
काठमाडौं। बुढीगण्डकी जलविद्युत कम्पनी लिमिटेडको केन्द्रीय कार्यालय उद्घाटन भएको छ।
आइतबार ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले कम्पनीको कार्यालय उद्घाटन गरेका हुन्। कम्पनीको कार्यालय नयाँ बानेश्वरमा रहेको नागरिक लगानी कोषको पाँचौ तल्लामा राखिएको छ। कम्पनी स्थापना भएको एक वर्षपछि बल्ल कार्यालय स्थापना गरिएको हो।
गत वर्षको भदौमा नै कम्पनी अर्थ मन्त्रालयसँग कार्यालय स्थापना र सञ्चालन गर्ने भन्दै डेढ अर्ब रुपैयाँ बजेट मागेको थियो। तर मन्त्रालयले निकासा दिएको थिएन। करिब दुई साता पहिला तत्काल कार्यालय संचालन र लाइसेन्स लिने प्रयोजनका लागि २२ करोड रुपैयाँ निकासा गर्यो। त्यसपछि कम्पनीले कार्यालय राखेको हो।
कम्पनीले अहिले कार्यालय राखेको स्पेस १०६ मेगावाटको आयोजना प्रवर्द्धन गर्न लागेको जगदुल्ला जलविद्युत कम्पनी लिमिटेडले लिएको थियो। नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले जगदुल्ला जलविद्युत कम्पनीसँग आधा स्पेस मागेका थिए। त्यसपछि जगदुल्लाले लिएको स्पेस आधा/आधा बाँडेर दुईवटा कार्यालय राख्न लागिएको हो।
बुढीगण्डकीमा गत साता जगत डा. जगतकुमार श्रेष्ठलाई प्रमुख कार्यकारी अधिकृतको नियुक्ति दिइएको छ। उनी बुढीगण्डकी जलविद्युत आयोजनाको वातावरण, मुआब्जा वितरण, पुनर्वास तथा पुनर्स्थापना इकाइमा कार्यरत थिए।