
काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधि सभाको बैठक मंगलबार पनि अवरुद्ध गरेको छ। सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गरिनुपर्ने माग सम्बोधन नभएको भन्दै एमालेले बैठक अवरुद्ध गरेको हो।
गृहमन्त्री नारायणकाजी श्रेष्ठले जवाफ दिनसाथ एमालेका सचेतक महेश बर्तौलाले छानबिन समिति गठनको यथावत रहेको बताए। उनले गृहमन्त्रीबाट समितिको आवश्यकता नै नभएको जवाफ आएकाले बैठक चल्न नदिने बताए।
सुन प्रकरणमा अर्थमन्त्री डा प्रकाशशरण महत र गृहमन्त्री श्रेष्ठ पनि शंकाको घेरामा रहेकाले उच्चस्तरीय छानबिन समिति आवश्यक रहेको बर्तौलाले बताए। ‘हामीलाई गृहमन्त्री र अर्थमन्त्रीमाथि शंका छ। सीआईबीले गृह र अर्थमन्त्रीलाई पनि अनुसन्धानको घेरामा ल्याएको भए यस्तो हुँदैन थियो,’ उनले भने।
बर्तौलाले बोलिसकेपछि एमाले सांसदहरु उठे। उनीहरुलाई सभामुख देवराज घिमिरेले बस्न आग्रह गरे। तर उनीहरुले मानेनन्। त्यहिबेला नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले उठेर कार्यसूची अगाडि बढाउन सभामुखसँग आग्रह गरे।
त्यसपछि एमाले सांसदहरुले नाराबाजी सुरु गरे। त्यतिबेला संसदमा तनावको स्थिति उत्पन्न भएको थियो। खतिवडालाई साथ दिन राजेन्द्र केसी लगायत कांग्रेसका अरु सांसद पनि उठे। केसीले संसद् प्रतिपक्षको मात्र नभइ सत्ता पक्षको पनि भएको भन्दै कार्यसूची अगाडि बढाउनुपर्ने बताए। तर एमाले सांसदहरुले नाराबाजी गर्न छोडेनन्। त्यसपछि सभामुख घिमिरेले बैठक बुधबार अपराह्न १ बजे बस्ने गरी स्थगित गरे।