८१ मेगावाटको बुढीगण्डकी प्रोक निर्माण गर्दै चिलिमे, २०८५ भाद्र २८ गतेदेखि उत्पादन थाल्ने तयारी



बिजमाण्डू
२०८० भदौ २१ गते ०८:११ | Sep 7, 2023
८१ मेगावाटको बुढीगण्डकी प्रोक निर्माण गर्दै चिलिमे, २०८५ भाद्र २८ गतेदेखि उत्पादन थाल्ने तयारी

काठमाडौं । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले ८१ मेगावाटको बुढीगण्डकी प्रोक जलविद्युत आयोजना निर्माण अघि बढाउने तयारी गरेको छ।

Tata
GBIME
Zonsen

कम्पनीले सम्भाव्यता र वातावरणीय प्रभाव मूल्यांकन (ईआइए) प्रतिवेदन तयार पारेर निर्माण सुरु गर्नका लागि विद्युत विभाग उत्पादन अनुमतिपत्र (जेनेरेस लाइसेन्स) मा गर्दै आवेदन दिइसकेको छ। विभागले लाइसेन्स दिने प्रक्रिया अन्तिम चरणमा पुुगेको जनाएको छ।

विभागले सूचना प्रकाशित गर्दै आयोजना निर्माण र सञ्चालन गर्दा कुनै प्रतिकूल असर पर्ने भए ३५ दिनभित्र लिखित राय/सुझाव पेस गर्न आग्रहसमेत गरेको छ।

प्रस्तावित आयोजना गोरखाको चुमनुब्री गाउँपालिका ४ र५ भएर बग्‍ने बुढीगण्डकी नदीमा निर्माण हुनेछ। सम्भाव्यता अध्ययन प्रतिवेदन अनुसार सुक्खा मौसमको वार्षिक ऊर्जा १३९.३११ गिगावाट आवर उत्पादन हुनेछ भने वर्षा मौसमको वार्षिक ऊर्जा ३२०.२३५ गिगावाट आवर उत्पादन हुनेछ।

यो आयोजनाका लागि ४३६५.९३ मिटर सुरुङमार्ग निर्माण गर्नुपर्नेछ। जसमा ग्रस हेड २१४.२४ मिटर र नेट रेटेड हेड २०८.३१ मिटर हुनेछ।

आयोजनाको हेडवर्क्स बुढीगण्डकी नदी र टम खोलाको दोभानबाट २६० मिटर तल रहेको छ भने विद्युत गृह बुढीगण्डकी नदी र सेरान खोलाको दोभानभन्दा १५० मिटर माथि रहनेछ। प्रतिफलको आन्तरिक दर १३.०५ प्रतिशत छ भने लाभ/लागत अनुपात १.३७ प्रतिशत रहेको छ। आयोजनाबाट उत्पादित विद्युतलाई २२० केभी १५ किलोमिटर प्रसारणलाइन निर्माण गरेर फिलिम/गुम्दामा प्रस्तावित सबस्टेसनमा जोडिनेछ।

चिलिमेले बुढीगण्डकी प्रोकको ४२० मेगावाटको सर्वे लाइसेन्स लिएर अध्ययन अघि बढाएको थियो। तर सम्भाव्यता अध्ययनपछि ८१ मेगावाटमा यो आयोजना अघि बढाउदा उपयुक्त हुने निष्कर्ष निकालिएको थियो। कम्पनीका एक अधिकारीका अनुसार ४२० मेगावाटको लाइसेन्स लिएको भए पनि ८१ मेगावाटमा बुढीगण्डकी प्रोक फिजिवल देखिएको हो।

यो आयोजना निर्माणका लागि १४ अर्ब ४८ करोड रुपैयाँ लाग्‍ने अनुमान गरिएको छ। यो आयोजनाबाट २०८५ साल भाद्र २८ गतेदेखि व्यवसायिक उत्पादन थाल्ने कम्पनीको योजना छ।

चिलिमेले ८७ मेगावाटको सेती नदी-३, ६० मेगावाटको चुमचेत स्यार खोला जलविद्युत आयोजना निर्माण अघि बढाउन अध्ययन गरिरहेको छ।

यस्तै, कम्पनीले २२.१ मेगावाटको चिलिमे जलविद्युत परियोजना संचालनमा ल्याएको छ। यो कम्पनीको अगुवाइमा १०२ मेगावाटको मध्य-भोटेकोसी, १११ मेगावाटको रसुवागढी लगायतका जलविद्युत परियोजनाहरू निर्माण भइरहेका छन्।