काठमाडौं। काठमाडौं महानगरपालिकाले असुल गर्ने घरबहालतर्फको आम्दानी बढेकोछ। गत आर्थिक वर्ष २०७९/८० मा महानगरपालिकाले १० अर्ब २५ करोड ४१ लाख रुपैयाँ राजस्व असुल गरेको छ।
अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा भने महानगरले १० अर्ब ४१ करोड राजस्व असुल गरेको थियो। अघिल्लो आर्थिक वर्षभन्दा गत आवमा आन्तरिक राजस्व लक्ष्यअनुसार नै उठे पनि महानगरको संघ तथा प्रदेश सरकारबाट बाँडफाँट र अनुदानबाट आउने रकम कमी आउँदा समग्र राजस्व भने घटेको छ।
अनुदान रकम कम भए पनि अछिल्लो आर्थिक वर्षको तुलनामा आन्तरिक आम्दानी एक अर्ब ३६ करोड रुपैयाँ बढी असुल भएको महानगरका राजस्व विभागका प्रमुख धुव्र काफ्लेले जानकारी दिए। उनका अनुसार महानगरले आन्तरिक आम्दानी लक्ष्यभन्दा ५७ करोड बढी असुल गरेको हो।
जसमा सबैभन्दा बढी बहाल करमा दुई अर्ब ५६ करोड रुपैयाँ असुल भएको छ। त्यस्तै सम्पत्ति करमा ८ अर्ब ८ करोड, व्यवसाय करमा पनि ५८ करोड रुपैयाँ असुल भएको विभागका प्रमुख काफ्लेले बताए।
त्यस्तै, नक्सा पास दस्तुरबाट १० करोड ११ लाख रुपैयाँभन्दा बढी राजस्व उठेको छ। स्रोतसाधनको हिसाबले अन्य महानगरभन्दा बलियो काठमाडौं महानगरले अघिल्लो वर्षको तुलनामा ३० प्रतिशतले बढी आन्तरिक राजस्व उठाएको हो।
आर्थिक वर्ष २०७८/७९ मा ४ अर्ब ४६ करोड रुपैयाँ आन्तरिक राजस्व उठाउन सफल भएको महानगरले आव २०७९/८० मा ५ अर्ब ८२ करोड उठाएको छ।
कामपाले सम्पत्ति, घरजग्गा, बहाल, व्यवसाय मनोरञ्जनलगायत विभिन्न ३६ शीर्षकमा राजस्व असुल गर्दै आएको छ। अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ मा मूल्य अभिवृद्धि कर तथा आन्तरिक अन्तः शुल्कबाट उठेको रकममध्ये ७० प्रतिशत केन्द्र सरकारलाई र १५/१५ प्रतिशत प्रदेश तथा स्थानीय तहलाई बाँडफाँट हुने व्यवस्था छ।
गत आर्थिक वर्षमा बाँडफाँटबाट महानगरले एक अर्ब ८५ करोड रुपैयाँ पाएको छ।
प्रमुख काफ्लेले भने,’अघिल्लो वर्षको तुलनामा १ अर्ब ६८ करोड ९४ लाखले कमी हो। अघिल्लो वर्ष करिब ३ अर्ब ५५ करोड प्राप्त गरेको थियो।’