निर्माण व्यवसायीका माग सम्बोधन गर्न प्रधानमन्त्रीको निर्देशन, सचिव रेग्मीको संयोजकत्वमा कार्यदल



बिजमाण्डू
२०८० साउन २९ गते १२:२८ | Aug 14, 2023
निर्माण व्यवसायीका माग सम्बोधन गर्न प्रधानमन्त्रीको निर्देशन, सचिव रेग्मीको संयोजकत्वमा कार्यदल

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्माण व्यवसायीले उठाएका विभिन्‍न माग सम्बोधनका लागि निर्देशन दिएका छन्। प्रधानमन्त्री दाहालले सम्पन्‍न कामको भुक्तानीका साथै अन्य माग सम्बोधनका लागि निर्देशन दिएका हुन्।

Tata
GBIME
Zonsen

सम्पन्‍न कामको भुक्तानी नपाएको भन्दै निर्माण व्यवसायी एक महिनादेखि आन्दोलनरत छन्। उनीहरुले प्रधानमन्त्री निवासदेखि संसद् भवन घेराउसम्मका विरोधका कार्यक्रम गरिसकेका छन्। आइतबार सिँचाइ विभागमा तालाबन्दी गर्न खोज्दा निर्माण व्यवसायी पक्राउ परेका थिए।

प्रधानमन्त्री दाहालले व्यवसायीले भुक्तानी नपाएको विषयमा आफू निकै गम्भीर रहेको बताउँदै समस्या समाधानका लागि निर्देशन दिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता नारायणप्रसाद भट्टले जानकारी दिए। उनका अनुसार मूल्य अभिवृद्धि करलगायत विषयमा अर्थ र सम्बद्ध विषयगत मन्त्रालयलाई आपसी समन्वयका आधारमा यथाशीघ्र माग सम्बोधन गर्न प्रधानमन्त्रीले निर्देशन दिएका छन्।

यस्तै, समस्या समाधानका लागि सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव डा दामोदर रेग्मीको संयोजकत्वमा कार्यदल गठन गरिएको छ। ६ सदस्यीय कार्यदलमा अर्थ, भौतिक पूर्वाधार, सहरी विकास लगायत विभिन्‍न विषयगत मन्त्रालयका सहसचिव सदस्य छन्। कार्यदललाई १५ दिनको समय दिइएको छ।

व्यवसायीले काम गरिसकेको करीब ५० अर्ब रुपैयाँ भुक्तानी पाउन बाँकी रहेको बताउँदै आएका छन्।