काठमाडौं। बौद्धको रामहिटीमा संचालित ‘लभी गार्डेन’ रेष्टुरेन्ट अन्य दिन पनि विकेन्डमा जस्तै भीडभाड हुने गर्छ। तीन वर्षअघि खुलेको लभी गार्डेनको लोकेसन, सर्भिस र कुजिनले यसलाई साथ दिएको हो।
अक्सर गुल्जार रहने यो रेष्टुरेन्ट युवाहरुले निकै रुचाएका छन्। रेष्टुरेन्टको नाममा फ्रेन्च शब्दको प्रयोग गरिएको छ। ‘ल भी’ अर्थात फ्रेन्च भाषामा जीवन हो। लभी हस्पिटालिटी ग्रुपअन्तर्गत संचालित यो रेष्टुरेन्टलाई ‘सेलिब्रेट लाइफ’ थिममा अघि बढाएको कम्पनीका सीईओ सुदर्शन पौडेल बताउँछन्।
‘हरेक मानिसले आफ्नो जीवन रमाइलो गरी बिताउनुपर्छ भन्ने हाम्रो प्रमुख उद्देश्य हो। यहाँ आउने पाहुना र सेवा दिने कामदार सबैलाई खुशी राखेर व्यवसाय संचालन गर्न हामी अग्रसर छौं। पाहुनासँगै काम गर्ने जनशक्ति पनि खुसी बनाउन सक्नु अझै महत्वपूर्ण छ,’ संस्थापकसमेत रहेका सीईओ पौडेलले भने।
लभीले जसरी सेवा दिन चाहेको हो, त्यसलाई साथ दिएको छ यहाँको हरियालीले। बौद्ध रामहिटीस्थित ४ रोपनीमा रहेको रेष्टुरेण्ट बगैंचाजसरी सिंगारिएको छ। युवालाई लक्षित गर्दै खुलेको यस रेष्टुरेन्टमा लक्जरी दिने गरी हरियालीलाई उपयोग गरिएको छ।
लामो समय हस्पिटालिटी क्षेत्रमा बिताएका सुदर्शनलाई रेष्टुरेन्टमा खानाकै भूमिका सबैभन्दा प्रमुख हुन्छ भन्ने थाहा छ। त्यसैले उनले सन्तुलित खानालाई आफ्नो मेनुमा प्राथमिकता दिएका छन्। मल्टीकुजिन रेष्टुरेन्टका रुपमा संचालित लभीमा अन्तर्राष्ट्रिय स्वादमा नेपाली अर्गानिक उत्पादनहरुको प्रयोग गरिएको उनले बताए।
कुनै पनि परिकार बनाउँदा नेपालीपन तथा नेपाली सामाग्रीहरुको प्रयोगलाई प्राथमिकता दिने गरिएको उनको भनाई छ। लकडाउनको समयमा उनीहरुले आफ्नो मेनुमा अझ धेरै प्रयोग तथा अध्ययन गरी परिमार्जन गरेको उनी सम्झन्छन्। हाल रेष्टुरेन्टले १५० वटा भन्दा बढी परिकार राखेर मेनु तयार पारेको छ।
विदेशको अनुभवले सुरु गरिएको ‘ ड्रिम प्रोजेक्ट ‘
गेट कलेजमा बिएचएममा स्नातक गरेका सुदर्शन १० वर्ष अघि दुबई पुगे। दुबईको जुम्मेराह होटल र कतार एयरवेजमा अनुभव बटुलेपछि उनी अष्ट्रेलिया गए।
स्नातक अध्ययनका लागि सिड्नी पुगेका उनी त्यहाँ अडिन सकेनन्। चार वर्षे अनुभव लिएर सन् २०१९ मा नेपाल फर्किए। त्यसपछि सुरु गरे १ करोड २० लाख लगानीमा ड्रिम प्रोजेक्ट। रेष्टुरेन्टमा पौडेलसँगै महाप्रबन्धक सुदीप बस्याल, हेड सेफ ध्रुव शिवाकोटीको लगानी छ।
रेष्टुरेन्टमा हाल एक सयभन्दा बढी जनशक्ति कार्यरत छन्। ‘पढेर आइडिया आयो। यसमा लगानी भनेकै आफ्नो क्षमता रहेछ। यसमा हामीसँग आवद्ध कर्मचारी, पाहुना सँगै भाग्यले पनि साथ दिँदै आएको छ,’ उनले भने।
सुदर्शन रेष्टुरेन्टका एउटै मेनुबाट वाक्क थिए। त्यही भएर उनले आफ्नो रेष्टुरेन्टमा केही नयाँ दिने प्रयास गरेका छन्। सहरका मेनुमा केही नयाँ परिकार थपेका छन्।
‘शहरका ८० प्रतिशत रेष्टुरेण्टको मेनु उस्तै छन्,’ सुदर्शन भन्छन्- ‘तर हामीले आफ्नो पृथकतालाई ध्यान दिएका छौं। हामीले खाइरहेको परिकार, नेपाल मै भइरहेका उत्पादनलाई सदुपयोग गर्दै मेनु तयार गर्दे आएका छौँ। ती मेनु अनुसारको परिकार पनि भिन्न छन्।’
मुस्ताङको प्रख्यात सि बक थ्रोन जुस
रेष्टुरेन्टमा मुस्ताङबाट ल्याइएको डाले चुक अर्थात सि बक थ्रोन फलबाट जुस बनाउने गरिएको छ। यसबाट मकटेल, ककटेल समेत बनाइन्छ।
काठमाडौंका अन्य रेष्टुरेण्टमा खासै नपाइने यो जुस यहाँ जानेहरुका लागि नयाँ स्वाद हो। यहाँ सामान्य जुसको २५० रुपैयाँ र स्पार्कलरको ३५० रुपैयाँ निर्धारण गरिएको छ। स्पार्कलरमा सोड पानी, मीन्ट हालेर मकटेल बनाइएको छ।
