नेपाली कांग्रेसले स्थगित गर्‍यो राष्ट्रव्यापी अभियान, विपदमा परेका नागरिकको सेवामा जुट्न निर्देशन

बिजमाण्डू
२०८० भदौ ५ गते १९:५१ | Aug 22, 2023
नेपाली कांग्रेसले स्थगित गर्‍यो राष्ट्रव्यापी अभियान, विपदमा परेका नागरिकको सेवामा जुट्न निर्देशन


काठमाडौं । नेपाली कांग्रेसले पार्टीलाई सुदृढीकरण गर्न तय गरेको राष्ट्रव्यापी अभियान स्थगित गरेको छ। भदौ १० गतेबाट २४ गतेसम्मका लागि तय भएको ‘समुदायमा कांग्रेस अभियान’ स्थगित गरिएको हो।

Tata
GBIME

प्रचार विभाग प्रमुख मीन विश्वकर्माले साउन २० गतेबाट १० दिनसम्म चलेको आन्तरिक विशेष अभियानबारे जानकारी दिँदै अभियान स्थगित गरिएको जानकारी दिएका हुन्।

‘अविरल वर्षा, बाढी पहिरो, डेंगु तथा आँखा पाक्ने रोगबाट व्यक्ति र समुदाय नै गम्भिररुपमा प्रभावित भएकोले हाल उनीहरुको सेवामा जुट्न सम्बन्धित तहका पार्टी संगठनहरुलाई आह्वान गर्ने र भाद्र १० देखि २४ सम्म गर्ने तय भएको “समुदायमा कांग्रेस” कार्यक्रम अर्को निर्णय नभएसम्मका लागि स्थगन गरिएको जानकारी गराइन्छ,’ प्रमुख विश्वकर्माले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

कांग्रेसले साउन १० मा समुदायमा कांग्रेस अभियान संचालन गर्ने निर्णय गरेको थियो। ‘नेपाली कांग्रेसको सांगठनिक सुदृढीकरणका लागि साउन २० देखि ३० आन्तरिक, भदौ १० देखि २४ समुदायमा कांग्रेस ‘राष्ट्रव्यापी अभियान’ संचालन गर्ने निर्णय गर्दछ,’ उक्त निर्णयमा भनिएको थियो।

१० दिने आन्तरिक विशेष अभियानमा खटिएकाबाट केन्द्रीय कार्यालयमा रिपोर्ट आउने क्रम जारी रहेको कांग्रेसले जनाएको छ। अभियानको क्रममा कांग्रेसले स्थानीय जनप्रतिनिधिले घोषणापत्रअनुसार काम गरे नगरेको जानकारीसमेत लिएको जनाइएको छ।