
काठमाडौं। नेपाल विद्युत प्राधिकरणले ‘सहर उज्यालो कार्यक्रम’ अन्तर्गत साढे ११ हजार वटा अत्याधुनिक सडक बत्ती (स्मार्ट स्ट्रिट लाइट) जडान गरेको छ ।
प्राधिकरणले स्थानीय तहहरुसँगको लागत साझेदारीमा सहरका मुख्य चोकहरुमा ६७ वटा हाइमास्ट लाइट जडान गरेको हो। सडक बत्ती राखिने संरचनाहरु निर्माणका लागि करिब ४२ करोड रुपैयाँ खर्च भएको जनाइएको छ।
प्राधिकरणले ‘सहर उज्यालो अभियान’अन्तर्गत पालिकाहरुसँगको समन्वय र साझेदारीमा मुख्य सडक, ऐतिहासिक सांस्कृतिक सम्पदाहरु, विश्व सम्पदा सूचीमा सूचीकृत तथा पर्यटकीय स्थानहरुमा सजावटयुक्त आधुनिक बत्ती (स्मार्ट लाइट) जडान गरिरहेको छ।
यसबाट सहरको सौन्दर्य अभिवृद्धि हुने, विद्युत् माग बढ्ने र रातिको खेर जाने विद्युत् पनि खपत हुने प्राधिकरणको विश्वास छ। प्राधिकरणले मठ मन्दिर र पर्यटकीय क्षेत्रहरुमा विशेष किसिमका बत्ती राख्नका लागि सर्भे र डिजाइन गरिरहेको छ ।
प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले देशबाट लोडसेडिङ अन्त्य गरिएपछि विद्युत् नपुगेको ठाउँको विद्युतीकरण र सहरी सौन्दर्य बढाउन स्थानीय तहहरुसँगको लागत साझेदारीमा स्मार्ट सडक बत्ती जडान कार्यक्रम सुरु गरिएको बताए। ‘घर-घरमा बिजुली बालेर मात्र नहुने रहेछ, सहरी सौन्दर्य तथा सुरक्षाका लागि सडक पनि उज्यालो हुनुपर्ने रहेछ। त्यसैले स्थानीय तहहरुको साझेदारीमा कार्यक्रम सुरु गरिएको हो। अहिल देशभरका स्थानीय तहहरुबाट सडक बत्ती जडानको माग आइरहेको छ‚’ उनले भने।
विद्युत् आपूर्तिलाई पर्याप्त, भरपर्दो, गुणस्तरीय र सुरक्षित बनाउन अल्प, मध्य र दीर्घकालीन योजनासहित काम गरिरहेको उनले बताएका छन्।
प्राधिकरणको प्रणालीमा रहेको फिडर प्यानलबाट स्वचालित रुपमा स्मार्ट लाइटलाई नियन्त्रण गर्न सकिन्छ। यसका लागि फिडर प्यानलहरु जडान गरिएको छ । सडक वत्तिका लागि मात्र छुट्टै ट्रान्सफर्मरहरु जडान गरिएका छन्।

स्मार्ट बत्ती प्राधिकरणको सर्भरसँग सिधै जोडिएको छ। सफ्टवेयरबाटै अँध्यारो हुँदा बल्ने र उज्यालो हुँदा निभ्ने स्वचालित व्यवस्था छ। सफ्टवेयरबाट विद्युतको महसुलको बिलिङ गरिन्छ । बत्ती बले/नबलेको अनुगमन पनि सफ्टवेयरबाटै गर्न सकिन्छ । विद्युत् महसुल सम्बन्धित पालिकाहरुले तिर्ने छन् ।
ललितपुर‚ पोखरा महानगरपालिका, धनगढी उपमहानगरपालिका र कन्काई, बेलका, भीमेश्वर, भीमदत्त तथा फिदिम नगरपालिकामा सडक बत्ती जडान सकिएको प्राधिकरणले जनाएको छ।
भरतपुर महानगरपालिका र महालक्ष्मी, बुढानीलकण्ठ, सिद्धार्थनगर तथा मन्थली नगरपालिकामा स्मार्ट सडक बत्ती जडान कार्य अन्तिम चरणमा छ। काठमाडौंसहित ३ महानगर, ३ उपमहानगर र १३ नगरपालिकासँग लागत साझेदारीमा स्मार्ट सडक बत्ती जडानका लागि सम्झौता भइसकेको छ।
सडक विभाग, ललितपुर महानगरपालिका र प्राधिकरणको साझेदारीमा विस्तारित चक्रपथको बालकुमारी–बल्खु सडकखण्डमा स्मार्ट सडक बत्ती जडानका लागि सम्झौता भई जडान सुरु गर्न लागिएको छ।
सडक बत्ती जडानको लागतमध्ये ७५ प्रतिशत महानगरपालिकाले र प्राधिकरणको २५ प्रतिशत लगानी लगानी साझेदारी छ। उपमहानगरपालिकामा भने कुल लगानीको ३० प्रतिशत प्राधिकरणको साझेदारी छ।
