मौद्रिक नीतिपछि सेयर बजार परिसूचक १०० अंकले घट्यो, लगानीकर्ताले गुमाए डेढ खर्ब

बिजमाण्डू
२०८० साउन ११ गते १५:४९ | Jul 27, 2023
मौद्रिक नीतिपछि सेयर बजार परिसूचक १०० अंकले घट्यो, लगानीकर्ताले गुमाए डेढ खर्ब


काठमाडौं। मौद्रिक नीति सार्वजनिक भएपछि साताभर सेयर बजार रातो भएको छ। सेयर बजार चौथौ दिन पनि २९.७१ अंकले घट्यो। नेप्से सूचक २१२६.४८ अंकमा झरेको छ।

Tata
GBIME

पछिल्ला चार कारोबार दिन सेयर बजार पुँजीकरण १ खर्ब ४७ अर्ब रुपैयाँले घटेको छ। आइतबार ३२ खर्ब ७२ अर्ब नाघेको बजार पुँजीकरण बिहिबार ३१ खर्ब २४ अर्बमा झरेको छ। यो अवधिमा नेप्से सूचक १०० अंक ओर्लिसकेको छ।

बजारको लयविपरित एकोहोरो सकारात्मक सर्किट लेभलमा कारोबार भइरहेको किसान लघुवित्तको सेयर बिहिबार भने ८.६८ प्रतिशतले घट्यो। पछिल्ला तीन दिनमा किसान लघुवित्तको सेयर मूल्य २७ प्रतिशतले बढेको थियो। तर मर्जरको सूचना आएपछि सेयर मूल्य ओरालो लागेको हो।

मनकामना स्मार्ट लघुवित्तको सेयर मूल्य ५.९ प्रतिशतका दरले बढ्दा सेयरधनीले प्रतिकित्ता ४६ रुपैयाँ कमाए।

मूल्य प्रतिकित्ता झन्डै १० रुपैयाँ घटेपनि शिवम् सिमेन्ट कारोबार रकमका आधारमा शीर्ष स्थानमा रह्यो। बजारमा २ अर्ब ४२ करोडको सेयर किनबेच हुँदा शिवम् सिमेन्टको १० करोड ५७ लाख रुपैयाँको कारोबार भएको छ।