सीआइबीमा सहकारी ठगीका फाइलको चाङ: अनुसन्धान सुरु भएपछि अधिकांश सञ्चालक फरार, कोही रकम फर्काउँदै

सविन ढकाल
२०८० भदौ २१ गते ०६:२८ | Sep 7, 2023
सीआइबीमा सहकारी ठगीका फाइलको चाङ: अनुसन्धान सुरु भएपछि अधिकांश सञ्चालक फरार, कोही रकम फर्काउँदै


काठमाडौं। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)मा सहकारीले गरेका ठगीविरुद्ध उजुरी बढेको छ। ठगी गरेर सहकारीका सञ्चालक भाग्ने क्रम बढेपछि सीआईबीमा उजुरी बढेको हो।

Tata
GBIME

अनुसन्धान सकेर मुद्दा अदालतमा लगिएका केसमा पनि सहकारी पीडितहरु प्रहरीकहाँ धाइरहेका छन्। सहकारीले फिर्ता गर्न नमानेको रकम उठ्ने आशमा पीडितहरु प्रहरीकहाँ पुग्ने गरेका हुन्।

‘पछिल्लो समय सहकारी ठगी धेरै देखिएको छ। त्यसैले हामीकहाँ उजुरीको चाप देखिन्छ,’ सीआइबी प्रमुख किरण बज्राचार्यले भनिन्।

१५ सहकारीमाथि अनुसन्धान

सीआइबीले अहिले १५ वटा सहकारीमाथि अनुसन्धान गरिरहेको छ। सहकारी विभागले पहिलो चरणको छानबिन गरेर पत्राचार गरेपछि सीआइबीले अनुसन्धान अघि बढाएको हो।

अनुसन्धान भइरहेका सहकारीमध्ये अधिकांशका सञ्चालक फरार छन्। जमलस्थित पशुपति बचत एवम् ऋण सहकारी संस्थाको ठगीबारे अनुसन्धान गरिरहे पनि सहकारीका सञ्चालक सीआइबीको सम्पर्कमा छैनन्। यो सहकारीलाई समस्याग्रस्त घोषणा गरिसकिएको छ।

सीआइबीले अनुसन्धान गरिरहेको तीनकुनेस्थित हरित कृषि सहकारी संस्थाका सञ्चालक पनि सम्पर्कमा आएका छैनन्। कुमारीपाटीमा रहेको गुडविल बचत तथा ऋण सहकारी संस्थाका पदाधिकारी पनि प्रहरी सम्पर्कमा छैनन्।

केहीले अनुसन्धान सुरु भएपछि बचतकर्ताको रकम समेत फिर्ता गरिरहेका छन्। केहीले फिर्ता गर्ने प्रतिबद्धता जनाएका छन्। सातदोबाटोमा रहेको देउराली बहुउद्देश्यीय सहकारी संस्थाको फाइल पनि सीआइबीको टेबलमा छ। आफ्नो सहकारीमाथि अनुसन्धान सुरु भएपछि सञ्चालकहरू बचत फिर्ता तिर्ने प्रक्रियामा छन्।

गेट वे बचत तथा ऋण सहकारी संस्था, उत्तम बचत तथा ऋण सहकारी संस्था, परस्पर बचत तथा ऋण सहकारी संस्था र खुसी बचत तथा ऋण सहकारी संस्थामाथि पनि सीआइबीले अनुसन्धान गरिरहेको छ।

सहकारी ठगीका उजुरी बढेपछि सीआइबी भने हैरान भएको छ। गम्भीर प्रकृतिका अपराध अनुसन्धानको काम प्रभावित भएपछि सहकारी ठगीका नयाँ केस सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा पठाउन थालेको छ।

ललितपुरको सुमेरु सहकारी संस्थामाथि पनि अनुसन्धान भइरहेको छ। सहकारी विभागले सुमेरुका अध्यक्षलाई मात्र कारबाही गर्न सिफारिस गरेको छ। युक्त बहुउद्देश्यीय सहकारी संस्था,  साई स्वागत बचत तथा ऋण सहकारी संस्थामाथि अनुसन्धान चलिरहेको छ।

तीनकुनेमै रहेको रियल गोर्खा बचत तथा ऋण सहकारी संस्था र बानेश्वरमा रहेको सन्ध्या बचत तथा ऋण सहकारी संस्थाको अनुसन्धान सकिसकेको छ। अनुसन्धानबाट धेरैजसो सहकारीका सञ्चालकले बचतकर्ताको रकम आफ्नो र परिवारका सदस्य तथा कम्पनीको नाममा जग्गामा लगानी गरेको पाइएको छ।

