गाउँघरमा आफै जनै बनाउने चलन कम हुँदै, आयातित जनैले धान्यो बजार

रासस
२०८० भदौ १४ गते १०:१३ | Aug 31, 2023
गाउँघरमा आफै जनै बनाउने चलन कम हुँदै, आयातित जनैले धान्यो बजार

मध्यविन्दु । जनैपूर्णिमाका लागि गाउँघरमा आफै जनै बनाउने प्रचलन कम हुँदै गएको जाँदा भारतबाट आयात गर्नुपर्ने अवस्था सिर्जना भएको छ।

Tata
GBIME
Nepal Life

जनै घरमा नै तयार पार्ने प्रचलन हराउँदै गएपछि बाह्य उत्पादनको भर पर्नुपर्ने अवस्था आएको नवलपरासी (बर्दघाट सुस्तापूर्व)कावासोती नगरपालिका–६ का खुमकान्त गौडेलले बताए। पाँच वर्ष अगाडिसम्म जनै बनाएर आफन्त सबैलाई पुर्‍याउँदै आएको भए पनि पछिल्लो समय बजारबाट खरिद गरी प्रयोग गर्ने गरेको गौडेलले बताए।

‘आजकालका युवाले नियमित जनै लगाउनै छाडे’, उनले भने, ‘पहिले घरमै धागो ल्याएर बाटोमा पनि बाट्दै हिँडिन्थ्यो। अहिले कसैलाई फुर्सद नै छैन।’

गाउँमा अहिले जनै बाट्नै छाडिसकेको गौडेलले बताए। जनैपूर्णिमाका लागि बजारबाट मेसिनले बाटेको जनै खरिद गरेर ल्याएको उनले बताए।

बजारमा विदेशबाट आयातित र विभिन्न मेसिन तथा उपकरण प्रयोगबाट बनाइएका जनै फरक-फरक मूल्यमा पाउन सकिन्छ। बजारमा मेसिनबाट बनाइएको जनै प्रतिगोटा मूल्य ६ रुपैयाँ र हातले बनाएको जनै प्रतिगोटा १५ रुपैयाँ रहेको गणेश धार्मिक पसलका नारायण खनालले बताए।

‘जनैपूर्णिमाका दिन फेर्ने जनैको बजार पछिल्ला वर्षमा बढ्दो रहेको छ’, उनले भने, ‘अहिले बजारमा बुटवलबाट आयात गरिएको स्वदेशी उत्पादनदेखि भारतबाट आएका जनै र रक्षाबन्धन धागो आउने गरेको छ।’

नयाँ जनै फेर्नुपर्ने हिन्दू संस्कारमा रहिआएको मान्यता अनुसार जनैपूर्णिमाका लागि जनैको कारोबार पनि ठूलै हुने गरेको पाइन्छ। मंगलबार र बुधबार जनै किन्नेको ठूलै भीडभाड रहेको व्यवसायी खनालले बताए।

पण्डित बुद्धिसागर भण्डारीले अहिले मेसिनको प्रयोगबाट बन्ने जनै लगाउनु बाध्यता भएको बताए।

‘आफ्नै हातले धागो सङ्ग्ल्याएर, कत्वामा बाटेको जनै नै राम्रो हो। हिजोआज मेसिनको प्रयोगबाट जनै लगाउनु बाध्यता भइसक्यो’, उनले भने।

पण्डितका अनुसार भारतबाट आउने जनै निकै सस्तो हुन्छ। ‘तर त्यसको बनावटी राम्रो र उपयुक्त हुँदैन,’ उनले भने।

उनले आधुनिकतासँगै संस्कृति परिवर्तन हुँदै जाँदा चिन्ता लागेको बताए।