भारतमाथि नेपालको त्यो जित, यो खेल : द्रविड, देशाइ र दुई राष्ट्र गान

मुकुन्द घिमिरे
२०८० भदौ १७ गते २१:४४ | Sep 3, 2023
भारतमाथि नेपालको त्यो जित, यो खेल : द्रविड, देशाइ र दुई राष्ट्र गान


काठमाडौं। एसियाका स्थायी प्रतिस्पर्धी भारत र पाकिस्तानबीचको क्रिकेट खेललाई दशकौं अघिदेखि पछ्याउनेहरु नेपालमा छन्। दुवै देशका खेलाडीलाई आदर्श मान्ने क्रिकेटर नै पनि नेपालमा धेरै छन्।

Tata
GBIME

ग्लोबल क्रिकेटमा सामान्य चासो राख्ने समर्थकहरूले दशक अघिसम्म सोध्ने र पटक पटक गर्ने प्रश्न हो – नेपालले भारत पाकिस्तानसँग कहिले खेल्छ?

जवाफ यसपालाको एसिया कपले दिएको छ। उसो त सन् २०१४ मा विश्वकप नेपालले पनि खेलेको थियो। तर त्यसबेला नेपालका प्रतिस्पर्धी भारत, पाकिस्तान थिएनन्।

यसपाला भने नेपालले एक दिवसीय वरीयताको शीर्ष टोली पाकिस्तानसँग खेलिसकेको छ भने अर्को प्रतिस्पर्धी छ भारत।

भारतमाथिको त्यो जित र यो खेल

नेपालले भारतविरुद्ध कुनै क्रिकेट म्याच जितेको छ? जवाफ हो – छ।

सन् २०१७ नोभेम्बर १२। नेपाली यु-१९ टोलीले भारत यु-१९ लाई एसिया कपमा हराउँदा अधिकांश भारतीय सञ्‍चार माध्यमहरुको हेडलाइन थियो – भारतको अनपेक्षित हार।

अझ भारतीय सञ्‍चार माध्यम द क्‍विन्टले नेपाली टोलीले भारतलाई हराएको खेललाई यदि बक्सिङमा हुन्थ्यो भने रेफ्रीले यो खेल खेल्न अनुमति दिन्थेन भनेर लेखेको थियो। अर्थात् भारतले नेपाललाई निकै तल सोचेको थियो।

दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको नेपाली क्रिकेट टोलीले एक दिवसीय खेलमा भारतलाई हराएको थियो। नेपालले दिएको १८६ रनको लक्ष्य पछ्याएको भारत १६६ रनमा अलआउट हुन पुगेको थियो। तत्कालीन कप्तान ऐरीले ब्याटिङतर्फ १०१ बलमा ८८ रन बनाएका थिए भने बलिङमा ४ विकेट लिँदै ३९ रन दिएका थिए।

त्यसबेला भारतलाई हराएको टोलीका ऐरीसहित आशिफ शेख, रोहित पौडेल, भीम सार्की र सन्दीप लामिछाने हाल एसिया कपको नेपाली टोलीमा छन्। उक्त समय भारतीय टोलीबाट खेलेका भने कुनै पनि खेलाडी हालको टोलीमा छैनन्।

त्यो खेल र अहिलेको एसिया कपको अर्को साझा कुरा छ – प्रशिक्षक। नेपाली टोलीका प्रशिक्षक मोन्टी देशाइ त्यसबेला नेपाली यु-१९ टिमका ब्याटिङ कन्सल्टेन्ट थिए। अर्को संयोग भारतीय यु-१९ टोलीका प्रशिक्षक थिए भारतकै पूर्वकप्तान राहुल द्रविड। द्रविड हाल भारतीय टोलीका मुख्य प्रशिक्षक छन्।

श्रीलंकामा नेपालीले हेर्नेछन् ड्रिम गेम

नेपालले भारतसँग खेलेको हेर्न कति इच्छुक छन् भने श्रीलंका जान चाहने दर्शकको भीडले पनि देखाउँछ। नेपालबाट श्रीलंका जाने विमान खचाखच भरिएका छन्।