नगरपालिकामा ६५ प्रतिशत सम्बन्धित नगरपालिकाको र ३५ प्रतिशत प्राधिकरणको लगानी साझेदारी छ। यसैगरी, गाउँपालिकामा ६० प्रतिशत सम्बन्धित गाउँपालिका र ४० प्रतिशत लगानी प्राधिकरणले बेहोर्ने छ।
लागत अनुमान, प्रविधिको छनोट, खरिद र निर्माणको सुपरीवेक्षण प्राधिकरणले गर्ने छ । जडान गरिएका सडक बत्तीको पाँच वर्षसम्म मर्मतसम्भार निर्माण व्यवसायी कम्पनीले गर्ने छ। नगरपालिकाहरुले आफै शतप्रतिशत लगानी गरेर बोलपत्र गरेमा प्राधिकरणले बोलपत्र प्रक्रिया र सुपरिवेक्षणका लागि प्राविधिक सहयोग उपलब्ध गराउने छ।
पोखराका स्मार्ट सडक बत्ती उद्घाटन
नेपालको प्रमुख पर्यटकीय नगर पोखरालाई हाइमास्ट र स्मार्ट सडक बत्ती (स्मार्ट स्ट्रिट लाइट)बाट झिलिमिली बनाउन सुरु भएको छ। ‘उज्यालो पोखरा अभियानअन्तर्गत’ पोखराका मुख्य चोकहरुमा जडान गरिएका हाइमास्ट र सडकमा बत्तीको उद्घाटन गरिएको छ ।
पोखरा महानगर प्रमुख धनराज आचार्य र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आइतबार पोखराको नयाँ सडकमा आयोजित कार्यक्रममार्फत हाइमास्ट र सडक बत्तीको संयुक्त रुपमा उद्घाटन गरेका हुन्।

कार्यक्रममा नगर प्रमुख आचार्यले सडक बत्तीले पोखराको सौन्दर्यलाई अभिवृद्धि गर्नुका साथै सडक सुरक्षित बनाएको बताए। बाँकी स्थानमा बत्ती जडानका लागि दोस्रो चरणको कार्यक्रम सुरु गरिसकिएको उनले उल्लेख गरे।
कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले सडक बत्तीले पोखराको सौन्दर्यलाई अझै सुन्दर बनाउन र आपराधिक क्रियाकलाप नियन्त्रणका लागि सहयोग पुग्ने बताए। बत्तीको मर्मतसम्भारमा विशेष ध्यान दिन उनले आग्रह गरे।
घिसिङले पोखराको सौन्दर्य वृद्धिका लागि विद्युतीय तारलाई भूमिगत गर्ने कार्य भइरहेको बताए। विद्युत् आपूर्तिमा गुणस्तर सुधारका लागि संरचना निर्माणमा केही ठाउँमा भइरहेको अवरोध हटाउन आवश्यक सहयोग र सहजीकरण गरिदिन उनले महानगरपालिकालाई आग्रह गरे।
पोखरा महानगरपालिका र प्राधिकरणको साझेदारीमा पोखराका २३ वटा मुख्य चोकहरुमा १६ मिटर अग्लो पोलमा चारै दिशामा उज्यालो छर्ने अत्याधुनिक २३ वटा हाइमास्ट लाइट जडान गरिएको छ।
महानगरभित्रको ६० किलोमिटर मुख्य सडकमा २ हजार ७ वटा सडक बत्ती जडान गरिएको छ। जसमध्ये ऊर्जा दक्षतायुक्त ९० वाट र १२० वाटका स्मार्ट बत्ती रहेका छन् । सडक बत्ती जडान अयोजनाको लागत १४ करोड ६५ लाख रुपैयाँ छ।
कम विद्युत् खपत गर्ने तर उज्यालो बढी दिने बत्ती जडान गरिएको हो। स्ट्रिट लाइटले रातको समयमा सडकको यात्रा सुरक्षित र सडक तथा शहरी सौन्दर्यलाई बृद्धि गरी पोखराको रात्रिकालीन सौन्दर्यता बढाउने छ। पोखरा महानगरपालिकाले सडक बत्तीको महसुल तिर्ने व्यवस्था गरिएको छ।
प्राधिकरणको प्रणालीमा रहेको फिडर प्यानलबाट स्वचालित रुपमा स्मार्ट लाइटलाई नियन्त्रण गर्न सकिन्छ । यसका लागि ३२ वटा फिडर प्यानल जडान गरिएको छ । सडक बत्तीका लागि मात्र छुट्टै ट्रान्सफर्मर जडान गरिएको छ। स्मार्ट बत्ती प्राधिकरणको सर्भरसँग सिधै जोडिएको छ।