भारतको श्रावस्तीमा कार दुर्घटना हुँदा ६ जना नेपालीको मृत्यु, शोकमा डुब्यो नेपालगंजको त्रिभुवनचोक



बिजमाण्डू
२०८० साउन २१ गते ०८:४३ | Aug 6, 2023
भारतको श्रावस्तीमा कार दुर्घटना हुँदा ६ जना नेपालीको मृत्यु, शोकमा डुब्यो नेपालगंजको त्रिभुवनचोक

काठमाडौं। भारतको श्रावस्ती जिल्लामा भएको सवारी दुर्घटनामा परी नेपालगंजका दुई परिवारका ६ जनाको मृत्यु भएको छ।

Tata
GBIME
Zonsen

भारतको बलरामपुरबाट नेपालगंज आउँदै गरेको युपी४७डब्लु १२१७ नम्बरको कार श्रावस्ती जिल्लाको इकौनानजिक शनिवार राति गाईसँग ठोक्किँदा दुर्घटना भएको बाँकेका प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले बताए।

दुर्घटनामा नेपालगंज सदरलाइन निवासी एकै परिवारका ३५ वर्षीय वैभव गुप्ता, उनकी श्रीमती ३२ वर्षीया दीपिका, ३ वर्षीय छोरा डल्लु र ६ महिनाकी छोरी श्रीयाको मृत्यु भएको प्रहरीले जनाएको छ।

नेपालगंजकै त्रिभुवनचोकस्थित एस कुमार वाच कम्पनीका संचालक सन्तोष गुप्ताको छोरा २२ वर्षीय निलान्स र २० वर्षीया छोरी सुनितीको पनि दुर्घटनामा मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका गाडी चालक अजय मिश्रको उपचार भइरहेको छ। शनिबार बिहान निलान्स र सुनिती मामाघर घुम्न र वैभव माइतीमा रहेकी श्रीमती दीपिकालाई लिन बलरामपुर पुगेर फर्किने क्रममा दुर्घटना भएको सन्तोष गुप्ताले जानकारी दिए।

दुर्घटनाको खबरले नेपालगंजको त्रिभुवनचोक क्षेत्र शोकमा छ। मृतकको शव भारतको बहराइचमा परीक्षणपछि नेपाल ल्याइने छ। त्यसका लागि आवश्यक तयारी भइरहेको प्रहरी उपरीक्षक राठौरले जानकारी दिए। रासस