
काठमाडौं। ऊर्जा जलस्रोत तथा सिँचाईमन्त्री शक्तिबहादुर बस्नेतले राष्ट्रिय गौरवको भेरी-बबई डाईभर्सन आयोजनाको काम दुई वर्षभित्र पूरा गर्ने गर्न निर्देशन दिएका छन्।।
आयोजनाको स्थलगत अनुगमनपछि मन्त्री बस्नेतले कर्मचारी र ठेकेदार कम्पनीलाई ठोस कार्ययोजना बनाएर काम सम्पन्न गर्न निर्देशन दिएका हुन्। सरकारले अब आयोजनाको म्याद नथप्ने उनले बताए।
‘डाइभर्सनको काम चाहेअनुसार अगाडि बढ्न सकेको छैन्। आगामी दुई वर्षभित्रमा काम सक्ने गरी कार्ययोजना बनाउनु पर्यो‚’ उनले भने, ‘कार्ययोजना अनुसार काम भए/नभएको रिर्पोट अनुसार मात्र म्याद थप्ने बारे कुरा हुन्छ, नत्र जति पनि म्याद थप्ने काम सरकारले गर्न सक्दैन।’
आयोजना प्रभावितहरुलाई मुआब्जा दिने काम यथाशीघ्र अघि बढाउन पनि उनले निर्देशन दिए। ‘प्रक्रिया पुगेका नागरिकलाई आयोजनाले अन्याय गर्ने काम हुँदैन। प्रक्रिया पुगेका प्रभावितहरुसँग सम्बन्धित फाइल अगाडि बढाइ मुआब्जा दिने काम होस्,’ मन्त्री बस्नेतले भने, ‘नागरिकलाई हाम्रो तर्फबाट मर्का पार्ने काम गरिनु हुँदैन।’
यो आयोजना निर्माणपछि बाँके र बर्दियामा सिँचाई सुविधा पुग्नेछ। आयोजनाबाट विद्युत उत्पादन समेत हुनेछ।