
काठमाडौं। एमालेले जारी राखेको सदन अवरोधलाई कांग्रेसले गैरजिम्मेवार भनेको छ। शुक्रबारबाट जारी संसदीय दलको बैठकले यस्तो निष्कर्ष निकालेको प्रमुख सचेतक रमेश लेखकले बताए।
‘सदनमा जनताको आवाज उठ्ने वातावरण बन्नुपर्छ। लामो समयसम्म सदन अवरुद्ध पार्नु गैरजिम्मेवारी हो,’ कांग्रेस संसदीय दलको निर्णय सुनाउँदै लेखकले भने।
सदन खुलाउन कांग्रेसले प्रमुख प्रतिपक्षी दल एमालेलाई विशेष अपिलसमेत गरेको छ। सदन अवरुद्ध भएका कारण एकातर्फ जनताका विषयमा कुरा राख्न पाएको छैन भने अर्कोतर्फ महत्त्वपूर्ण विधेयक कानुन बन्न सकेका छैनन्,’ उनले भने, ‘कांग्रेस संसदीय दलको बैठक अवरुद्ध संसद खोल्न पहल गर्ने निर्णय गर्दछ। प्रमुख प्रतिपक्षी दललाई सदन खुलाउन अपिल गर्दछ।’
यसैगरी कांग्रेस संसदीय दलले जग्गाको कित्ताकाट गर्ने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ।
एक क्विन्टल सुनको विषयमा कांग्रेसले सरकारी संयन्त्रबाटै छानबिन हुनुपर्ने निर्णय गरेको लेखकले बताए। ‘जोसुकैलाई अनुसन्धान र छानबिनको दायरामा हुनुपर्छ। केन्द्रीय अनुसन्धान ब्युरोले छानबिन जारी राखेको छ। यस घटनाबारे निष्पक्ष छानबिन गर्न कांग्रेसको संसदीय दलको बैठक विशेष अनुरोध गर्दछ,’ उनले भने।
उच्चस्तरीय छानबिन समितिबारे कुनै निर्णय भएन ? सञ्चारकर्मीको प्रश्नमा लेखकले भने, ‘हामीले सरकारलाई यो विषयमा सत्यतथ्य छानबिन गर्न गहिराईमा अनुसन्धान गर्न जुनसुकै संलग्न भए पनि अभियोजन गर्न भनेका छौं।’
कांग्रेसको निर्णयमा आफ्नो सांसद सुनिल शर्मा पक्राउ प्रकरणबारे केही उल्लेख गरिएको छैन। सांसद शर्मा बिहीबार प्रमाणपत्र कीर्ते गरेको आरोपमा पक्राउ परेका थिए। अदालतले म्याद नथपी शर्मालाई थुना बाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएको छ। संसदीय दलको बैठकको शुरुमै सांसद शर्मा पक्राउबारे विषय प्रवेश गरेको थियो।
पहिलो दिन कांग्रेस सांसदहरुले शर्मा पक्राउ गैरकानुनी भएको बताएका थिए। त्यसैगरी दोस्रो दिन आइतबार डा. शेखर कोइराला, प्रदीप पौडेललगायतले सांसद शर्मा पक्राउको विरोध जनाएका थिए।