
काठमाडौं। सरकारले नारायणगढ-बुटवल सडक विस्तारको म्याद थपिदिएको छ। सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालका अनुसार उक्त सडक विस्तारका लागि ३५० दिन म्याद थप गरिएको हो।
थपिएको म्याद २०२४ जुलाई २१ सम्म हुनेछ। उक्त अवधिमा निर्माण कम्पनीले सडक विस्तार सम्पन्न गर्ने प्रतिबद्धता गरेपछि म्याद थप गरिएको ढकाल बताउँछन्। यो सडक विस्तारमा सरकारले यसअघि पनि म्याद थप गरेको थियो। निर्माण कम्पनीले राम्रो काम गरेको भन्दै अन्तर्राष्ट्रिय परामर्शदाताको सुझाव अनुसार म्याद थप गरिएको हो।
यस्तै पूर्वी खण्डको म्याद ३३० दिन थप गर्नेगरी छलफल अघि बढेको ढकालको भनाइ छ। परामर्शदाताले उनीहरुले पछिल्लो समय गरेको कामका आधारमा मूल्याङ्कन गरी यसरी म्याद थपका लागि सुझाव दिएको हो। त्यही अनुसार सरकारले म्याद थप गर्ने निर्णय गरेको ढकाल बताउँछन्।
हालसम्म ४ वर्षमा दुबै खण्डमा लगभग ३८ प्रतिशत मात्र काम सम्पन्न भएका छन्। यसमा सरकारले जसरी सोचेर ठेक्काको जिम्मा लगाएको थियो त्यसरी चिनियाँ कम्पनीले काम गर्न नसकेको छर्लङ्ग छ।
एसियाली विकास बैंकको ८५ प्रतिशत ऋण सहयोगमा विस्तारको काम भइरहेको ११४ किलोमिटर सडकमध्ये पूर्वी खण्डमा ६५ र पश्चिम खण्डमा ४९ किलोमिटर सडक पर्छ। यो आयोजनाको निर्माण ठेक्का चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले पाएको छ। १६ अर्ब ९९ करोड ५२ लाख रुपैयाँको लागतमा सडक विस्तार भइरहेको छ।

पश्चिम खण्डको सडक विस्तारको प्रगति ३५.११ प्रतिशत पुगेको आयोजनाका प्रमुख शशांक मिश्रले बताए। उनका अनुसार यो आयोजनाले हालसम्म १ अर्ब ९३ करोड ५९ लाख रुपैयाँ खर्च गरेको छ।
मिश्रका अनुसार २४४ वटा बक्स कल्भर्ट निर्माण गर्नुपर्नेमा १५२ वटाको मात्र निर्माण पूरा भएको छ। अझै ९२ वटा बक्स कल्भर्ट निर्माण गर्न बाँकी छन्। ९ वटा बनाउनुपर्ने स्ल्याब कल्भर्ट हालसम्म २ वटा मात्र पूरा भएको छ।
साना पुलहरुको निर्माण कार्यमा भने अपेक्षित प्रगति देखिएको मिश्र बताउँछन्। जसमा ३८ वटा निर्माण गर्नुपर्नेमा ३१ वटा सम्पन्न भएको छ। अब ७ वटा माइनर पुल निर्माण बाँकी छ।
यो आयोजनामा निर्माण गरिने लामा पुल ९ वटा छन्। जसमा हालसम्म ३ वटा निर्माण पूरा भएको छ।
उनका अनुसार साइड ड्रेन निर्माणको काम २० हजार ७७३ मिटरको सकिएको छ। यसको कुल ४० हजार ८०२ मिटरको छ। अब यसमा अझै २० हजार मिटर साइड ड्रेन निर्माण गर्न बाँकी छ।

यो पश्चिम खण्डमा १२.२६१ किलोमिटर सडक डबल लेन एकतर्फी रुपमा कालोपत्रे भएको मिश्र बताउँछन्। यस्तै १२.८५ किलोमिटर बेस कोर्स एकतर्फी रुपमा मात्र भएको छ। त्यसपछि कालोपत्रे गर्ने काम हुन्छ। यसलाई ग्राभेल पनि भनिन्छ।
यसैगरी सबबेस निर्माणको काम पनि एकतर्फी रुपमा १७.९९५ किलोमिटर र सबग्रेड २३.१२५ किलोमिटर एकतर्फी रुपमा सकिएको छ।
पूर्वी खण्ड विस्तार पनि लगभग ४० प्रतिशत कामको प्रगति भएको आयोजनाले जनाएको छ। यसमा हालसम्म २८ प्रतिशत अर्थात् २ अर्ब ५५ करोड ६४ लाख रुपैयाँ खर्च भएको छ। यस खण्डको कुल लगात ९ अर्ब १३ करोड रुपैयाँ हो।

यो खण्डमा विस्तार हुने चार लेनको सडकमा एकतर्फी रुपमा डबल लेन गरी १५ किलोमिटर सडक कालोपत्रे गर्ने काम सकिएको आयोजनाले जनाएको छ। यस्तै १३ किलोमिटर सडक एकतर्फी रुपमा डबल लेनको बेस कोर्स गर्ने काम सकिएको छ। यस्तै ५ किलोमिटर सडक भने कालोपत्रे गर्ने तयारीमा पुगेको आयोजनाले जनाएको छ।

यस खण्डमा १२ वटा ठुला पुल निर्माण गर्नुपर्नेमा ११ वटा पुलको फाउन्डेसन अर्थात् जग हाल्ने काम भइरहेको छ। जसमा ९ वटा सब-स्ट्रक्चर निर्माण भइरहेको छ। यो स्ट्रक्चर अन्तै कतै निर्माण गरेर त्यहाँ जग बनाएपछि राख्ने गरिन्छ।
यस्तै २२ वटा साना पुलमा १८ वटा पुलको काम सकिएको आयोजनाले जनाएको छ। साथै अन्य ३ वटाको पनि निर्माण कार्य भइरहेको छ। यसमा डबल लेन सडक भएकाले एक साइडको मात्र निर्माण गर्न बाँकी रहेको आयोजनाले जनाएको छ।
यसैगरी यो खण्डमा निर्माण गर्ने २१५ वटा साना-ठुला कल्भर्ट निर्माणको काम १२० वटाको सकिएको छ। साथै ३५ वटा कल्भर्टहरुको निर्माण कार्य चलिरहेको आयोजनाले जनाएको छ। अन्य ६० वटा कल्भर्टको निर्माण गर्न बाँकी छ।
यो खण्डमा निर्माण गरिने साइड ड्रेनको काम पनि ३४ किलोमिटर सकिएको छ। यो सडकको कुल लम्बाई ६४ किलोमिटर छ। त्यही अनुसार साइड लेनको निर्माण गरिन्छ।