एक महिनाभन्दा अघिबाटै ट्राभल एजेन्सीले श्रीलंका भ्रमणका लागि प्याकेज ल्याएका थिए। र, नेपाली त्यहाँ जाने क्रम त्यत्तिकै छ।

अघिल्लो हप्ता नेपाल एसोसिएसन अफ टूर एन्ड ट्राभल एजेन्ट्सका अध्यक्ष रमेश थापाले एसिया कप हेर्न जाने नेपालीको माग उल्लेख्य रूपमा वृद्धि हुँदै गएको बताएका थिए।

‘एसिया कपमा नेपाली टोलीको पनि सहभागिता भएका कारण दर्शकको चहलपहल उल्लेख्य देखिन्छ। अन्तर्राष्ट्रिय उडान अहिले खचाखच नै छ,’ अध्यक्ष थापाले बिजमाण्डूसँग भनेका थिए, ‘हवाई मार्गसँगै स्थल मार्गबाट पनि नेपाली दर्शक गइरहेका कारण निश्चित संख्या आकलन गर्न बाँकी नै छ।’

पाकिस्तानसँग चुकेको एटिच्युड, भारतसँग के?

एसिया कप खेल्न पाकिस्तान जाने दिन नेपाली टोलीका प्रशिक्षक मोन्टी देशाइलाई पत्रकारहरूले सोधे – एसिया कपमा नेपालको अपेक्षा के?

देशाइले रणनीतिक जवाफ दिए – म चाहन्छु नेपाली खेलाडीले आफ्नो एटिच्युडलाई कायम राखुन्।

उनले यही कुरा पाकिस्तान पुगेर पाकिस्तानी पत्रकारसामु पनि राखे। जितको गुञ्‍जायस नभए पनि राम्रो क्रिकेट आफ्नो एटिच्युडमा खेलुन् भन्ने अपेक्षा भएको देशाइको भनाइ थियो।

पहिलो खेलमा नेपाल पाकिस्तानविरुद्ध मुल्तान क्रिकेट स्टेडियममा उत्रियो। सुरुवाती ब्याटिङमा उत्रिएको पाकिस्तानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३४२ रन बनायो।

लगभग सुरुवाती ३० ओभरसम्म राम्रै खेलेको नेपाललाई पाकिस्तानी कप्तान बाबर आजम र इफ्तिकार अहमेद जमेपछि भने आपतै पर्‍यो। आजमले डेढ सय रन बनाउँदा अहमेदले पनि शतक प्रहार गरे।

यस क्रममा नेपालले केही उत्कृष्ट फिल्डिङ गरेर विकेट पनि लियो तर समग्रमा भने बलिङ र फिल्डिङमा नेपाल अत्तालिएको स्पष्ट देखिन्थ्यो। यो स्वाभाविक पनि थियो।

नेपाली टोलीका कप्तान रोहित पौडेलले खेलअघि भनेका थिए, ‘नेपाल र पाकिस्तान बीचको अन्तर भनेकै अनुभवको हो।’

नेपाल जवाफी ब्याटिङमा उत्रिएपछि त झन् यो पुष्टि नै भयो। एकपछि अर्को विकेट गुमाएको नेपाल २३.४ ओभरमा १०४ रनमा अलआउट भयो। र, पाकिस्तान २३८ रनले विजयी बन्यो। यो खेलमा बाबर आजम (१५१ रन) र इफ्तिकार अहमेद (१०९ रन)ले नेपालको कुल रनभन्दा पनि धेरै रन बनाए।

खेलपछि देशाइले विश्‍वस्तरीय बलरलाई फेस गरिरहँदा ब्याट्सम्यानले एक स्तरसम्म योजना अनुसार नै खेलेको बताए।

‘हाम्रो बलरहरू योजनाअनुसारले एक हदसम्म खेले पनि। सुरुवात राम्रो भएको थियो,’ देशाइले भने, ‘हामीलाई निराश बनाएको एउटा क्षेत्र फिल्डिङ हो। फिल्डिङ राम्रो भएको थिएन। यो स्टेजमा आएर खेल्नु उनीहरूको सपना थियो। त्यो आज सुरु भएको छ।’

