सरकारी स्वामित्वको कालिमाटी तरकारी बजारमा स्टलधनीको राज, भाडेदारमाथि भाडेदार !

बिजीशा बुढाथोकी
२०८० असार २५ गते १८:३३ | Jul 10, 2023
सरकारी स्वामित्वको कालिमाटी तरकारी बजारमा स्टलधनीको राज, भाडेदारमाथि भाडेदार !


काठमाडौं। उपत्यकामा तरकारी थोक बजार हो कालिमाटी। सबैभन्दा पहिले यहाँ आइपुग्ने तरकारीको थोक र खुद्रा दरभाउ निर्धारणमा यही बजारको भूमिका निर्णायक छ। जति थरीका तरकारी र फलफूल यहाँ भित्रिन्छन्, त्यति नै व्यवस्थापनका लागि व्यापारीलाई स्टल उपलब्ध गराइएको छ।

Tata
GBIME

हरेक स्टलमा व्यवसायीको नाम, स्टल नम्बर भएको विवरण झुण्डिएका छन्। तर, उक्त विवरण भएको प्लेटमा स्टलधनीको विवरणसँग बसेर तरकारी बेचिरहेकाहरुको हुलिया विरलै मिलेको भेटिन्छ। एउटाले सस्तोमा भाडा लिने र दोस्रो, तेस्रो, चौथो, पाँचौँ गर्दै भाडा लगाउने धन्दा यहाँ चलिरहेको छ। तेस्रो, चौथो व्यक्ति बनेर भाडा स्टल लिएकाहरुको जमात ठूलो छ, जसले किसानका तरकारीको दरभाउ निर्धारण गर्छन्।

आफैं चर्को भाडा तिरेर स्टल लिएकाहरुले सस्तो बेच्लान् ? किसानलाई उचित मूल्य देलान् ? नियामक निकायले आँखा चिम्लिँदा थोक बजारमा किसानलाई सहज पहुँच दिने अवधारणाको कालिमाटी बजारले हुर्मत लिएको छ।

यहाँका स्टलहरुमध्ये कुनैमा पनि पुगेर झुण्डिएको विवरण र तपाइँको हुलिया त मिलेन, किन त्यस्तो ? के यो तपाइँकै पसल हो ? भनेर कसैले प्रश्‍न गरिहाले बसेकाहरुसँग जवाफ रेडिमेड छ- ‘आफन्तको पसल हो। एकैछिन बसिदिएको। हामी स्टाफ हौं’ कति त जवाफ दिन मुखै खोल्दैनन्।

आइतबार स्टल नम्बर ६४३ मा गोलभेंडा बेचिरहेकी एक महिला व्यवसायीले संवाददातासँग भनिन्, ‘यो मेरो आमाजुको पसल हो। म खाना पुर्‍याउन आएको हो। त्यसैले म एकछिन पसलमा बसिदिएको।’

त्यस्तै, अर्को स्टल ६२७ मा ग्राहक कुर्दै  बसेकी एक महिलाले यहाँ व्यवसाय गर्न थालेको ७ वर्ष भएको बताइन्। तर स्टलको विवरण बारेमा सोध्दा तर्कदै भनिन्, ‘म त एकछिन आएर बसेको हो। सागपात हरियो छ, बेलुकासम्म बिकेन भने बिग्रिहाल्छ। त्यसैले यहाँको व्यवसायीले मलाई केहीबेर बस्दिनु भनेर बस्दिएको मात्र हो। मलाई केही पनि थाहा छैन।’

तरकारीको यो थोक बजारका अरु स्टलहरुमा पनि यही प्रश्‍न गर्दा ‘हामी स्टाफ हौं, हामीलाई यो कुरा थाहा छैन’ भन्ने जवाफ आयो। 

