काठमाडौं। एउटा समय थियो मुलुकका कुनै पनि जिल्लाबाट गाडी खरिद गर्न काठमाडौं उपत्यका पुग्नै पर्थ्यो। बाहिर न नयाँ गाडी किनबेच हुन्थे, न शोरुमहरु खुलेका थिए। अझ यात्रुवाहक सवारी खरिदका लागि उपत्यका पुग्नुको विकल्प थिएन। प्यासेन्जर सवारीको किनबेच अहिले काठमाडौं बाहिर धेरै सहरमा बिस्तार भइसकेको छ।
गाडी बिक्रेताले उपत्यका बाहिरका सहरमा एकपछि अर्को गरी शोरुम बिस्तार गर्न थालेका छन्। टाटा, हुन्डाइ, सुजुकी, बीवाइडी, एमजी, फोर्ड, महिन्द्रा, किया, टोयोटा, इसुजु, जीप, सिट्रोन, रेनो, फक्सवागन, होन्डा, स्कोडालगायत गाडी बिक्रेताहरु शोरुम बिस्तारमा सक्रिय छन्।
बिक्रेता कम्पनीले शो रुम आफैं खोल्ने भन्दा पनि स्थानीय व्यापारी तथा व्यवसायिक फर्मलाई नै डिलरसिप दिएर आफ्नो सञ्जाल बढाइरहेका छन्। उपत्यका बाहिर नारायणगढ, बुटवल, पोखरा, नेपालगन्ज, धनगढी, हेटौंडा, वीरगन्ज, इटहरी, विराटनगर, बिर्तामोड लगायत सहरमा गाडीका शोरुम बढ्दै गएका छन्।
स्थानीयस्तरमा बढेको आर्थिक क्रियाकलापले ती सहरमा गाडीको माग बढेको हो। आर्थिक क्रियाकलाप बढाएको कुनै उद्योगले भने होइन, मुख्यरुपमा घरजग्गा कारोबारले हो। वैदेशिक रोजगारीमा गएकाहरुले सहरमा घडेरी किनेपछि विकास भएको नयाँ बस्ती तथा होटल पूर्वाधारमा लगानीका कारण बढेको आर्थिक गतिविधिले गाडीका शोरुम बिस्तार हुन लागेका हुन्।
पोखरालाई काठमाडौंपछिको विकसित सहर मानिन्छ। पर्यटकीय नगरी पोखरामा होटल थपिने क्रम बढ्दो छ। साथै घरजग्गा किनबेच र अपार्टमेन्ट निर्माणमा पनि धेरै संलग्न छन्। मानिसको चहलपहल र आर्थिक कारोबार बढेकैले पोखरामा सवारीसाधनको माग बढिरहेको छ।
हुन्डाइ मोटर्सको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलका निर्देशक दीपक थपलिया उपत्यका बाहिर गाडीको बिक्री बढ्नुमा घर जग्गा कारोबार र व्यापार व्यवसाय थपिंदै जानुलाई मुख्य कारण ठान्छन्। हुन्डाइको ठूलो बजार अहिले काठमाडौंपछि पोखरा हो।
‘हाम्रो गाडीको बिक्री काठमाडौंपछि पोखरामा राम्रो छ,’ उनले भने, ‘जहाँ जग्गाको किनबेच धेरै हुन्छ ती सहरमा गाडीको बिक्री राम्रो छ,’ थपलियाले भने। हुन्डाइको अर्को राम्रो बजार नारायणगढ पनि हो। उपत्यका बाहिर हुन्डाइका १२ वटा डिलर छन्।
पाँच वर्षअघिको तुलनामा धेरैजसो सहर निकै फेरिएका छन्। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणपछि बुटवल धेरै विकसित भएको छ। सजिलोका लागि पहाडबाट बसाईसराई गर्ने क्रमले उतिकै तीव्रता पाएकाले बुटवल मात्र होइन, इटहरी, नेपालगन्ज, धनगढी लगायत सहर निकै घना भइसकेका छन्।
