
काठमाडौं। उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन प्रकरणमा अनुसन्धानबाट दोषी देखिने कसैलाई पनि छुट नदिने प्रतिबद्धता जनाएका छन्। उनले सुन तस्करीमा संलग्न जो भएपनि सरकारले कारबाहीको दायरामा ल्याउने बताए।
उनले एमाले अध्यक्ष केपी शर्मा ओलीका पालामा पनि सुन तस्करीबारे छानबिन समिति बनेको तर उक्त समितिले दिएको रिपोर्टबाट केही निष्कर्ष ननिस्किएको भन्दै त्यसरी समिति बनाउनुभन्दा मुद्दा अभियोजन गर्ने निकायलाई नै विश्वास गर्नु राम्रो हुने बताए। उनले उच्चस्तरीय छानबिन समिति गठनको औचित्य नरहेको बताए।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिंदै उनले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)को अनुसन्धान पर्खन आग्रह गरे। उनले भने, ‘उच्चस्तरीय समितिले सिफारिस गर्ने मात्र हो, सीआईबीसँग त मुद्दा लाने अधिकार छ। सीआईबीको अनुसन्धान निष्पक्ष हुनेमा शंका नगर्न आग्रह गर्छु।’
‘सुन प्रकरणमा दुईवटा कार्यभार छन्। दोषीलाई कारवाहीमा ल्याउनु पहिलो कार्यभार हो। दोस्रो यस प्रकारका गतिविधिको पुनरावृत्ति नहोस् भनेर विमानस्थलको सुरक्षा प्रणाली बदल्नुपर्ने छ,’ उनले भने।
गृहमन्त्री श्रेष्ठले विमानस्थलमा भन्सार जाँच पास भइसकेको सुन तस्करीका नाइकेसम्म पुग्न दिएको हुन्थ्यो नि भन्ने केही सांसदको प्रश्ननलाई स्वाभाविक भन्दै यसो गर्दा विगतमा सुन र तस्कर दुवै नभेटिएको उदाहरण सुनाए।