नयाँ आर्थिक वर्ष सुरु भएलगत्तै फर्कियो सेयर बजारमा उत्साह, झन्डै अर्धशतक

बिजमाण्डू
२०८० साउन १ गते १५:२८ | Jul 17, 2023
नयाँ आर्थिक वर्ष सुरु भएलगत्तै फर्कियो सेयर बजारमा उत्साह, झन्डै अर्धशतक


काठमाडौं। नयाँ आर्थिक वर्षको पहिलो कारोबारमै सेयर बजारले फराकिलो फड्को मारेको छ। कारोबारमा आएका केबल १३ वटा सेयरको मूल्य घटेको छ।

Tata
GBIME

गत आर्थिक वर्षलाई हरियालीसहित बिदाइ गरेको सेयर बजारले लगत्तैको कारोबारमा ४७ अंकको वृद्धि लिएको हो। नेप्से सूचक ४७.०७ अंकले बढ्दा २१४४.१६ को विन्दुमा उक्लियो।

बैंक तथा वित्तीय संस्थाहरुका सेयरमा देखिएको आकर्षण नेप्से सूचक २.२४ प्रतिशत वृद्धि हुनुको मुख्य कारण रह्यो। सोमबार वाणिज्य बैंक २.८६ प्रतिशत बढ्दा विकास बैंक सवा ४ प्रतिशत र फाइनान्स समूह ३.६१ प्रतिशत बढेको हो‍। 

अधिकांश उपसमूह एक प्रतिशतभन्दा फराकिलो दरले बढे। अघिल्लो दिन उत्साहजनक वृद्धि देखिएको म्युचुअल फण्ड भने घटेको छ। घट्ने एक्लो उपसूचक नै यही मात्रै हो।

नजिकिएको मौद्रिक नीति, सन्तोषजनक बाह्य क्षेत्र र प्रतिस्पर्धी ब्याजदर सेयर बजार अनुकूल हुन थालेको जानकारहरु बताउँछन्। साथै सहज हुँदै गएको तरलताको स्थितिले पनि बजारलाई माथि धकेलेको उनीहरुको टिप्पणी छ। नयाँ आर्थिक वर्ष सुरु भएलगत्तै सुस्ताएका आर्थिक गतिविधि पनि चलायमान हुन थाल्ने अपेक्षा लगानीकर्तामा छ।

नेप्से सूचकसहित कारोबार रकम पनि वृद्धि भएको छ। सोमबार साढे २ अर्ब रुपैयाँको सेयर किनबेच भएको छ।