यही असार मसान्तसम्ममा कालिमाटी र बालाजु तरकारी बजारमा भएका पसलहरुको १५ वर्षे करार सम्झौता अन्त्य हुँदैछ। सस्तोमा भाडा लिएर अरुलाई स्टल दिएकाहरु छाड्न चाहिरहेका छैनन्। खुल्ला प्रतिस्पर्धामार्फत भाडामा लगाउने कि पुरानो सम्झौता नै नवीकरण गर्ने अन्योलबीच धेरैजसो पुराना स्टलधनी आफैं आएर स्टलमा बसिरहेको स्रोतले दाबी गरेको छ।

‘यसपालि नवीकरण गर्ने वर्ष रहेछ। आजभन्दा १५ वर्ष अगाडि जुन जुन व्यापारीले स्टल लिएका थिए तिनमा ६० प्रतिशतभन्दा बढीले यहाँ व्यापार नै गरेका छैनन्,’ एक व्यवसायीले भने, ‘कतिले कमाइसके। कति बुढो भइसके। कति बाहिर पनि छन्। एउटै स्टल दुईदेखि तीन जनालाई दिएर उनीहरु घर बसी बसी चर्को भाडा उठाउँछन्। समितिलाई सरकारले तोकिदिएको सीमित भाडा बुझाउँदा भइहालेको छ।’

 कालिमाटी बजारमा थोकतर्फ ४५० र खुद्रामा ५९ र अन्य प्रयोजनका लागि समेत गरी जम्मा ५ सय ६६ व्यवसायी दर्ता छन्। उनीहरुले स्टल लिएका छन्। बालाजुमा पनि तरकारी बजार छ, जहाँ ५८ पसलहरुले २०६५ सालमा करार सम्झौता गरेका थिए।

अहिले सम्झौता नवीकरण गर्नुपर्ने भएपछि स्टलधनीसँग फर्किएका छन्। स्रोतका अनुसार भाडा तिरेर दैनिक व्यापार गरिरहेका कतिपयलाई उनीहरुले हटाएका छन् भने केहीमा अहिले व्यापार नभए पनि स्टलमा देखापर्न पुराना भाडेदार बसेका छ्न्।

मुलुकमा हाल तरकारी तथा फलफूल उत्पादनभन्दा बढी आपूर्ति व्यवस्थापनमा समस्या छ। नेपाली किसानले अपेक्षित बजार र मूल्य नपाएको गुनासो आइरहँदा एकथरी व्यवसायी थोक बजारका स्टल खुल्ला प्रतिस्पर्धाबाट भाडा लगाउनुपर्ने बताउँछन्। स्टल मात्रै आफ्नो नाममा राखेर व्यापार गर्न अरुलाई दिनेहरु सजिलै छाड्ने मनस्थितिमा देखिँदैनन्।  

बिना प्रतिष्पर्धा कहिलेसम्म ? 

देशभर तरकारीको थोक कारोबारका लागि प्रमुख बजार हो कालिमाटी। तर यहाँ बजार नै बिचौलियाको कब्जामा छ। ‘एउटैले बिना प्रतिष्पर्धा १५ वर्षसम्म एकै ठाउँमा बजार पाउनु भनेको त मोनोपोली मार्केट भएन ? पुरानो भन्दैमा बजारमा उनीहरुको बर्चस्व हुनुपर्छ भन्ने छैन। नयाँलाई पनि ठाउँ दिनु पर्‍यो,’ एक व्यवसायीले भने।

अरुलाई भाडामा दिएको थाहा पायो भने कारवाहीमा परिन्छ भनेर हाल स्टल आफ्नो नाममा रहेकाहरु दुई हप्तादेखि बजारमा देखिएको उनले दाबी गरे। ‘जसको अहिले व्यापार नै छैन, ऊ आएर स्टलमा देखिएको छ,’ उनले भने।

स्टल भाडा लगाउन खुला प्रतिष्पर्धा भए व्यवसायीसँगै सरकार र आम उपभोक्तालाई फाइदा हुने उनी बताउँछन्।