सुविधाको खोजीमा मानिस सहर पस्दा घरजग्गाको किनबेचदेखि अन्य व्यापार व्यवसाय पनि फस्टाउन पुगेको छ। आर्थिक क्रियाकलाप बढेकै कारण उपत्यका बाहिर गाडीको माग बढ्न पुगेको बिक्रेताहरु बताउँछन्। उपत्यका बाहिरका सहरमा गाडीको माग बढ्नुको कारण संघीय व्यवस्था कार्यान्वयन पनि हो। ‘मानिसहरु प्रादेशिक राजधानी केन्द्रीत हुन थालेका छन्। यसले होटल लगायत पूर्वाधार निर्माण बढ्दा हाम्रो व्यवसाय बिस्तारमा सहयोग पुगेको छ’, अग्नि ग्रुप अन्तर्गतको अग्नि इन्कर्पोरेटका उपनिर्देशक वरदान बस्नेत भन्छन्।
अग्नि ग्रुप नेपालका लागि महिन्द्रा गाडीको आधिकारिक बिक्रेता हो। बस्नेतका अनुसार महिन्द्राको सबैभन्दा ठूलो बजार उपत्यका बाहिर हो। महिन्द्राका ६० प्रतिशत गाडी उपत्यका बाहिरका सहरमै बिक्री भइरहेका छन्। अग्नि ग्रुपले मुख्य मुख्य सबैजसो सहरमा आफ्नो सञ्जाल बनाइसकेको छ। ‘महिन्द्राका धेरै गाडी बिक्री हुने भनेको इटहरी, पोखरा, बुटवल र दिपायलमा हो’, बस्नेतले भने।
टाटा गाडीको आधिकारिक बिक्रेता सिप्रदी ड्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले उपत्यका बाहिर गाडी खरिद गर्नेको संख्या बढ्दो क्रममा रहेको बताउँछन्। टाटाको सबैभन्दा ठूलो बजार अहिले पनि काठमाडौं नै हो। ‘तर पछिल्लो समय ट्रेन्ड सिफ्ट भइरहेको छ,’ उनले भने, ‘काठमाडौंपछि पोखरामा एग्रेसिभ रुपमा बिक्री बढेको थियो। अहिले नारायणगढमा सिफ्ट हुँदै गएको छ।’ उनका अनुसार बुटवल, इटहरी र विराटनगरमा पनि गाडीको बिक्री बढिरहेको छ।
उपत्यका बाहिर गाडीको बिक्री बढ्नुको कारण बैंक तथा वित्तीय संस्थाको पहुँच पनि हो । अहिले बैंक तथा वित्तीय संस्था नपुगेका ठाउँ छैनन्। मुख्य सहरमा त सबैजसो बैंकका शाखा कार्यालय छन्। कसैले त एउटै सहरमा एकभन्दा बढी शाखा सञ्चालन गरिरहेका छन्। यसले पनि गाडीको बिक्री वृद्धिमा सहयोग पुगेको सुजुकीको गाडी बिक्रेता नारायणी अटोमोबाइल्सका प्रमुख कार्यकारी निर्देशक अनुपकुमार बरालको बुझाइ छ।
‘पहिला गाडी खरिद गर्न बैंक तथा वित्तिय संस्थामा ऋण लिन उपत्यकामा धाउनैपर्ने स्थिति थियो। तर अहिले स्थानीय शाखाले नै सुविधा दिन थालेका छन्। यसले गाडीको बिक्री बढाउन मद्दत पुगेको छ,’ उनले भने।
बीवाइडी गाडीको बजार उपत्यकापछि नारायणगढ र पोखरा हुन्। बीवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले इटहरीमा पनि राम्रै बिक्री गरिरहेको कम्पनीकी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले बताइन्।
एमजी गाडी उपत्यकापछि नारायणगढमा बढी बिक्री हुन्छ। एमजी बिक्री गर्ने पारामाउन्ट मोटर्सका महाप्रबन्धक सचिन अर्यालले गाडीको आपूर्ति कम रहेकाले काठमाडौं बाहिरका सबैजसो सहरमा उस्तै संख्यामा बिक्री भइरहेको बताए।
गाउँ-गाउँमा सडकको पहुँच पुग्नु पनि गाडीको बिक्री बढ्नुको कारण हो। ‘रोड कनेक्टीभिटी र नयाँ बस्ती विकासले पनि हाम्रो बजार बढ्दै गएको हो,’ बस्नेतले भने। युवाहरुको विदेश पलायन बढेका ठाउँमा गाडीको बिक्री घटेको उदाहरण पनि छ। जस्तै लुम्बिनी प्रदेशमा महिन्द्राको प्यासेन्जर गाडीको बिक्री ५ वर्ष अघिको तुलनामा घटेको देखिन्छ।
कुन प्रदेशमा कति दर्ता?
