कांग्रेस पदाधिकारीले टुंग्याए केन्द्रीय समितिका एजेन्डा, यी हुन् १० विषय

बिजमाण्डू
२०८० साउन १ गते १८:२८ | Jul 17, 2023
कांग्रेस पदाधिकारीले टुंग्याए केन्द्रीय समितिका एजेन्डा, यी हुन् १० विषय


काठमाडौं। नेपाली कांग्रेसको पदाधिकारी बैठकले झन्डै एक वर्षपछि बस्न लागेको केन्द्रीय समितिको एजेन्डा तय गरेको छ। कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा सोमबार बसेको पदाधिकारी बैठकले केन्द्रीय समितिमा प्रस्तुत गरिने १० एजेन्डा तय गरेको हो।

Tata
GBIME

बैठकपछि महामन्त्री विश्वप्रकाश शर्माले केन्द्रीय समितिमा प्रस्तुत गरिने १० एजेन्डाबारे जानकारी दिए। केन्द्रीय समितिमा विशेष गरी नीति अधिवेशनको मिति र कांग्रेस सुदृढीकरणका लागि मेची महाकाली अभियानको घोषणा हुने महामन्त्री शर्माले बताए। यसैगरी बैठकमा सरकारमा कांग्रेसको भूमिकाबारे उपसभापति एवं उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले केन्द्रीय समितिमा प्रतिवेदन पेस गर्नेछन्।

भोलि मंगलबार १ बजे बस्ने तय भएको केन्द्रीय समिति बैठक लाइभ गर्नेबारे पदाधिकारी बैठकमा छलफलसमेत भएको शर्माले बताए। यद्यपि यसबारे अन्तिम निर्णय भने भएको छैन।

‘बैठकलाई लाइभ गरौं भन्नेबारे छलफल भएको छ। त्यो हुन पनि सक्छ। नहुन पनि सक्छ,’ शर्माले भने।

यी हुन् केन्द्रीय समितिमा प्रस्तुत हुने १० एजेन्डा

१. वर्तमान राजनीतिक सन्दर्भ, आर्थिक सन्दर्भ, सामाजिक सन्दर्भ, परराष्ट्र, शासन र सुशासन सम्बन्धी सन्दर्भ।

२. सांगठनिक कार्ययोजना र कार्यतालिका। पार्टीको निर्वाचन समितिको काम सम्बन्धमा।

३. हरेक केन्द्रीय समिति बैठक बस्दा केन्द्रीय कार्यसम्पादन समिति बैठकले गरेका निर्णय अनुमोदन।

४. पार्टीको निर्वाचन परिचालन समितिका संयोजक गोपालमान श्रेष्ठले तयार पारेको प्रतिवेदनको प्रस्तुति।

५. नीति निर्माणको अधिवेशन सम्बन्धी खाका प्रस्तुत।

६. कांग्रेसको विभागहरू थपिने। ती विभागहरुको नाम प्रस्ताव हुने।

७. राष्ट्रव्यापी अभियानको प्रस्ताव गरिने।

८. अनुशासन समितिले अनुशासन समितिको प्रतिवेदन पेश गर्ने।

९. प्रतिनिधि सभामा के कस्ता विषय आए। कांग्रेसको प्रस्तुति कस्तो रह्यो? यस विषयमा कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रस्तुति दिने।

१०. पार्टीका उपसभापति एवं सरकारका उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले सरकारमा भएको कांग्रेसको भूमिकाबारे केन्द्रीय समितिमा प्रतिवेदन राख्ने।