चिकेन टकाटक
यो मेनुमा कुखुराको मासुको प्रयोग गरिएको हुन्छ। धनियाँको गेडा, गुलियो, नुनिलो र पिरोको त्रिकोणात्मक स्वाद लिन सकिन्छ। यो रेस्टुरेन्टको विशुद्ध आफ्नै रेसिपी भएको उनको जिकिर छ। चिकेन टकाटकलाई यहाँ आउने सबैले रुचाएका छन्।
विदेशी पर्यटकले धेरै नै रुचाएको यो रेसिपीको मूल्य ४२५ रुपैयाँ राखिएको छ। यसमा २१० ग्रामको पोर्सन राखिएको हुन्छ।
लोकल भाले मोलेपोलेको
लोकल भालेको मासुलाई पोलेर नेपाली मरमसलामा मोलिएको यो परिकार पनि यहाँको विशेषता हो। यो परिकारमा प्रयोग हुने लोकल भाले भक्तपुरबाट ल्याउने गरिएको छ। फापरको रोटी र पिंधेको गोलभेडाको अचारसँग दिने लोकल भालेको मूल्य ५२५ रुपैयाँ राखिएको छ।
मट्का दम विरीयानी
नेपालीलाई मनपर्ने परिकारमध्येको मट्का दम विरीयानी यो रेष्टुरेन्टमा पनि विशेष रुचाइएको छ। बासमती चामल, विभिन्न मरमसला, शुद्ध घ्यू र मासुको प्रयोग हुने यो परिकारमा गरिएको छ। यसको मूल्य प्रकार हेरी ४५० देखि १९९५ रुपैयाँसम्म राखिएको छ।
छोयला फ्राइड राइस
यहाँको छोयला पनि ग्राहकले निकै रुचाएका छन्। छोयलाका लागि विशेष मसला तयार गरिएको हुन्छ। अदुवा, भुटेको तोरीको तेल, मासु, लगायत विशेष मसला मोलेर बनाइने यो परिकारको मूल्य ३२५ रुपैयाँ छ।
दुधमलाइ केक
रेष्टुरेन्टमा डेजर्टको रुपमा दुधमलाई केक पाइन्छ। केसरको प्रयोग गरिएको केक अधिकांश ग्राहकको रोजाइमा पर्छ। यसको मूल्य ३२५ रुपैयाँ राखिएको छ।
ब्रेकफास्ट
यहाँ ब्रेकफास्टका लागि आवश्यक सबै सामाग्री हिमगिरी अर्गानिकबाट ल्याइने गरिने सीईओ गौतमले बताए। ‘ सावर डो’ ब्रेडको प्रयोग गरिएको ब्रेकफास्ट निकै स्वस्थ्यवर्धक रहेको उनले जानकारी दिए।
यो ब्रेडमा आलस लगायत मल्टिग्रेन समावेश गरिएको हुन्छ। यसमा फ्लपी प्यानकेक ‘सुफ्ले’, सिताके च्याउ, वेस्टर मसरुम, बटन मसरुम सते गरेर अण्डा र ब्रेड दिइन्छ। यो सँगै ग्राहकले पुल पोर्क बेनेडेक ब्रेकफास्ट लिन सक्नेछन्। यसमा पोर्कको फिलालाई छ घण्टा स्लो हिटमा तयार गरिएको हुन्छ।
रेष्टुरेन्टले पानी पुरीदेखि मल्टीकुजिन पस्कँदै आएको छ। स्ट्रिट फुडअन्तर्गत चाट, पानीपुरी, सेकुवा लगायत राखिएको छ। यसको अलावा फ्रेस जुस, ब्रन्च, भारतीय परिकारको स्वाद पनि लिन सकिने उनले बताए।
सन् २०२० मा संचालनमा आएको यो रेष्टुरेन्टले ब्रेकफास्टदेखि डिनर सम्म सर्भ गर्छ। रेष्टुरेन्टलाई ट्रिप एडभाइजरले काठमाडौंकै उत्कृष्ट रेष्टुरेन्ट सूचीमा राखेको छ। २०० जनाको क्षमता रहेको रेष्टुरेन्टसँग बुटिक शैलीको होटल पनि छ।
होटलमा सातवटा कोठा छन्। यहाँ ४ हजार २५० रुपैयाँमा बेड एण्ड ब्रेकफास्ट सहितको सेवा लिन सक्ने उनले जानकारी दिए।
लभी हस्पिटालिटी ग्रुप अन्तर्गत लभी गार्डेन, २६ कोठा क्षमताको लबी रेसिडेन्स एण्ड स्पा, लेकाली भोज, जिग्री सेकुवा लगायत संचालित छन्। जिग्री सेकुवा अन्तर्गत जोरपाटी, हात्तिगौँडामा फ्रेन्चाइज संचालनमा आइसकेको छ।
झम्सीखेल र शंखमुलमा दुई आउटलेट संचालनमा आउने तयारी रहेको उनले जानकारी दिए। कपनको फैकामा आफ्नै आउटलेट संचालनमा ल्याउने उनले बताए।
दसैंअघि नै समुहले शाखा आठवटा पुर्याउने योजना बनाएको छ। ‘हामी भिजन अनुसार चलिरहेका छौँ। तीन वर्षको अनुभवले नेपाल मात्रै नभएर अन्तर्राष्ट्रिय स्तरमा जाने बल पुगेको छ,’ उनले भने,’ त्यसका लागि प्रतिस्पर्धात्मक क्षमता विस्तार गर्नुपर्नेछ।’