
काठमाडौं। नेपाल दूरसंचार प्राधिकरणले साइबर सुरक्षा विनियमावली संशोधन गर्ने भएको छ। यसका लागि सरोकारवालासँग आवश्यक सुझाव मागेको छ। प्राधिकरणले २०७७ मा साइबर सुरक्षा विनियमावली ल्याएको थियो।
‘हाल प्राधिकरणबाट उक्त विनियमावली संशोधनको प्रक्रिया अगाडि बढाइएको हुँदा सम्बन्धित सबै सरोकारवाला लगायत विनियमावलीका व्यवस्थाहरु पालना गर्ने सन्दर्भमा दूरसंचार सेवा प्रदायकहरुका कुनै समस्याहरु र विनियमावलीमा संशोधन गर्नुपर्ने कुनै विषयहरु भए ३० दिन भित्र बुँदागत रुपमा संशोधन गर्नुपर्ने कारण पुष्ट्याईसहित लिखित राय उपलब्ध गराउन आह्वान गरिएको छ,’ प्राधिकरणद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
प्राधिकरणले साइबर सुरक्षाका मापदण्ड तथा उत्कृष्ट अभ्यासहरुको कार्यान्वयन गर्दै दूरसंचार सेवाको आइसीटी पूर्वाधार र सूचना प्रणालीहरुलाई विभिन्न साइबर आक्रमण तथा जोखिमबाट जोगाउन भन्दै उक्त विनियमावली ल्याएको थियो।