निक्षेप खुला छाडेपछि फेरि खोसाखोस अभ्यास, प्रणाली सहज भएपनि केही बैंकमा तरलता अभाव

बिजमाण्डू
२०८० साउन २३ गते ०९:२० | Aug 8, 2023
निक्षेप खुला छाडेपछि फेरि खोसाखोस अभ्यास, प्रणाली सहज भएपनि केही बैंकमा तरलता अभाव

काठमाडौं। बैंकहरुमा निक्षेपको ब्याज फरक पर्न थालेपछि एक-अर्काको खोसाखोस सुरु भएको छ। बैंकर्स संघले लामो समयदेखिको कार्टेलिङ खारेज गर्दै ब्याज दर खुला छाडिदिएपछि निक्षेप खोसाखोस सुरु भएको हो।

Tata
GBIME
Nepal Life

साउन १ गतेबाट बैंकपिच्छे ब्याज दर फरक छ। त्यसअघि सबै बैंक तथा वित्तीय संस्थाको वर्गीकरण अनुसार निक्षेपको ब्याज दर समान थियो।

विगतमा तरलता अभाव हुँदा बैंकहरुबीच निक्षेप खोसाखोसको अस्वस्थ प्रतिस्पर्धा चल्थ्यो। अहिले भने पर्याप्त तरलताका बाबजुद निक्षेप खोसाखोस सुरु भएको हो।

साउन १ बाट निक्षेपको ब्याज दर सम्बन्धित बैंकले आफैं तोक्ने निर्णय गरेपछि अधिकतम ब्याज १०.९३ प्रतिशतसम्म छ। ५ बैंकले निक्षेपको ब्याज दर बढाएका छन्।

केहीले घटाएका छन भने केहीले स्थिर राखेका छन्। कम हुने र स्थिर राख्‍ने बैंकहरुको निक्षेप क्रमिकरूपमा खोसिन थालेको हो।

‘संस्थागत निक्षेपको हकमा निक्षेप खोस्न सुरु भइसकेको छ,’ एक बैंकरले भने, ‘मुद्दतीमा पनि ग्राहक आफैंले महँगो ब्याज भएको बैंकमा लैजानका लागि सोधखोज गरेको सुनिन्छ। बचतमा त्यस्तो ठूलो चहलपहल छैन।’

राष्ट्रिय स्तरका विकास बैंकहरुको निक्षेपको ब्याज १०.१ प्रतिशत पुगेको छ। कतिपय वाणिज्य बैंकहरुको निक्षेपको ब्याज विकास बैंकहरुको भन्दा माथि छ। यसले गर्दा विकास बैंकहरुको निक्षेप पनि वाणिज्य बैंकहरुले खोस्न थालेका छन्।

‘समग्रमा अहिले बजारमा पर्याप्त तरलता छ। तर केही बैंकहरुमा भने तरलता अभाव नै देखिन्छ,’ ती बैंकरले भने, ‘त्यसमध्ये केहीले भोलिका लागि निक्षेप जोहो गर्न खोजे पनि केहीले अहिलेको अभाव हटाउन ब्याज बढाएको देखिन्छ।’

कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) का आधारमा हेर्दा अहिले पनि बैंकहरुले करिब ४ खर्ब रुपैयाँ ऋण दिन सक्ने अवस्थामा छन्। अहिले सीडी रेसियो ८३ प्रतिशत हाराहारी छ। यसले बैंकहरुमा पर्याप्त तरलता रहेको  देखाउँछ।

तर अन्तर-बैंक सापटीलाई आधार मान्ने हो भने बैंकहरुले बारम्बार यो प्रयोग गरेको देखिन्छ। आधा प्रतिशतमा झरिसकेको अन्तर बैंक सापटी अहिले साढे ५ प्रतिशत हाराहारी छ।

अहिले सरकारले वर्षको सुरुबाटै आन्तरिक ऋण उठाउन थालिसकेको छ। यो पैसा पनि बैंकिङ प्रणालीबाटै सरकारी खातामा जम्मा हुने हो। यसले पनि तरलतामा दबाब पुर्‍याउँछ।

‘तर हामी बैंकरले पुराना गल्तीबाट कहिले पनि नसिक्ने भयौं,’ अर्का एक बैंकरले भने, ‘ब्याज बढाएपछि स्वत: कम हुनेबाट बढी हुनेमा जान्छ तर यहाँ लबिङ गरेर, सोर्सफोर्सदेखि प्रभाव पारेरसम्म खोस्न थालिएको छ, जुन राम्रो होइन।’

भदौमा के हुन्छ?

साउन १ गतेबाट केही बैंकले निक्षेपको ब्याज दर बढाए। लामो समयदेखिको कार्टेलिङ खारेज गर्दै सम्बन्धित बैंकले नै ब्याज तोक्ने निर्णयपछि धेरैको अपेक्षा थियो ब्याज दर घट्ने छ।

तर, केही बैंकले बढाएपछि भदौबाट ‘प्राइस वार’ सुरु हुने बैंकरको बुझाइ छ। उनीहरुका अनुसार, ऋण लगानी नभए पनि आफ्नो निक्षेप बचाइराख्‍नु पर्ने दबाब हुन्छ, त्यसले गर्दा राष्ट्र बैंकले दिएको सीमाभित्र बसेर ब्याज बढाउने दिशातर्फ नै बैंकहरु उद्दत हुन्छन्।

‘हामी त बढाउने नै हो। हाम्रोभन्दा वाणिज्य बैंकहरुको बढी भएपछि स्थिर बस्नु मुर्खता हो,’ एक विकास बैंकतर्फका एक बैंकरले भने।

बैंकहरुले प्रकाशित गरेको वित्तीय विवरणअनुसार, कोष लागत क्रमशः घट्दै गएको छ। यसबाहेक राष्ट्र बैंकले नीतिगत दर घटाएर ब्याज दर तल आउने संकेत गरेको छ। तर बैंकहरु आफ्नो निक्षेप जोगाउनका लागि भने ब्याज बढाउने प्रतिस्पर्धातिर गएका छन्।

‘सबैले त भन्दिन, तर अधिकांशले ब्याज बढाउने नै छन्,’ अर्का एक बैंकरले भने।