संसद् अवरुद्ध भएको दिनको तलबभत्ता रास्वपाले नलिने, सभामुखलाई बुझायो पत्र

बिजमाण्डू
२०८० साउन २६ गते १४:५८ | Aug 11, 2023
संसद् अवरुद्ध भएको दिनको तलबभत्ता रास्वपाले नलिने, सभामुखलाई बुझायो पत्र


काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले सदन अवरूद्ध भएको दिनको तलबभत्ता फिर्ता गर्ने व्यवस्था मिलाउन सभामुख देवराज घिमिरेसँग आग्रह गरेको छ।

Tata
GBIME

शुक्रबार संसद अवरुद्ध हुनासाथ रास्वपाका सभापति रवि लामिछानेसहितको टोलीले सभामुखलाई भेटेर सो माग गरेको हो। ‘संसद् अवरुद्ध भएको दिनको तलब/ भत्ता/ सुविधा फिर्ता गर्ने व्यवस्था मिलाइदिन अनुरोध गर्‍यौं,’ भेटपछि सभापति लामिछानेले भने।

संसद् बैठक बसेको दिन सांसदहरुले यातायात खर्चबापत १ हजार र बैठक भत्ताबापत १ हजार रुपैयाँ पाउँछन्। पारिश्रमिक भने संसद् बैठकमा नजानेले पनि पाउने व्यवस्था छ।

रास्वपाले राजनीतिक द्वन्द्वका कारण अवरुद्ध संसद् समयको कुनै सेवा सुविधा नलिनेसमेत जनाएको छ। ‘राजनीतिक द्वन्द्वका कारण अवरुद्ध संसदको समयको कुनै पनि सेवा सुविधा हाम्रो पार्टीले नलिने सम्माननीय सभामुखमार्फत प्रतिबद्धता जाहेर गर्दछ। साथै, हालसम्म हामीले पाएको भए पनि त्यसको उपयुक्त मिलान गरिदिने व्यवस्थाका लागि समेत अनुरोध छ,’ रास्वपाले सभामुखलाई बुझाएको पत्र उल्लेख छ।

सुन प्रकरणमा एमालेले उच्चस्तरीय छानबिन समिति गठनको माग राखेर साउन १० देखि सदन चल्न दिएको छैन। त्यसयता ६ दिन कार्यसूचीमा प्रवेश नगरी बैठक स्थगित भएको छ।