९ मेगावाटको खिम्ती घ्वाङखोला साना जलविद्युत् आयोजना निर्माण अघि बढाउने तयारी

बिजमाण्डू
२०८० साउन २२ गते ११:५० | Aug 7, 2023
९ मेगावाटको खिम्ती घ्वाङखोला साना जलविद्युत् आयोजना निर्माण अघि बढाउने तयारी


काठमाडौं। खिम्ती-घ्वाङखोला साना जलविद्युत् आयोजना निर्माण हुने भएको छ। निलगंगा हाइड्रोपावर कम्पनी प्रालिले ९ मेगावाटको उक्त प्रस्तावित आयोजना निर्माण गर्न लागेको हो।

Tata
GBIME

यो आयोजना दोलखाको जिरी नगरपालिका र रामेछापको गोकुलगंगा गाउँपालिकामा अवस्थित खिम्ती र घ्वाङ खोलामा निर्माण हुनेछ। कम्पनीले आयोजना निर्माण अघि बढाउन विद्युत् विभागसमक्ष उत्पादन अनुमतिपत्र (जेनेरेसन लाइसेन्स) माग गर्दै आवेदन दिएको छ।

विभागले लाइसेन्स दिने प्रक्रिया अन्तिम चरणमा पुर्‍याएको छ। बिहीबार सूचना प्रकाशित गर्दै आयोजना निर्माण र सञ्‍चालन गर्दा कुनै प्रतिकूल असर पर्ने भए ३५ दिनभित्र लिखित राय/सुझाव पेस गर्न आग्रह गरिएको छ।

प्रस्तावित आयोजना नदी प्रवाहमा आधारित प्रकृतिको हुनेछ। यसको डिजाइन बहाव ४.३७ घनमिटर प्रतिसेकेण्ड र समग्रगत हेड २४१.५९ मिटर रहनेछ। आयोजनाबाट वार्षिक सरदर ५०.०७ गिगावाट घण्टा विद्युत् ऊर्जा उत्पादन हुनेछ।

विद्युत् उत्पादनपछि ३० मिटर लम्बाइको टेलरेस क्यानलमार्फत पुन: खिम्ती खोलामा नै पानी छोडिनेछ।

आयोजनाबाट २०८१ चैतसम्म विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ। तर अझै जेनेरेसन लाइसेन्स नै नलिएका कारण उत्पादन मिति सर्ने निश्‍चित छ।