संसद्‍को अवरोध हटाउन प्रधानमन्त्रीको पहल, प्रतिपक्षी नेतासँग छुट्टाछुट्टै छलफल, बैठक १ बजे बस्ला?

बिजमाण्डू
२०८० साउन १५ गते १२:५६ | Jul 31, 2023
संसद्‍को अवरोध हटाउन प्रधानमन्त्रीको पहल, प्रतिपक्षी नेतासँग छुट्टाछुट्टै छलफल, बैठक १ बजे बस्ला?


काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्‍को अवरोध हटाउन पहल थालेका छन्। अवरोध हटाउने पहलस्वरुप उनले सोमबार प्रतिपक्षी दलका नेतासँग छलफल गरेका छन्।

Tata
GBIME

प्रधानमन्त्री दाहालले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र अर्को प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संसदीय दलका नेता सन्तोष परियारसँग गतिरोध अन्त्यबारे अलग अलगरुपमा छलफल गरेका हुन्।

सुन प्रकरणलाई लिएर एमालेले साउन १० गते प्रतिनिधि सभाको बैठक अवरुद्ध गरेको थियो। एमालेले सुन प्रकरणको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै आएको छ। यस्तै गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजीनामा दिनुपर्ने पनि बताउँदै आएको छ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले प्रधानमन्त्री र ओलीबीच सदनको अवरोध हटाउनेबारे सकारात्मक छलफल भएको जानकारी दिए।

उनले भने, ‘उहाँहरुबीच सकारात्मक छलफल भयो, सदन खुलाउने विषयमा कार्यव्यवस्था परामर्श समितिमा थप छलफल हुन्छ।’ प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजेका लागि तय गरिएको छ।

प्रधानमन्त्री दाहालले रास्वपाका प्रमुख सचेतक परियारसँगको छलफलमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक संसदीय समितिमा रोकिएको विषयमा चासो राखेका छन्। विधेयक अहिले प्रतिनिधि सभाको कानुन समितिअन्तर्गतको उपसमितिमा छ।

परियारले यसबारे आफूले प्रधानमन्त्रीलाई अवगत गराएको जानकारी दिए। ‘छलफलपछि उपसमिति प्रतिवेदन लेखन कार्यमा छ। प्रतिवेदन लेखेपछि हामी त्यसलाई समितिमा अघि बढाउछौं भनेर मैले प्रधानमन्त्रीलाई भनें,’ परियारले भने।

उनले समितिमा सभापति नभएका कारण काममा असर परिरहेको भन्दै सभापतिको विषय चाँडो टुंग्याउन प्रधानमन्त्रीको ध्यानकर्षण गराएका थिए। प्रधानमन्त्रीले संसदीय समितिका सभापतिको टुंगो चाँडै लगाउने बताएका थिए।