भारतका सराभनन मणि बने मिस्टर एसिया, १० प्रतिस्पर्धीलाई पछि पार्दै काठमाडौंमा उचाले उपाधि

बिजमाण्डू
२०८० भदौ २० गते १७:४६ | Sep 6, 2023
भारतका सराभनन मणि बने मिस्टर एसिया, १० प्रतिस्पर्धीलाई पछि पार्दै काठमाडौंमा उचाले उपाधि

काठमाडौं। मिस्टर एसियाको उपाधि भारतका सराभनन मणिले जितेका छन्। दरबारमार्गस्थित याक एण्ड यति होटलमा भएको ५५ औं एसियन शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस् च्याम्पियनसिप अन्तर्गतको मिस्टर एसियाको उपाधी भारतका सराभननले हात पारेका हुन्।

Tata
GBIME

शारीरिक सुगठन तर्फको विभिन्न १० तौल समूहका विजेताहरु बीच भएको मिस्टर एसियाको प्रतिस्पर्धा भएको थियो। मणिले १० जना प्रतिस्पर्धीलाई पछि पार्दै उपाधी जितेका हुन्। मणिले ९० केजी तौल समूमा विजयी हुँदै ओभरअल राउण्डमा प्रवेश गरेका थिए।

एसियन शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस् फेडेरेसनको आयोजना तथा नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासंघको व्यवस्थापनमा भएको स्पर्धामा पुरुषतर्फ नेपालले कुल २६० अंक हासिल गर्दै टिम च्याम्पियनसिपमा तृतीय हुन सफल भएको छ। पुरुष तर्फ भारत ७९५ अंकका साथ पहिलो र थाईल्याण्डले ५९० अंकका साथ तेश्रो स्थान प्राप्त गर्‍यो।

महिला तर्फ थाइल्याण्डले टिम च्याम्पियनसिपको उपाधी उचाल्यो। दोस्रो स्थानमा भियतनाम र तेश्रो स्थानमा हङकङ चीन रह्यो। आज सम्पन्न पुरुष एथलेट फिजिक्स १८२ सेमी नेपालका विप्लभ कार्कीले कास्य पदक जिते। यस विधामा पहिलो स्थानमा भारतका रामा सोमाशेखरले स्वर्ण र भुटानका टान्डिन वाङ्गचेनले रजत प्राप्त गरे।

नेपालले यस च्याम्पियनसिपमा ३ स्वर्ण ६ रजत र ५ कास्य पदक प्राप्त गर्न सफल भएको छ। विशाल पौडेलले जुनियर शारीरिक सुगठन, सनम मुलगुठीले स्विम सुट विधा, रनजी श्रेष्ठ ५५ केजी शारीरिक सुगठनले स्वर्ण जिते। सुरेश दुवाल ५५ केजी, अशिम बाबु गरुङ्गे ६० केजी, मनोज सुवेदी ६५ केजी, ललित धिमाल ७५ केजी, राजुराई फिटनेश फिजिक विधा, तारा खैजु मोडल फिजिक्सले रजत पदक प्राप्त गरेका थिए।

कमल भण्डारी ६० केजी, कृष्ण प्रसाद श्रेष्ठ ८० केजी, रञ्जित लामा फिटनेश फिजिक्स, विप्लभ कार्की एथलेटिक्स फिजिक, निहाल मान जोशी एथलेटिक्स फिजिकमा कास्य पदक प्राप्त गरेका थिए। च्याम्पियनसिपमा १७ राष्ट्रका १६८ पुरुष र ६८ महिला गरि २३६ खेलाडीहरुले विभिन्न ४५ विधामा प्रतिस्पर्धा गरेका थिए ।

शारीरिक सुगठनको प्रतियोगितामा पहिलो पटक ठुलो प्रतियोगिताको रुपमा रहेको च्याम्पियनसिपमा नेपाल सहित भुटान, चीन, हङकङ चीन, भारत, काजाकस्तान, मकाउ चीन, माल्दिभ्स, मलेसिया, म्यानमार, सिंगापुर, दक्षिण कोरिया, श्रीलंका, थाइल्याण्ड, ताजकिस्तान, उज्वेकिस्तान र भियतनामको सहभागिता थियो।

याक एण्ड यती होटलको रिगल बाल रुममा भएको च्याम्पियनसिपमा पुरुष तर्फ २८, महिला तर्फ १६ र मिक्स १ गरि ४५ विधामा प्रतिस्पर्धा भएको थियो।