काठमाडौं। राम्रो तलब आइरहेको जागिर छाडेर कुनै उद्योगमा लगानी गर्न कसले हिम्मत गर्छ? सफलताको ग्यारेन्टीविना जोखिम लिने थोरै हुन्छन्। तीमध्ये पनि औंलामा गन्न सकिने मात्र सफल हुन्छन्। यस्तै एक पात्र हुन् बिहारको औद्योगिक सहर डालमियानगरमा हुर्केका सञ्जय जैन जसको यात्रा साँच्चै प्रेरणादायी छ।
बीकमको डिग्री हातमा लिएर सञ्जयले सन् १९८९ मा नेस्लेमा बजार प्रतिनिधिको रूपमा आफ्नो करियर सुरु गरे। त्यतिखेर उनको काम कोलकाताका पसल र स्कूल चाहार्नु थियो। त्यसबापत मासिक २ हजार रुपैयाँ तलब पाउँथे।
त्यहीँबाट सञ्जयको करियर उकालो लाग्यो। सन् २००२ सम्म उनी ब्लु स्टारमा पूर्व र उत्तर क्षेत्रको व्यावसायिक रेफ्रिजरेसन र वातानुकूलित उत्पादन डिभिजनका लागि भारतीय सेवा प्रमुख डीजीएम भइसकेका थिए। यो बेला उनको तलब मासिक २ लाख भारु थियो। तर उनमा जागिरमा रमाइरहनेभन्दा पनि आफैं केही गर्ने जोस थियो।
त्यही जोस र रहरमा सञ्जयले २००४ को सेप्टेम्बरमा ३ सहकर्मीसँग मिलेर सिंगल उत्पादन डिप फ्रिजरमा ध्यान केन्द्रित गर्दै ४० लाखमा सेल्फफ्रोस्ट सुरु गरे। केही वर्षपछि २००९ को अक्टोबरमा उनी, उनका भाइ र एक साझेदार मिलेर एलानप्रो खोले।
एलानप्रो आज व्यावसायिकरुपमा एक अग्रणी कम्पनी बनेको छ। राम्रो सेवा दिएर आफ्नो छुट्टै पहिचान बनाएको छ।
एलानप्रोका धेरै प्रकारका उत्पादन छन्। सुपरमार्केटहरूका लागि कम्पनीको प्लग-इन फ्रिजर, चिलर, र रिमोट फ्रिजर क्याबिनेटहरू छन्। पेय पदार्थको सेगमेन्टमा बेभरेज डिस्पेन्सर, स्लस र थिक शेक डिस्पेन्सर, जुस डिस्पेन्सर, बियर टावर छन्।
यसको हार्ड टप चेस्ट फ्रिजर, ग्लास टप फ्रिजर, भिसी कुलर लगायतको पनि कारोबार छ। एलानप्रोका उत्पादन मिनी फ्रिजर भारु ७ हजारदेखि ५ लाख मूल्यसम्मका छन्।
कम्पनीले आफ्ना उत्पादन इटाली, टर्की र चीनमा बनाउँछ। उसको वृद्धि आश्चर्यजनक छ। कम्पनीको व्यापार सन् २०१६ मा १०० करोड, २०१९ मा १४४ करोड र २०२३ मा २२१ करोड रुपैयाँ पुगेको छ।
सानो सहरबाट ठूला सपना
सानो सहरका युवा सञ्जयले साँच्चै धेरै टाढाको यात्रा गरेका छन्। डालमियानगरमा आफ्ना जेठो दाजु र कान्छी बहिनीसँग हुर्केका उनी सम्झन्छन्, ‘हामी तीन मस्केटियरको बाल्यकाल धेरै मीठो र यादगार थियो। टिभी थिएन, तर हामी पौडी, टेनिस र अन्य धेरै खेल खेल्थ्यौं। हामी हाम्रो अपार्टमेन्टबाट स्कूल जान्थ्यौं, मन्दिर परिसर वरिपरि खेल्थ्यौं। हामीले सांस्कृतिकरूपमा समृद्ध जीवनको आनन्द उठायौं।’
उनी भन्छन्, ‘बुबा साँझ ६ बजे अफिसबाट घर फर्केपछि हामी सँगै समय बिताउने गर्थ्यौं। आमाबुबाले हामीलाई धेरै सिकाउनुभयो र हाम्रो बढ्दो उमेरमा उहाँहरुको ठूलो साथ थियो।’
सञ्जयका बुबा एक केमिकल इन्जिनियर थिए जसले आईआईटी- बीएचयुबाट स्नातक गरेका थिए। पटनाको बिहार स्टेट फर्मास्युटिकल डेभलपमेन्ट कम्पनीमा आवद्ध हुनुअघि उनले डालमियानगरको रकस्टार उद्योगमा काम गरे। त्यहाँबाट कार्यकारी निर्देशककारूपमा सेवानिवृत्त भए।
सञ्जयले आफ्नो बीकम डिग्री डा. हरिसिंह गौर विश्वविद्यालयबाट गरे।
फ्रिज कम्पनीको आइडिया
सन् २००४ मा साथीको घरमा एउटा अनौपचारिक भेटघाट थियो। त्यो भेटघाटमा सञ्जय र उनका तीन सहकर्मीले आफ्नै फ्रिज कम्पनी खोल्ने सम्भावनाबारे छलफल गरे। ‘हाम्रो कम्पनी बाल्कनीमा सानो कुराकानीबाट सुरु भयो,’ सञ्जय सम्झन्छन्, ‘हामीलाई थाहा थियो कि बजारमा हाम्रो राम्रो प्रतिष्ठा छ। त्यसैले हामीले एउटा प्रयास गर्ने निर्णय गर्यौं। हामीलाई थाहा थियो कि व्यवसाय असफल भए पनि अन्य ठाउँमा काम पाउन सक्छौं। त्यसैले कम्पनी सुरु गर्न आँट आयो।’
