‘प्रसाईंले ५५ जना मारवाडीको सूची तयार पारेर निसाना बनाउँदैछन्, तर सरकार कारवाही गर्दैन’

अन्नतराज न्यौपाने
२०८० भदौ १० गते १०:३४ | Aug 27, 2023
‘प्रसाईंले ५५ जना मारवाडीको सूची तयार पारेर निसाना बनाउँदैछन्, तर सरकार कारवाही गर्दैन’


विराटनगर। पूर्वका व्यवसायीले मारवाडी समुदायलाई तथानाम गाली गरिरहेका झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई कारबाही नगरेर सरकार अकर्मण्य र मूकदर्शक बनेको भन्दै आपत्ति जनाएका छन्।

Tata
GBIME

एमालेको उद्योग, वाणिज्य तथा आपूर्ति विभागद्वारा विराटनगरमा आयोजित छलफलका सहभागीले प्रसाईंले खास जाति र समुदायप्रति खुला रूपमा हिलो छ्यापिरहेको भन्दै क्षोभ व्यक्त गरे।

उनीहरूले मारवाडी समुदायबारे प्रसाईंले अनर्गल प्रचार गरिरहे पनि सरकार मौन साधेर बस्नु दुर्भाग्यपूर्ण भएको बताए।
कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्व अर्थमन्त्री डा. युवराज खतिवडा सहभागी थिए।

विभागका इन्चार्ज, पूर्व राज्यमन्त्री एवम् उद्योगी मोती दुगडको प्रश्न थियो, ‘यहाँ त व्यवसायीलाई त्यो पनि हामी मारवाडी व्यवसायीलाई टार्गेट बनाएर चोर र खत्तमको संज्ञा भिराइँदैछ। ५५ मारवाडीको सूची बनाइएको छ भन्ने भाषण पनि सुनियो।त्यसमा अरू पनि थपिँदैछन् भन्ने पनि सुनिँदैछ । सरकार पुरै अकर्मण्य र मूकदर्शक छ। यहाँ के हुन लाग्दैछ ?’

पूर्व राज्यमन्त्री दुगडले थपे, ‘आफ्नो पाप, कलंक र अपराध छिपाउन अरूलाई अपराधी बनाउनु कत्तिको ठिक छ ? तर यहाँ यही भइरहेको छ। यसरी हामीलाई जात नै तोकेर कसैले गाली गर्दा सरकार मूकदर्शक भएर कानमा तेल हालेर सुतेको छ।’
इन्चार्ज दुगडले के यो मुलुक मारवाडी समुदायका व्यवसायी र नागरिकको होइन भन्ने प्रश्न गरे।

उनले के हामी दुई नम्बर नागरिक हौँ भन्दै आक्रोश व्यक्त गरे। उनले अन्य मुलुकमा करदातालाई भीभीआइपीको सम्मान दिइन्छ तर हाम्रा मुलुकमा अपराधी करार गरिन्छ भन्ने गुनासो गरे।

‘अपराध प्रमाणित भएपछि अपराधी करार गरिएको भए त हुन्थ्यो नि,’ उनको भनाइ थियो, ‘पहिले नै अपराधी भनेर प्रचार गरिन्छ। पहिले थुनिन्छ अनि अनुसन्धान गरिन्छ। यिनीहरू कतै भाग्दैनन् भन्ने जानेर पनि थुनिन्छ।’ उद्योगी दुगडले यसरी थुनिएको व्यवसायी क्लिन चिट पाएर फर्किंदासम्म उसको व्यवसाय डामाडोल भइसक्छ भन्ने विचार व्यक्त गरे।

उनले मारवाडी समुदायका व्यवसायीलाई कतिपयको त नाम र थर नै तोकेर चोर, फटाहा, ब्ल्याकमेलर भन्ने गरिएको दुखेसो गरे। उनको चुनौती थियो, ‘हामी साँच्चैका चोर, फटाहा र ब्ल्याकमेलर हौँ भने हामीलाई जेल हालियोस्, जेल भर्न हामी तयार छौँ। नभए हाम्रा बारेमा अनर्गल लाञ्छना लगाउने र जथाभावी बोल्नेलाई कारबाही गरियोस्।’