
काठमाडौं। झण्डै २० वर्षसम्म श्रम र पसिना खर्चिएको कम्पनी लाभांश दिने अवस्थामा पुग्यो। नियामकसँग लाभांश वितरणको स्वीकृति माग्दै फाइल पठायो।
तर, नियामकले लाभांशको फाइल स्वीकृत गरेन। उसको बढेको कारोबार र नाफामाथि शंका गर्दै अनावश्यक प्रश्न गर्यो- गलत नियत राखेर। नियामकबाट आएको चिसो प्रतिक्रियाले लगानीकर्ता निराश बनेका छन्।
सरकारका सबै नीतिनियम पूरा गरेर खडा भएको कम्पनी, जसले राज्यलाई पारदर्शी ढंगले कर तिरेको छ, उसलाई नियामकले देखाएको संदिग्ध व्यवहारले झस्काएको छ।
‘पारदर्शी रुपमा गरेको कारोबार र नाफाका बारेमा पनि प्रश्न झेल्नुपर्ने देशमा कसरी थप लगानी गर्नू?,’ ती संचालकले भने, ‘यति धेरै नाफा कसरी भयो भनेर हामीलाई पक्राउ गर्न पनि सक्छन्। त्यसैले हामीले विदेशमा लगानीको विकल्प खोजिसकेका छौं।’
उनी नेपालमा छोटो समयमा गुणात्मक फड्को मारेको कम्पनीका संचालक हुन्।
***
आर्थिक मन्दीका कारण व्यवसाय चौपट छ। खाद्यान्न, निर्माण सामग्री, सवारीसाधनको बिक्री सुस्त छ। कुनै पनि उद्योग व्यवसाय चलाउनका लागि आफ्नै स्रोत अभाव भएपछि बैंक तथा वित्तीय संस्थाबाट ऋण लिनै पर्छ।

कुनै पनि उद्योगी व्यवसायीले केही निश्चित योजना बनाएर बैंक ऋण लिएका हुन्छन्। निश्चित अवधिभित्र चुक्ता गर्ने गरी उनीहरुले पैसा चलाएका हुन्छन्। त्यसमा कुनै भवितव्य परेमा ऋण तिर्न कठिन हुन्छ। नियामकले नै व्यवहारिक कठिनाइ परेकाहरुलाई भन्दै ऋण पुनर्संरचनाको स्किम दिएको छ।
बैंक र ऋणीको आपसी सहमति र विश्वासमा ऋण पुनर्संरचना/पुनर्तालिकीकरण हुन्छ। असल ऋणीलाई जोगाउन बैंकहरु पनि तयार छन्। तर, आफैंले ल्याएको स्किम ‘मान्छेको अनुहार हेरेर’ राष्ट्र बैंकले उपयोग गर्न रोक लगाएको छ।
गभर्नर महाप्रसाद अधिकारीले छानीछानी ती उद्योगीको ऋण पुनर्संरचना नगर्न बैंकलाई दबाब दिएका छन्, त्यो पनि निश्चित समुदायका व्यवसायीलाई लक्षित गर्दै। राष्ट्र बैंकको त्यही दबाबका कारण उनी ‘डिप्रेसन’ को औषधि खान थालेका छन्। यहाँको सबै उद्योग व्यवसाय बेच्ने र ऋण तिरेर विदेश जाने मुडमा ती उद्योगी छन्।

उनै अधिकारी तीन वर्षअघि लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत हुँदा स्वदेशी र विदेशी लगानी भित्र्याउन जोडतोडले लागेका थिए। र, लगानी सम्मेलन पनि भएको थियो।
***
संसद भवन जहाँ नीति नियम बनाइन्छ। त्यो नीति नियम बनाउने ठाउँमा पनि उद्योगी व्यवसायी आक्रमणको निशानामा पर्छन्। त्यो पनि नाफामै केन्द्रीत भएर उद्योगी व्यवसायीमाथि निशाना बनाइन्छ। झण्डै पाँच महिनाअघि नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले उद्योगी विनोद चौधरीलाई लक्षित गर्दै ४० अर्ब नाफा भएपनि सरकारलाई तिरेको राजस्व थाहा नभएको भन्दै निशाना साँधे। चौधरी नेपाली कांग्रेसका निर्वाचित सांसद हुन्।
‘सत्ता गठबन्धनकै सांसदको ललितपुरको समिट हाउजिङको उपकरण चलाउँदा त्यहाँका स्थानीयले रातारात ज्यान जोगाउन भाग्नुपर्यो। ती सांसदको एक वर्षमा ४० अर्ब नाफा भयो रे,’ उनले भनेका थिए, ‘सरकारलाई कति राजस्व तिर्यो थाहा भएन। त्यो बारेमा सत्ता गठबन्धनले बोल्न जरुरी छ।’