सञ्चालक कारागारमा

शिव शिखर सहकारीले गरेको ठगीबारे भने सीआइबीले यसअघि नै अनुसन्धान सकिसकेको छ। उसकै अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले दायर गरेको मुद्दामा काठमाडौं जिल्ला अदालतको आदेशमा सहकारीका सञ्चालक केदारनाथ शर्मा एक साताअघि पुर्पक्षका लागि कारागार चलान भएका थिए।

केदारनाथकी श्रीमती गीता, संस्थाका कार्यकारी निर्देशक अमिश राजभण्डारी र शिखर अर्गनाइजेनसका मेनेजर पुष्कर मल्ल यसअघि नै जेल परेका थिए।

सहकारीविरुद्ध सीआइबीमा १ हजार १४५ जनाले ७८ करोड १९ लाख ६३ हजार रुपैयाँ ठगी भएको जाहेरी दिएका थिए । सो सहकारीले ३६ वटा शाखा कार्यालयबाट करिब १४ अर्ब रुपैयाँ ठगी गरेको सीआइबीको निष्कर्ष छ। काठमाडौं बाहिरका शाखा कार्यालयको हकमा सीआइबीले सम्बन्धित जिल्ला प्रहरी कार्यालयलाई नै अनुसन्धान गर्न लगाएको छ।

उजुरीले हैरान

सहकारी ठगीका उजुरी बढेपछि सीआइबी भने हैरान भएको छ। पीडितहरु आफूकहाँ आउने क्रम बढ्दा सीआइबीले गम्भीर प्रकृतिका अपराध अनुसन्धानको काम प्रभावित भएको भन्दै सहकारी ठगीका नयाँ केस सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा पठाउन थालेको छ।

पछिल्लो समय सहकारी ठगीका उजुरीले गर्दा अन्य केस नै राम्रोसँग हेर्न नपाउने अवस्था आएको छ,’ सीआइबीका एक अनुसन्धान अधिकृतले सुनाए।

सीआइबीले सम्बन्धित जिल्ला प्रहरी कार्यालयलाई नै हेर्न भनेपछि ती कार्यालयले अहिले सूचना नै जारी गरेर उजुरी संकलन गरिरहेका छन्।

पाँच वर्षमा १० गुणाले बढ्यो ठगी

सहकारीको ठगी देशव्यापी बनेको छ। काठमाडौं बाहिर पनि ठगी उतिकै बढेको छ। पाँच वर्षमा सहकारी ठगीमा मुद्दा १० गुणाले बढेको छ।

आर्थिक वर्ष २०७४/७५ मा सहकारी ठगीमा ५ वटा मुद्दा दर्ता भएका थिए। आर्थिक वर्ष २०७५/७६ मा ६ वटा र २०७६/७७ मा ८ वटा मुद्दा दर्ता भए। आर्थिक वर्ष २०७७/७८ मा मुद्दा शतप्रतिशतभन्दा धेरै बढ्यो। त्यो वर्ष प्रहरीले सहकारी ठगीमा २० वटा मुद्दा सरकारी वकिल कार्यालय हुँदै अदालत लगेको थियो। ६२ पुरुष र १५ महिला समातिएका थिए। मुद्दामा बिगो रकम भने १ अर्ब ११ करोड रुपैयाँ थियो।

अर्को वर्ष सहकारी ठगीको संख्या घटे पनि ठगि रकम उल्लेख्य रुपमा बढ्यो। आर्थिक वर्ष २०७८/७९ मा १५ सहकारीका सञ्चालकविरुद्ध मुद्दा दायर गरियो। ती मुद्दामा बिगो रकम ७ अर्ब ३९ लाख रुपैयाँ दाबी गरिएको थियो। त्यो वर्ष ठगीको आरोपमा सहकारीका सञ्चालक र कर्मचारी गरेर ४७ जना पक्राउ परेका थिए।

गत वर्ष २०७९\८० मुद्दा र ठगी रकम झनै बढेको छ। मुद्दा तेब्बरभन्दा धेरै बढ्नुका साथै ठगी रकम पनि उल्लेख्यरुपमा बढेको हो। गत आर्थिक वर्ष १८ अर्ब ८२ करोड, ७५ लाख रुपैयाँ बराबरको बिगो दाबी गरी सहकारी ठगीमा ५३ वटा मुद्दा गरिएको प्रहरीको तथ्यांक छ।