मनसुनपछिको विपद्‍बाट ५० जिल्ला प्रभावित : ४१ जनाको मृत्यु, ३१ जना अझै बेपत्ता

बिजमाण्डू
२०८० साउन २५ गते १०:२३ | Aug 10, 2023
मनसुनपछिको विपद्‍बाट ५० जिल्ला प्रभावित : ४१ जनाको मृत्यु, ३१ जना अझै बेपत्ता


काठमाडौं। गएको जेठ ३१ गते मनसुन भित्रिएदेखि आजसम्म मनसुनजन्य विपद्‍बाट ५० जिल्ला प्रभावित भएको गृह मन्त्रालयले जनाएको छ। ती जिल्लामा भएका बाढी पहिरोलगायत मनसुनजन्य विपद्‍मा परेर ४१ जनाले ज्यान गुमाएको र ३१ जना बेपत्ता भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

Tata
GBIME

ती जिल्लामा विपद्‍बाट ५५ जना घाइते भएका गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख, सहसचिव महादेव पन्थले जानकारी दिए। उनका अनुसार विपद्का घटना भएका ५० जिल्लामध्ये २० जिल्लामा भने मानवीय क्षति भएको छ। ती जिल्लामा ४१ जनाले ज्यान गुमाएका हुन्।

यस्तै बेपत्ता हुनेहरु ६ जिल्लाका छन्। संखुवासभा, ताप्लेजुङ, पाँचथर, दोलखा, मकवानपुर र महोत्तरी जिल्लाका ३१ जना बेपत्ता भएका सहसचिव पन्थले जानकारी दिए। २८ जिल्लाका ५५ जना घाइते भएका छन्।

विपद्‍मा परेर कूल १३० वटा घर पूर्णरुपमा क्षति भएका छन् भने १९३ घरमा आंशिक क्षति पुगेको छ।

मनसुन सुरु भएकै बेलामा पूर्वी नेपालको पाँचथर, संखुवासभा, ताप्लेजुङ लगायत जिल्लामा भारी वर्षाका कारण ठूलो धनजनको क्षति भएको थियो। मनसुनका अवधिमा मुलुकभर कम पानी पर्ने आंकलनका बीच बेलाबेलामा परेको भारी वर्षाले विभिन्‍न जिल्लामा बाढी र पहिरोका घटना निम्त्याइरहेको छ। यद्यपि कतिपय जिल्लामा अझै वर्षा हुन सकेको छैन।