
संसारमै प्रसिद्ध सवारी उत्पादक कम्पनी टोयोटाले आफ्नो उत्पादन प्रणालीमा समस्या कारण जापानका आफ्ना सबै एसेम्बली प्लान्टको सञ्चालन स्थगित गरेको छ।
गत मार्चमा कम्पनीले साइबर आक्रमणका कारण उत्पादन स्थगित गरेको थियो। तर हाल भने आफ्नो उत्पादन स्थगित गर्नुमा साइबर आक्रमण कारण हुन नसक्ने कम्पनीले प्रारम्भिक अनुमान गरेको छ।
एनएचके वर्ल्डका अनुसार ‘सिस्टम फेलियर’का कारण कम्पनीले उत्पादन रोकेको हो। यस्तै, गाडी उत्पादनको लागि आवश्यक पर्ने कम्पोनेन्टहरू अर्डर गर्न नसक्दा उत्पादन प्लान्टहरु बन्द गर्नु परेको पनि अनुमान गरिएको छ।
कम्पनीको उक्त कदमले विश्वको सबैभन्दा ठूलो बिक्री हुने कार निर्माताको घरेलु उत्पादनलाई ठप्प पारेको छ। मंगलबार बिहानदेखि टोयोटाले जापानमा आफ्नो १४ वटा एसेम्बली प्लान्टहरू मध्ये १२ मा सञ्चालन स्थगित गरेको हो। तर त्यो बाँकी दुई वटा प्लान्ट पनि बुधबारदेखि बन्द हुने कम्पनीले जनाएको छ।
कम्पनीले बन्द भएका प्लान्टहरु कहिलेदेखि सञ्चालनमा ल्याउने भन्ने कुरा खुलाएको छैन्। साथै प्लान्ट ठप्प हुँदा कति उत्पादन गुम्ने पनि कम्पनीले केही नखुलाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्।
जापानमा कम्पनीका १४ वटा प्लान्टले विश्वमा टोयोटा गाडी उत्पादनको एक तिहाइ हिस्सा ओगट्ने अनुमान छ। जापानमा टोयोटाको उत्पादनमा धेरै समस्या पनि आइरहेका थिए।
गत वर्ष यसको एक आपूर्तिकर्ता साइबर आक्रमणबाट प्रभावित भएपछि यसको सञ्चालन प्रभावित भएको थियो। एक दिनको अवरोधले करिब १३ हजार युनिट कारहरूको उत्पादन नोक्सान गर्ने अनुमान गरिएको छ।
गत वर्ष पनि टोयोटाले चीनको आर्थिक हब सांघाईमा कोरोना भाइरसले गर्दा भएको लकडाउनको कारण सेमी कन्डक्टरको अभावले जापानमा आफ्ना केही उत्पादन लाइनहरूमा अपरेसनहरू बन्द गरेको थियो।
टोयोटा ‘जस्ट-इन-टाइम’ उत्पादन प्रणालीको अग्रगामी हो, जसले लागत कम राख्छ तर कम्पोनेन्टहरूको डेलिभरी अवरुद्ध हुँदा पनि यस्ता समस्याहरूको सामना गर्न सक्छ।