सवारीसाधन गत वर्ष सबैभन्दा धेरै वाग्मती उपत्यकामा दर्ता भए। यातायात व्यवस्था कार्यालय एकान्तकुनामा मात्र ९ हजार ९९० प्यासेन्जर गाडी दर्ता भएको तथ्यांक छ। यस्तै उपत्यका बाहिर चितवनमा ७ हजार ६४२, हेटौंडामा १२२४ र खुर्कोटमा १३ वटा प्यासेन्जर सवारीसाधन दर्ता भएका छन्।
लुम्बिनी प्रदेशमा भने प्यासेन्जर गाडीको दर्ता घटेको छ। रुपन्देहीमा गत वर्ष १२७३ वटा मात्र दर्ता भएका छन्। त्यहाँ एकै वर्ष ३२८९ वटासम्म गाडी दर्ता भएको तथ्यांक छ। गत वर्ष दाङमा ८८ र बाँकेमा २२९ वटाभन्दा बढी गाडी दर्ता भएनन्। दाङमा यस अगाडि एकै वर्ष २४९४ र बाँकेमा ५०५० वटा गाडी दर्ता भएको तथ्यांक छ।
प्रदेश अन्तर्गतको यातयात कार्यालयको तथ्यांक अनुसार लुम्बिनीमा गत वर्ष कुल १५९० युनिट प्यासेन्जर सवारीसाधन दर्ता भएका छन्।
यस्तै आर्थिक वर्ष २०७८/७९ मा भने कुल २९६५ युनिट दर्ता भएका प्रदेशले जनाएको छ। कुनै समय यो प्रदेशमा वार्षिक ७ हजार २८६ युनिटसम्म प्यासेन्जर सवारी दर्ता भएका छन्।
यस्तै गण्डकी प्रदेशमा गत वर्ष २ हजार ८५४ युनिट प्यासेन्जर सवारीसाधन दर्ता भएका छन्। प्रदेशका अनुसार त्यसअघिको वर्ष भने जम्मा १५२४ युनिट दर्ता भएका थिए। त्यो संख्या झन्डै दोब्बरले बढेर गत वर्ष २८५४ युनिट दर्ता भएको प्रदेशले जनाएको छ।
यसैगरी मधेस प्रदेशमा ४ हजार ८५८ युनिट कार, जीप र भ्यान दर्ता भएका छन्। यस्तै यो प्रदेश अन्तर्गतका यातायात कार्यालयहरुमा विरगंजमा गत वर्ष १ हजार १६ युनिट, गौरमा १५ युनिट, जनकपुरमा सबैभन्दा धेरै ३८०० युनिट, लाहनमा २५ युनिट र राजविरजमा २ युनिट कार, जीप र भ्यान दर्ता भएका प्रदेशले जनाएको छ।
अर्को कोशी प्रदेशमा पनि गत वर्ष ७५९ युनिट प्यासेन्जर गाडी दर्ता भएका छन्।