
काठमाडौं। नेपाल पुगेपछि होटलमा बस्न-खान फ्री। त्यतिमात्र होइन मेरो मान्छेले गाउँ जाने बेलामा ५ हजार रुपैयाँ पनि दिन्छ। यति आश्वासन दिएपछि धनुषाका सुनिलकुमार महरा सामान लिएर कतारबाट नेपाल जान तयार हुन्छन्। उनको साथमा ५० ग्रामभन्दा बढी सुन बोकाएर पठाइन्छ।
कतारबाट सुन बोकेर आएका सुनिलको फोटो समेत खिचिएको हुन्छ। त्यही फोटो काठमाडौंमा रहेकी सञ्जुकुमारी साहलाई ह्वाट्सएपमार्फत पठाइएको हुन्छ।
सञ्जु पनि मोबाइलमा आएको फोटोको आधारमा सुन लिन विमानस्थलमा तैनाथ हुन्छिन्।
आइतबार बिहान १० बजेर १० मिनेटमा नेपाल एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन्छ। विमानस्थलको सबै प्रक्रिया पूरा गरेर सुनिल बाहिर निस्किन्छन्। निस्किएर केही पर पुगेपछि उनलाई सादा पोसाकमा रहेको प्रहरीले पक्राउ गर्छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले केही दिनदेखि निगरानी गरेपछि उनीहरूलाई पक्राउ गरेको हो। महरासँगै विमानमा आएका अन्य युवा पनि पक्राउ पर्छन्। पक्राउको कारण साथमा ल्याएको सुन नै बन्छ।
उता सुन लिन सञ्जु पनि बसिरहेकी हुन्छिन्। प्रहरीले उनीसम्म पुग्ने जाल बिछ्याइसकेको हुन्छ। त्यसैको आधारमा प्रहरीले सोही दिन केही मिनेटको अन्तरालमा सञ्जुलाई पनि पक्राउ गर्छ। सञ्जुका श्रीमान् विनोदकुमार साह पनि पक्राउ पर्छन्। श्रीमान्-श्रीमतीले काठमाडौंको सिनामंगलमा होटल चलाउँदै आएका छन्। विदेशबाट तस्करले पठाएको सुन रिसिभ गर्ने र बिक्री गरी पैसा पठाउन उनीहरुको भूमिका देखिएको छ।

‘पटक-पटक सुन रिसिभ गरेको। विदेशबाट सुन ल्याउने मानिसको फोटो उनीहरूको मोबाइलमा पठाएको देखिएको छ,’ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी मनोज केसीले भने।
सुन तस्करले कतारबाट वैदेशिक रोजगारीमा गएका युवालाई सुन बोकाएर पठाउने गरेको अनुसन्धानमा देखिएको छ। सरकारले वैदेशिक रोजगारमा गएका युवालाई ५० ग्राम सुनको गहना ल्याउन दिन्छ। तर तस्करहरूले आफ्नो सुन केही रकम र लोभ देखाएर पठाउने गरेको खुल्छ। प्रहरीको अनुसन्धानमा दैनिक कतारबाट १५/२० जना युवाले यसरी नै सुन ल्याउने गरेको देखिएको छ।
एसएसपी केसीका अनुसार अहिलेको ट्रेन्ड हिसाब गर्दा एक वर्षमा मात्र तीन सय किलोभन्दा बढी किलो सुन यसरी नै भन्सार छली गरेर भित्रिने गरेको देखिएको छ।
सुन तस्करी गर्ने गिरोहले चार वटा तह बनाएर कारोबार गरेको देखिएको छ। जसमा विदेशबाट पठाउने, सुन ल्याउने, नेपालमा रिसिभ गर्ने र सुन व्यवस्थापन गर्ने गिरोह छन्। विदेशबाट सुन पठाउने गिरोहबाहेक अन्यलाई पक्राउ गरेको दाबी प्रहरीले गरेको छ। प्रहरीले अहिलेसम्म १२ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा विनोदकुमार साह, सञ्जुकुमारी साह, शिवशंकर राउत, भूमबहादुर वली, नरेश परियार, सन्तु गुलाम मुराउ, दिनेशकुमार यादव, सुनिलकुमार महरा, मोहनकुमार यादवलगायत छन्।

सिरहाको लहानका शिवसुन्दर राउत मुख्य अभियुक्त भएको देखिएका छन्। सञ्जु र विनोदले रिसिभ गरेको सुन वा बिक्री भएको रकम उनै शिवसुन्दरलाई पठाउने गरेका थिए। राउत रितेश जनरल स्टोर्सका सञ्चालक पनि हुन्। विनोदले सन् १०१९ देखि स्टोर्सका नाममा रहेको बैंक खातामा पटक-पटक गरेर १ करोड ६७ लाख ८९ हजार ९९९ रुपैयाँ जम्मा गरेको देखिएको छ। त्यस्तै उनकी श्रीमती सञ्जुले पनि २ करोड १ लाख रुपैयाँ जम्मा गरेकी छन्।
मोहनकुमार यादवले रितेश जनरल स्टोर्सको नाममा रहेका विभिन्न बैंक खाताहरूमा ५ करोड १६ लाख १२ हजार रकम पठाएको देखिएको, शिवसुन्दरले मोहनकुमार यादवको नाममा रहेका विभिन्न बैंक खाताहरूमा १४ करोड ३९ लाख ७१ हजार पठाएको देखिएको एसएसपी केसीले बताए।
पक्राउ परेका चार जनाको नाम रहेको खातामा २ अर्ब ३५ करोड २३ लाख रुपैयाँ भएको देखिएको छ। उनीहरूको खातामा भएको कारोबार अस्वाभाविक रहेको प्रहरी बताउँछ।
विदेशबाट आएको सुन काठमाडौंको बागबजारमा बिक्री गर्ने र केही सुन सडक मार्ग हुँदै सिरहासमेत पुर्याएर राउतलाई दिने गरेको पनि अनुसन्धानमा खुलेको छ। विदेशबाट तस्करी गरेर ल्याइएको सुन भारत पुग्ने गरेको अघिल्ला घटनाहरूले देखाउँछ।