ट नेपाली बजारमा आउनेछ। टियागो इभीको लङ रेन्ज भेरियन्टमा २४ किलोवाट आवर (युनिट) क्षमताको ब्याट्री उपलब्ध हुनेछ। सो ब्याट्रीले एक पटकको फुल चार्जमा ३१५ किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दाबी छ।

यसमा भएको ५५ किलोवाट मोटरले ७४ ब्रेक हर्सपावर (बीएचपी) र ११४ एनएम टर्क उत्पादन गर्छ। बीएचपीले गाडीको एक्सिलेरेसन र टप स्पिड निर्धारण गर्छ। बीएचपी भनेको इन्जिनको शक्ति हो। टर्कले गाडीको टर्निङ शक्ति कति छ भनेर निर्धारण गर्छ।

यस्तै, मिडियम रेन्ज भेरियन्टमा १९.२ किलोवाट आवर (युनिट) क्षमताको ब्याट्री प्याक छ। सो ब्याट्रीले एक पटकको फुल चार्जमा २५० किलोमिटर रेन्ज प्रदान गर्ने कम्पनीको दाबी छ।

यसमा भएको ४५ किलोवाट मोटरले ६० ब्रेक हर्सपावर र ११० एनएम टर्क उत्पादन गर्न सक्छ। यो गाडी टिल ब्लु, डेटोना ग्रे, ट्रोपिकल मिस्ट, प्रिस्टिन ह्वाइट र मिडनाइट प्लम गरी पाँच रंगमा उपलब्ध हुने कम्पनीले जनाएको छ।

यस्तै कम्पनीले टाटाको नेक्सन इभी म्याक्स पनि अटो शोमा राख्ने छ। यस्तै नयाँ इन्धन गाडी पन्च पनि अटो शोमा देख्न पाइनेछ।

बीवाइडीको ३ वटा मोडल

बीवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले यो नाडा अटो शोमा ३ वटा मोडलका इभीहरु प्रर्दशनीमा राख्नेछ। कम्पनीले त्यही अनुसार नेपाली बजारमा डल्फिन र सिल भित्र्याइसकेको छ। 

कम्पनीले सिलको मूल्य १ करोड ५ लाख राखेको छ। अहिले यी दुबै गाडी काठमाडौंमा आइपुगेका छन्। 

सिलमा ८२.५ किलोवाट आवर(युनिट) क्षमताको ब्याट्री प्याक छ। सो ब्याट्रीले एक पटकको फुल चार्जमा ५७० किलोमिटर रेन्ज प्रदान गर्छ। यसमा सेल-टु- बडी टेक्नोलोजीमा निर्माण भएको छ। यसमा पनि बीवाइडीको ब्लेड ब्याट्री उपलब्ध छ। यो गाडी अल न्यू बीवाइडी ई-प्लाटफर्म ३.० डिजाइनमा उत्पादन गरिएको छ।

कम्पनीले डल्फिनको परीक्षण समेत गरिसकेको छ। डल्फिनले एमजी जेडएसहरुसँग प्रतिस्पर्धा गर्नेछ। यस्तै सिलले भने आयोनिक-५ र कियाको इभी-६ सँग प्रतिस्पर्धा गर्नेछ। यस्तै कम्पनीले अहिले बिक्री भइरहेको एटो -३ पनि नाडा अटो शोमा राख्ने छ। यो गाडीको ३ वटा भेरियन्ट छन्।

एमजीको पनि ३ वटा मोडल

मोरिस ग्यारेज एमजीको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले पनि ३ वटा मोडलका गाडीहरु यो अटो शोमा देख्न पाइने छ। जसमा कम्पनीले यसको नयाँ सेडान एमजी ४ नेपाल भित्र्याइसकेको छ।

यस्तै यसको मिनी कार कोमेट पनि अटो शोमा देख्न पाइने छ। कम्पनीले यस अघि बिक्री गर्दै आएको जेडएस इभी पनि राख्ने तयारी छ। यस्तै कम्पनीले अर्को ब्रान्ड म्याक्ससको मिफा ९ पनि अटो शोमा राख्नेछ। 

कियाको इभी ६ र न्यू स्पोर्टेज

कियाको आधिकारिक बिक्रेता कन्टिनेन्टल ट्रेडिङले अटो शोमा न्यू स्पोर्टेज र इभी-६ ल्याउने तयारीमा छ। किया न्यू स्पोर्टेज मोडलको मूल्य १ करोड २५ लाख ९० हजार रुपैयाँ छ।

कम्पनीले इभी-६ मोडलको बुकिङ खुलाएको छ। कम्पनीले गाडीको मूल्य लगभग १ करोड २० लाख रुपैयाँ राख्नेछ।

न्यु स्पोर्टेजमा २.५ लिटरको फोर सिलिन्डर इन्जिन छ। यसले १८७ हर्सपावर र १७८ एनएम टर्क उत्पादन गर्न सक्छ। यसमा १७ इन्चको एलोय ह्वील छ।

सेरेस-३ र ई-१

एमएडब्लु ग्रुप अन्तर्गतको वृद्धि अटोकर्पले चिनियाँ गाडी उत्पादक कम्पनी सेरेस ब्रान्डको सेरेस-३ मोडल र सेरेस ई-१ मोडल अटो शोमा सार्वजनिक गर्ने तयारी गरेको छ।

