
चितवन। वाग्मती प्रदेश सरकारले भरतपुरको मुख्य भागमा उच्चस्तरको प्रयोगशाला सञ्चालनमा ल्याएको छ। वरिपरी महँगो शुल्कमा परीक्षण गरिरहेका स्थानीय भने नजिकै निकै सस्तो गुणस्तरीय सरकारी प्रयोगशाला छ भन्ने कुरामा अनविज्ञ छन्।
वाग्मती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले आठ करोड रुपैयाँ खर्च गरेर यही असार १६ गतेदेखि स्वास्थ्य कार्यालयको परिसरमा प्रयोगशाला सञ्चालनमा ल्याएको हो। इकाइको रुपमा सञ्चालनमा ल्याइएको यो प्रयोगशालामा सबैखाले परीक्षण हुन्छ।
उक्त इकाईकी ल्याब टेक्नोलोजिष्ट सुष्मा आचार्यका अनुसार कल्चर र पीसीआर परीक्षणका काम भइरहे पनि सबै परीक्षण प्रयोगशालाबाट गर्न सकिन्छ। यति महत्वपूर्ण प्रयोगशाला सञ्चालनमा आए पनि स्थानीयले उपयोग गरेका छैनन्।
गत शुक्रबार दिनभर पाँच वटा नमुना मात्रै प्रयोगशालामा आएको उनले जानकारी दिइन्। जनस्वास्थ्य प्रयोगशाला वाग्मती प्रदेशका नारायण बहादुर कार्कीका अनुसार निजी क्षेत्रको तुलनामा तीन गुण सस्तोमा यहाँ परीक्षण हुन्छ।
बाहिर लिपिट प्रोफाइल (एलएफटी) परीक्षणका लागि ९ सय रुपैयाँ लाग्छ भने यहाँ ३ सय रुपैयाँमा हुने उनले बताए। यसैगरी अन्य परीक्षणमा पनि न्यून शुल्क लाग्ने कार्कीले जानकारी दिए।
उनका अनुसार ज्येष्ठ नागरिकलाई सो शुल्कमा पनि ५० प्रतिशत छुट, गरिब विपन्नलाई शतप्रतिशत छुट उपलब्ध गराइएको छ। त्यस्तै, डायलासिस गरिरहेका बिरामीलाई ९० प्रतिशत छुट, मिर्गौला प्रत्यारोपण गरेकालाई ९० प्रतिशत छुट, कोभिडको परीक्षणका लागि शतप्रतिशत छुटको व्यवस्था गरिएको उनले बताए।
यसैगरी, प्रगोगशालामा स्वास्थ्यकर्मीलाई ९० प्रतिशत, अवकाश प्राप्त कर्मचारीलाई ५० प्रतिशत, कर्मचारीका आश्रित परिवारलाई ५० प्रतिशत, ‘क’ वर्गका अपांगता भएका व्यक्तिलाई शतप्रतिशत र ‘ख’ वर्गकालाई ५० प्रतिशत छुट दिने गरिएको छ।
प्रदेशभित्रको सुविधा सम्पन्न प्रयोगशाला बनाउने प्रदेश सरकारको उद्देश्यअनुसार यो प्रयोगशाला सञ्चालनमा ल्याइएको हो। प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले निकै न्यून शुल्कमा उच्चस्तरको सेवा दिने गरी प्रयोगशाला सञ्चालनमा ल्याइएको भए पनि आमनागरिक भने सेवा लिन आइनसकेको बताए।
‘सरकारले न्यून शुल्कमा उच्चस्तरको सेवा दिँदासमेत महँगोमा नागरिकले प्रयोगशाला प्रयोग गरिरहेका छन्,’ उनको गुनासो थियो।
आम नागरिकसम्म तत्काल सन्देश पुग्न नसके पनि क्रमशः सबैलाई थाहा हुँदै जाने स्वास्थ्यमन्त्री जोशीले बताए। कुनै ठाउँमा रोग फैलिएर तत्काल नमूना लिनुपर्ने अवस्थामा यो प्रयोगशाला उपयोगमा आउने छ।
उनले थपे, ‘यहाँ आउने बिरामीको परीक्षण र रोग फैलिएको अवस्थामा समुदायमै पुगेर नमूना सङ्कलन गरी परीक्षण गर्ने योजनाका साथ यो प्रयोगशाला सञ्चालनमा ल्याइएको हो।’
प्रयोगशालाले नसर्ने तथा सर्ने रोगको अध्ययन, गुणस्तरमापन र तालिम दिनेजस्ता कामसमेत गर्नेछ। प्रयोगशालाले नसर्ने रोगको आवश्यक अध्ययन, अनुसन्धान र नतिजा निकाल्ने आवश्यक समन्वय गर्ने छ।
यस्तै, सर्ने रोगबारे अनुसन्धान गरी नतिजा वितरण गर्ने, प्रादेशिक प्रयोगशालाबाट गुणस्तर नियन्त्रणका लागि पठाइएका नमुना परीक्षण गरी नतिजा संकलन गर्ने र विश्लेषण गर्ने, प्रयोगशालाको गुणस्तर मापन गर्नेलगायत काम गर्ने उनले जानकारी दिए।