भारतसँग खेल्नुअघि भने भारत पाकिस्तानको खेल पनि हेर्ने अवसर प्लस प्वाइन्ट हुने भन्दै देशाइले ‘लिटल मोर बेटर सो’ भारतविरुद्ध हुने बताए।

रोहित‚ आदर्श‚ रोहितसँगको खेल

नेपाली टोलीका कप्तान रोहित पौडेलको आदर्श खेलाडी हुन् भारतीय कप्तान रोहित शर्मा। सोमबार पौडेल शर्माविरुद्ध टस गर्न उत्रनेछन्। यसका लागि उत्साहित भएको उनले सुनाए।

बलर ललित राजवंशी पाकिस्तानविरुद्धको खेलले धेरै कुरा सिक्ने अवसर मिलेको भन्दै भारतविरुद्धको खेलको लागि उत्साहित रहेको बताउँछन्।

‘यो खेलमा पनि योजना पाकिस्तानसँगको जस्तै हुनेछ। पाकिस्तानसँगको खेलमा भन्दा पनि राम्रो प्रदर्शन हुनेछ भन्ने विश्वास लिएको छु,’ राजवंशीले भने, ‘विराट कोहली, रोहित शर्मा जस्ता खेलाडीलाई बलिङ गर्नु भनेको चुनौतीभन्दा पनि अवसर भन्छु। उनीहरूले कसरी ट्याकल गर्छन्, हामीले कसरी ट्याकल गर्ने भन्ने सिकिन्छ।’

अहिलेसम्म खेलेको एउटा लेभल भएको र एसिया कपमा रियल क्रिकेट खेलको अनुभव भएको राजवंशीको बुझाइ छ।

पाकिस्तानविरुद्ध महत्त्वपूर्ण प्रदर्शन गरेका थिए सोमपाल कामीले। एक दिवसीय अन्तर्राष्ट्रियमा विश्व नम्बर एक बाबर आजमको विकेट उनैले लिएका थिए। विकेट लिँदा खुसी भए पनि त्यो धेरै ढिला भएको सोमपालको बुझाइ छन्।

‘हामी यहाँ कसरी पुगेको हो र यहाँ सर्भाइभ गर्न के गर्नुपर्छ भन्ने हामी सबैलाई थाहा छ,’ सोमपालले भने, ‘भारतसँगको खेलका लागि एकदमै उत्साहित छु र सबै जना एक्साइटेड छन्। हामी बेस्ट दिनेछौँ। रिजल्ट हाम्रो हातमा छैन।’

द्रविड, देशाइ र दुई राष्ट्र गान

भारतका प्रशिक्षक द्रविड र देशाइको यु-१९ एसिया कपमा नेपाल र भारतको पक्षबाट आमनेसामने भइसकेको छ। देशाइ द्रविडबाट प्रभावित भएको बताउँछन्।

‘राहुल द्रविडले ममाथि ठूलो इम्प्याक्ट पारेका छन्। मैले उनीसँग राजस्थान रोयल्समा छँदा काम गरेको थिएँ। अहिले पनि केही एड्भाइस लिनुपरे सम्पर्क गर्छु,’ देशाइले एसिया कप जानुअघि भनेका थिए, ‘पछिल्लोपटक यु-१९ मा खेल्दा उनी विपक्षी टोलीको प्रशिक्षक थिए। हाम्रो जितपछि उनले हामी सबैलाई बधाइ दिएका थिए। यसपाला जब भेट हुनेछ क्याजुअल गफ हुनेछ।’

देशाइ भारतीय नागरिक। नेपालले भारतविरुद्ध नै खेल्दैछ। कस्तो महसुस होला?

‘यो म्याचमा राष्ट्रिय गानको कुरा आउँदा म दुवै देशको राष्ट्रिय गान गाउनेछु,’ देशाइले कूटनीतिक जवाफ दिए।