रसियाले भन्यो : दुर्घटनाग्रस्त विमानमा वाग्नर प्रमुख प्रिगोजिन थिए, पुटिनविरुद्ध गरेका थिए विद्रोह

बिजमाण्डू
२०८० भदौ ७ गते ११:२१ | Aug 24, 2023
रसियाले भन्यो :  दुर्घटनाग्रस्त विमानमा वाग्नर प्रमुख प्रिगोजिन थिए, पुटिनविरुद्ध गरेका थिए विद्रोह
Photo : Telegram/Wagner


मस्कोको उत्तरपूर्वमा भएको विमान दुर्घटनामा निजी सैन्य फौज ‘वाग्नर’का प्रमुख येभ्गेनी प्रिगोजिन पनि रहेको रसियाली समाचार माध्यमहरुले जनाएका छन्।

Tata
GBIME

ट्रेभर क्षेत्रमा भएको दुर्घटनामा उनीसहित १० जना सवार थिए। विमानमा सवार सबै यात्रुको मृत्यु भएको छ। दुर्घटनास्थलबाट हालसम्म ८ जनाको शव फेला परेको छ। दुर्घटनाको कारण खुल्न सकेको छैन। प्रिगोजिनको मृत्यु भएकोबारे क्रेमलिनले भने कुनै प्रतिक्रिया दिएको छैन। यसबारेमा रसियाले एक समिति गठन गरेर अनुसन्धान गरिरहेको छ।

गत असारमा वाग्नर प्रमुख येभ्गेनीले रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध विद्रोह गरेका थिए। रसियाको तर्फबाट युक्रेनमा युद्ध लडिरहेको वाग्नर सुरक्षा फौजको उपस्थिति अफ्रिकी देशहरुमा पनि छ।

प्रिगोजिनले पुटिनको शासन ढाल्न जुनसुकै हदसम्म जाने बताएका थिए। पुटिनले रसियाली समाजलाई विभाजित गर्नेहरुविरुद्ध जस्तो सुकै कदम चाल्न तयार रहेको चेतावनी दिएका थिए। त्यसबेला धेरैले पुटिन कमजोर भएको प्रक्षेपण गरे पनि पुटिनले भित्रभित्रै शक्ति बढाउँदै लगेका थिए।

मस्कोलाई वाग्नरले नियन्त्रण गर्न सक्ने खबरबिच बेलारुसले प्रिगोजिनसँग छलफल गरि उनको मस्को कब्जा गर्ने उद्देश्यमा ‘ब्रेक’ लगाएको थियो। सहमति अनुसार वाग्नर लडाकूहरु मस्को प्रवेश गर्ने बाटोबाट फर्किनेछन् भने प्रिगोजिनमाथि गर्ने भनिएको कारवाही रसियाले रोक्ने जनाइएको थियो। त्यसपछि प्रिगोजिन पुटिनसँगै देखिएका पनि थिए।

प्रिगोजिनको मृत्युलाई पश्चिमा देशहरुले पुटिनले बदला लिएको संज्ञा दिइरहेका छन्। ह्वाइट हाउसले विमान दुर्घटनाको खबर आएको र प्रिगोजिनको मृत्यु ‘सरप्राइज’ नभएको जनाएको छ। बाइडेनले यो दुर्घटनाको पछाडि पुटिन संलग्न हुन सक्ने बताएका छन्।

पुटिनविरुद्ध विद्रोह गरेपछि प्रिगोजिनले बुधबारमात्रै पहिलो भिडियो सन्देश दिएका थिए। अफ्रिकामा रहेको उनको भिडियो टेलिग्राममा पोस्ट भएको थियो। सो भिडियोमा उनले अफ्रिकालाई वाग्नर सेनाले ‘थप स्वतन्त्र’ बनाइरहेको बताएका थिए।