फोर्ब्सको अर्बपति सूचीमा रहेका चौधरीले जेष्ठताका आधारमा सभापतित्व गर्ने विषयमा अरु सांसदले आपत्ति जनाए। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले पनि विरोध जनाए।
जनताबाट चुनिएर आएका चौधरी बैठकमा ह्युमिलेट भएका थिए। उनले स्वार्थ बाझिने विषयमा संसदमै छलफल हुनुपर्ने भन्दै आफ्ना धारणा राखे।
उद्योगी व्यवसायीमाथि यी सामान्य परिघटना हुन्। त्योबाहेकका भयानक प्लटहरु पनि तयार भएका छन्। त्यो देशका लागि अझ खतरनाक देखिन्छ।
***
पछिल्लो एक वर्षदेखि मारवाडी समुदायका व्यापारीलाई निशाना बनाउन थालिएको छ। निश्चित वर्ग र समूहले माडवारी व्यापारीले देशको साधन स्रोत कब्जा गरेको भाष्य निर्माण गरिएको छ। उद्यम र व्यवसाय मात्रै जानेका ती व्यवसायीलाई दुर्गा प्रसाईंले खुलेआम दुत्कारिरहेका छन्। उनले ५५ जना व्यापारीले देशको सबै स्रोत साधन कब्जा गरेर देश टाट उल्टिएको दाबी गरेका छन्। उनले भनेका दाबी पत्याउने भीड बढ्दो छ।
समाजले प्रसाईंको विगत भने हेरेको छैन। उनी अर्बपति कसरी बने? उनले विगतमा कसरी कमाएर मेडिकल कलेज चलाए? उनले मेडिकल कलेज चलाउन मारवाडी व्यवसायीले जस्तै कति ऋण लिएका छन्? यी सबै प्रश्न प्रसाईंका लागि भने गरिँदैन। उल्टै प्रसाईंले सुरु गरेको आतंकलाई सरकारका अंगहरुले पनि अनुशरण गर्न थालेका छन्। ती व्यवसायीहरु अहिले आत्तिएका छन्।

‘हामी कोही पनि सुरक्षित छैनौं। निश्चित प्लट तयार पारेर हामीलाई लान्छित गरिएको छ,’ एक मारवाडी उद्योगीले भने, ‘हामीले उद्यम र व्यवसाय मात्रै जान्यौं। त्यही नै हाम्रा लागि अहिले दुर्भाग्य बन्यो।’
उनका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धिकरण विभाग लगाएर तर्साउने योजना बनाइएको छ।
‘हाम्रा हजुरबुबा आएर यो देशमा उद्यम सुरु गरेका हुन्। सुरुमा ठूलो पुँजी ल्याएर यहाँ लगानी भएको होइन,’ उनले भने, ‘अहिले हामीलाई लोटा लिएर आएर खर्बपति भयो भन्दै लाञ्छना लगाइएको छ। त्यही आधारमा हामीलाई सबैतिरबाट आक्रमण गर्न थालिएको छ। हजुरबुबा, मेरो बुबा र मैले यही देशमा रगत र पसिना बगाएका छौं। तर अहिले आएर हामीलाई अनागरिकजस्तो ब्यवहार गर्न थालिएको छ।’
आक्रमणको निशाना बन्ने देखिएपछि सार्वजनिक रुपमा पनि मारवाडी व्यवसायी बोल्न थालेका छन्। राष्ट्रिय मारवाडी परिषद्का अध्यक्ष पवन मित्तलले मारवाडी व्यवसायीप्रति आक्रमण गरिएको बताए।
नेकपा एमालेले बुधबार राजधानीमा गरेको कार्यक्रमममा उनले भनेका थिए- ‘के हामी मारवाडी नेपाली होइनौं? हाम्रो राष्ट्रियता माथि आशंका गर्ने? उद्योग व्यवसाय चलाउनू, रोजगारी दिनू, कर तिर्नु अपराध हो?’