कम्पनीले यो गाडीहरुको मूल्य तोकिसकेको छ। एमएडब्ल्यु ग्रुपअन्तर्गत हाल स्कोडा, जीप, जेसीबी, यामाहा, चांगन, फोटोन लगायत ब्रान्ड बिक्री भइरहेका छन्। यो नाडा अटो शो यी ब्रान्डको इन्धन गाडीले कुनै पनि सहभागी नलिने भएका छन्। 

गाडीको कम्फर्ट भेरियन्टको सुरुवाती मूल्य ४७ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। यस्तै प्रिमियम भेरियन्टको मूल्य ४९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। तर कम्पनीका अनुसार यो मूल्य केही सीमित समयको लागि मात्र हुनेछ। गाडी सार्वजनिक भएपछि भने यसको मूल्य कम्फर्ट भेरियन्टको ४९ लाख ९९ हजार र प्रिमियम भेरियन्टको ५२ लाख ९९ हजार रुपैयाँ कायम हुने कम्पनीले जनाएको छ।

यसैगरी सेरेस ई-१  को पनि मूल्य तोकिएको छ। जसको सुरुवाती मूल्य १३ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। यो बेस भेरियन्टको मूल्य हो। यस्तै अर्को मिड भेरियन्टको मूल्य १६ लाख ४९ हजार र टप भेरियन्टको १७ लाख ९९ हजार तोकिएको छ। 

कम्पनीका अनुसार सेरेस ३ मा ९९ किलोवाटको मोटर छ। यसमा ५२.७ किलोवाट आवर (युनिट)को ब्याट्री छ। उक्त ब्याट्रीले एक पटकको फुल चार्जमा ४०५ किलोमिटर रेन्ज दिन्छ। यो गाडीको ग्राउन्ड क्लियरेन्स १९० मिलिमिटर (एमएम) छ। 

कम्पनीका अनुसार यस्तै मिनी इभीमा १६.८  र १३. ८ किलोवाट आवर(युनिट) लीथीयम-आयन ब्याट्री विकल्प उपलब्ध छन्। उक्त गाडीमा भएको ब्याट्री प्याकहरुले एक पटकको फुल चार्जमा १८० किलोमिटरदेखि २२० किलोमिटरसम्मको रेन्ज प्रदान गर्दछ। यो गाडी ३ वटा भेरियन्टमा उपलब्ध छ। 

यस्तै कम्पनीले फोटोनको कमर्सीयल इभी भ्यान पनि यो अटो शोमा राख्नेछ।

नयाँ ब्रान्ड स्काइवेल ईटी -५

चिनियाँ विद्युतीय गाडी ब्रान्ड स्काइवेलको आधिकारिक बिक्रेता जी मोटर्सले पनि नयाँ इभी नाडा अटो शोमा राख्ने तयारी गरेको छ। कम्पनीले अटो शोमा नयाँ मोडल स्काइवेल ल्याउन स्टल बुकिङ समेत गरिसकेको छ।

कम्पनीले यसको आधिकारिक रुपमा ब्रान्ड समेत रिभिल गरेको छ। साथै मूल्य १ करोड ९ लाख रुपैयाँ राखिएको छ। यो गाडीको बुकिङ समेत खुलाइएको छ। 

लङ रेन्ज मोडलमा ब्याट्री ८५.९७ किलोवाट आवर (युनिट) छ। यसले एक पटकको फुल चार्जमा ६२० किलोमिटर रेन्ज दिने उत्पादक कम्पनीको दाबी छ।

यो गाडीमा डुअल मोटर रहेको छ। मोटर पावर १५० किलोवाट क्षमताको छ। यसमा २०४ पीएस हर्स पावर र ३२० एनएमको पिक टर्क उत्पादन गर्छ। उत्पादक कम्पनीले यसलाई कम्फर्ट र लक्जरी भेरियन्टमा उत्पादन गरेको छ।

यसमा अर्को भेरियन्ट पनि उपलब्ध छ। जसमा सिंगल मोटर छ। यसमा ७२ किलोवाट आवर (युनिट) क्षमताको ब्याट्री प्याक छ। यसले एक पटकको फुल चार्जमा ४६० किलोमिटर रेन्ज प्रदान गर्ने कम्पनीको दाबी छ। यसमा पनि मोटर पावर १५० किलोवाटको रहेको छ।

नेटा भीको ४ वटा मोडल आउँदै

यो नाडा अटो शोमा नेटा भीको ४ वटा मोडल राखिनेछ। होजोन मोटर्सको आधिकारिक बिक्रेता सीजी मोटर्सले नेटा भीसहित नेटा यु, नेटा एस र जीटी मोडल अटो शोमा ल्याउन लागिएको हो।

कम्पनीका अनुसार यो गाडीहरु अहिले प्रर्दशनीको लागि मात्र राखिने जनाएको छ। नेटा युमा ८१.७ किलोवाट आवरको लिथियम आयोन ब्याट्री प्रयोग भएको छ। १७२ किलोवाट क्षमताको मोटर जडान भएको नेटा युले सिंगल चार्जमा ६११ किलोमिटर रेन्ज दिने कम्पनीको दावी छ। यो एसयुभी सेग्मेन्टको इभी हो। 

नेटा एसमा ९५ किलोवाट आवर क्षमताको लिथियम आयोन ब्याट्री उपलब्ध छ। उक्त ब्याट्रीले एक पटकको फुल चार्जमा ६५० किलोमिटर रेन्ज दिने कम्पनीको दावी छ। यो इभी सेडान हो।