लक्ष्मी सनराइज बैंकको नाफामा ४९.४५ प्रतिशतको छलाङ, २.२० अर्ब लक्ष्मी एक्लैले कमायो

बिजमाण्डू
२०८० साउन २१ गते ०९:२९ | Aug 6, 2023
लक्ष्मी सनराइज बैंकको नाफामा ४९.४५ प्रतिशतको छलाङ, २.२० अर्ब लक्ष्मी एक्लैले कमायो


काठमाडौं। लक्ष्मी सनराइज बैंकको नाफाले ४९.४५ प्रतिशतको छलाङ मारेको छ। बैंकले गत आर्थिक वर्षको अन्त्यसम्म २ अर्ब २६ करोड रुपैयाँ खुद नाफा कमाएको हो।

Tata
GBIME

जसमध्ये २ अर्ब २० करोड रुपैयाँ लक्ष्मी बैंक एक्लैले कमाएको नाफा हो। यो मर्जर अघिसम्म बैंकले कमाएको खुद नाफा हो।यसमा सनराइज बैंकको खुद नाफा जोडिएको छैन। र, मर्ज भएपछि गत आर्थिक वर्ष भएको ३ दिनको एकीकृत कारोबारमा लक्ष्मी सनराइज बैंकले ६ करोड खुद नाफा गरेको हो।

मर्जरअघिसम्म सनराइज बैंकको खुद नाफा एक अर्ब ५४ करोड रुपैयाँ थियो। जुन विस्तृत लेखा परीक्षणपछि संलग्न गरेर लक्ष्मी सनराइज बैंकले सार्वजनिक गर्ने प्रष्ट पारेको छ।

यता वितरणयोग्य मुनाफा भने बैंकले एकीकृत रुपमा सार्वजनिक गरेको छ। यस्तो मुनाफा बैंकसँग कुल एक अर्ब ९४ करोड रुपैयाँ छ। बैंकले ८.९४ प्रतिशत लाभांश दिने क्षमता राख्छ।

वितरणयोग्यमध्ये ९० करोड लक्ष्मी बैंकले मर्जरअघि नै कमाइसकेको थियो। यस अवधिमा सनराइज भने १६ करोड ३० लाख रुपैयाँ ऋणात्मक थियो। यसका बाबजुद बैंकको अवितरित नाफा कोषमा भने एक अर्ब २० करोड रुपैयाँ सञ्चित थियो। जसलाई संयुक्त कारोबारपछि लक्ष्मी सनराइज बैंकको वितरणयोग्य नाफामा देखाइएको छ।

एकीकृत कारोबारका कारण बैंकको कर्जा प्रवाह र निक्षेप दुवैमा उल्लेख्य सुधार देखिन्छ। बैंकसँग २ खर्ब ९६ अर्ब रुपैयाँ निक्षेप छ। जसको ८१.६४ प्रतिशत अर्थात् २ खर्ब ५३ अर्ब रुपैयाँ कर्जा दिएको छ। बैंकले यो अवधिमा ५ अर्ब ५० करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ।

असार मसान्तसम्म बैंकको खराब कर्जा २.८१ प्रतिशत छ। प्रोभिजनिङको लागि ९१ करोड ५६ लाख रुपैयाँ छुट्याएको छ।