उच्च पारिश्रमिकसहितको जागिर छाडेर व्यवसाय सुरु गर्ने मनसायबारे बताएपछि सञ्जयलाई परिवारका सदस्यले मिश्रित प्रतिक्रिया दिए। ‘मेरो बुबा चिन्तित हुनुहुन्थ्यो। मलाई किन स्थिर जागिर छोड्न चाहेको भनेर सोध्नुभयो,’ उनी सम्झन्छन्, ‘ब्लु स्टार छोड्नु अघिल्लो दिन मलाई तिमी पक्का छौ नि भनेर उहाँले मलाई अन्तिम पटक सोध्नुभयो। त्यसपछि, पछाडि फर्केर हेर्नु परेन।’
उनी थोरै भावुक हुँदै थप्छन्, ‘मेरी श्रीमतीले मेरो निर्णयमा पूर्णरूपमा विश्वास गरिन्। त्यतिखेर हाम्रा छोरीहरू पाँच र तीन वर्षका थिए।’
अन्तत: ४ जना मिलेर ४० लाखको लगानीमा दिल्लीमा आफ्नै उद्यम सेलफ्रोस्ट सुरु गरे। डिप फ्रिजरको उत्पादनबाट कम्पनी सुरु भयो।
युरोपेली कम्पनी भारतीय बजारमा
सेलफ्रोस्टले युरोपेली कम्पनी वेस्टफ्रोस्टसँग सहकार्य गर्यो। उसले वेस्टफ्रोस्टको फ्रिज र फ्रिजरहरू आफ्नो ब्रान्ड नामअन्तर्गत मार्केटिङ गर्यो। र, २००५ को सुरुमा डेनमार्क आधारित कम्पनीबाट आइस मेसिनहरू दोस्रो उत्पादनका रूपमा थपियो। सेल्फ्रोस्टले पहिलो वर्षदेखि नै नाफा कमायो।
सन् २००६ मा ८ करोड भारुको कारोबार भयो। जुन अर्को वर्ष दोब्बरले बढेर १६ करोड भारु पुग्यो। २००९ सम्म आइपुग्दा कम्पनीको कारोबार ५५ करोड पुगिसकेको थियो।
सुरु भयो मुख्य कम्पनी ‘एलानप्रो‘
सन् २००९ मा सञ्जय र उनका सहकर्मी शशांक जोशीले नयाँ बाटो तय गर्ने निर्णय गरे। कम्पनीबाट अलग भएपछि सञ्जयले आफ्ना ठूला भाइ रञ्जनलाई भेटे। उनी त्यतिबेला लाइफस्टाइल रिटेल फेसन चेनमा उपाध्यक्ष थिए। रञ्जन पनि सञ्जयको प्रस्तावमा सहमत भए।
तीन जनाले आफ्नो बचतको ३.५ करोड र बैंकबाट १.५ करोड ऋण गरी ५ करोड लगानीमा अक्टोबर २००९ मा एलानप्रो सुरु गरे। तीन संस्थापकसहित केवल १० कर्मचारीबाट एलानप्रो अगाडि बढ्यो।
एलानप्रो सुरु भएपछिका दिन
प्रारम्भिक दिनमा एलानप्रोले कफी मेसिनको पनि कारोबार गर्यो। त्यसबेलाको एउटा अविस्मरणीय घटना सञ्जय गर्वका साथ सुनाउँछन्। ‘आईटीसी समूहको व्यवसाय प्रमुखलाई कम्पनीको बोर्डरूममा कफी मेसिन चाहिएछ। उनले मलाई फोन गरे। मैले हतार हतार गएर निरीक्षण गरी राम्रोसँग सबै सेट गरेँ। मैले उनलाई निराश पारिन। कम्पनीले द्रुत कार्यको प्रशंसा गर्यो।’
यसबाट ती व्यवसाय प्रमुख निकै प्रभावित भए। ‘उनले म जस्ता पेसेवरसँग काम गर्ने इच्छा व्यक्त हामीलाई आईटीसीको सम्पूर्ण फाइभ स्टार परियोजना प्रदान गरे’, सञ्जय सुनाउँछन्।
उनका लागि यो अनुभव व्यापारिक जित मात्र थिएन। उनी यसलाई एउटा अविस्मरणीय उपलब्धिका रूपमा हेर्छन्। ‘कम्पनी भर्खर सुरु भएको अवस्थामा आईटीसीसँगको सम्झौताले व्यापारमा महत्त्वपूर्ण वृद्धि गर्यो,’ उनले भने।
एलानप्रोको बिस्तार
आज एलानप्रो निकै बिस्तार भएको छ। एलानप्रोका उल्लेखनीय ग्राहकमा फ्लिपकार्ट, रिलायन्स, क्याडबरी, बिस्लेरी, लिप्टोन, लन्डन डेरी, पेप्सी तथा हयात, हिल्टन, आईटीसी, द लिला, म्यारियट र र्याडिसन जस्ता शीर्ष चेन होटल पर्छन्।
चेन्नईमा एलानप्रोको १.५ लाख वर्गफुट क्षेत्रफलमा ठूलो गोदाम छ। बेंगलुरु, अहमदाबाद, मुम्बई, कोलकाता र गुडगाउँ जस्ता सहरमा साना साना गोदाम छन्।
कम्पनीले चेन्नई, बेंगलुरु, कोची, नयाँ दिल्ली र हैदराबाद जस्ता प्रमुख सहरमा ३०० भन्दा बढी बिक्री साझेदारसँग काम गर्छ।