कालिमाटी बजारका केही व्यवसायी र कालीमाटी फलफूल तथा तरकारी वजार विकास समिति पदाधिकारी स्टल एउटाले लिएर अरुलाई दिइ फाइदा लिइरहेका स्वीकार्दैनन्। कालिमाटी बजारमा २०४६ सालदेखि थोकमा तरकारी बेच्दै आएका सीताराम गिरीले दाबी गरे, ‘यहाँ त्यस्तो छैन। सम्झौता हुँदा जसको नाममा स्टल छ उसैले नै व्यापार गर्दै आएका छन्।’

समितिका प्रवक्ता विनय श्रेष्ठ यो अनावश्यक हल्ला भएको दाबी गर्छन्। ‘त्यस्तो किसिमको काम कसैले गरेको छ भने लिखित प्रमाणसहित दिनुस् हामी त्यस्ताको पसल बन्द गर्छौँ । त्यो किसिमको प्रमाणहरु कसैले पनि दिदैन। बाहिर बाहिर त्यस्ता किसिमका कुराहरु आउँछन्। हाम्रो दैनिक अनुगमन भइरहेको हुन्छ,’ उनले भने।

समितिको वार्षिक पुस्तिका २०७८/७९ अनुसार गत आव समितिले भाडाबापत ९ करोड २२ लाख ७९ हजार १ सय ७९ रुपैयाँ ७७ पैसा उठाएको थियो। 

स्टलको ठाउँ हेरेर १ सय रुपैयाँदेखि १६० रुपैयाँ प्रति वर्गफिट मासिक भाडा उठाइने प्रवक्ता श्रेष्ठ बताउँछन्। उनका अनुसार सामान्यतया एउटा स्टल ८० देखि ९० वर्गफिटको छ।

‘कति पुराना व्यवसायीले पसल छोडेर गइरहेका हुन्छ। त्यस्तो अवस्थामा हामीले सधैं खुल्ला प्रतिस्पर्धामार्फत स्टल भाडामा लगाएका छौं,’ उनले भने।

नवीकरणको हकमा भने हालसम्म समितिको बोर्डले केही टुंगो लगाएको छैन। श्रेष्ठले भने, ‘नवीकरण गर्ने नगर्ने कुरा बोर्डमा विचाराधीन छ। खुल्ला प्रतिस्पर्धा वा पुरानो नै नवीकरण भन्ने छलफलको क्रममा छ।’

हाल कार्यरत व्यवसायीहरुले आफ्नो तर्फबाट आफ्नो व्यवसायलाई निरन्तरता दिनको लागि नवीकरण हुनुपर्छ भन्ने तर्क अघि सारेका छन्। नयाँले पनि अवसर पाउनु पर्छ भन्ने माग पनि आएको छ।

‘सबै नयाँलाई ल्याउँदा पनि केही अप्ठ्याराहरु छन्। स्थापित मार्केटको लिंकेजहरु टुट्न सक्छ। किसान र व्यवसायी र बजारको सम्बन्ध टुटन सक्छ,’ उनले भने, ‘पुरानालाई दोहोर्‍याउँदा पनि अप्ठ्याराहरु छन्। नयाँले पनि अवसर पाउनुपर्छ र स्थापित बजारको सम्पर्क सूत्र कसरी टुट्न नदिने भन्ने कुरामा बोर्ड छलफलमा छ।’

नियमावलीमा १५ वर्षमा नवीकरण गर्ने व्यवस्था छ। तर यो १५ वर्षपछि के गर्ने भनेर कालिमाटी फलफूल तथा तरकारी बजार विकास तथा सञ्चालन नियमावली २०६० नियावलीमा प्रष्ट व्यवस्था छैन। भइरहेकालाई निरन्तर दिने वा नयाँलाई ल्याउने भन्ने प्रष्ट नभएकाले बहसको विषय भएको प्रवक्ता श्रेष्ठले बताए। 

‘बोर्डले असार मसान्तसम्म यसको निकास निकाल्ने छ। नियमावलीमा हालको करारमा म्याद थप वा करार नवीकरणको पनि व्यवस्था छ,’ उनले भने।